ओलीका लागि बामदेवः नखाँउ भने दिनभरीको शिकार, खाँँउ भने कान्छा बाउको अनुहार – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

ओलीका लागि बामदेवः नखाँउ भने दिनभरीको शिकार, खाँँउ भने कान्छा बाउको अनुहार

नयाँ विकल्प,

काठमाडौ- प्नधानमन्त्री केपी शर्मा ओलीका लागि उपाध्यक्ष बामदेव गौतम निल्नु न ओकल्नुका पात्र सावित भएका छन् ।

यो गौतमको क्षमताले होईन ओलीको बाध्यताको उपज हो। उनी नौ सदस्य सचिवालय मध्येका एक हुन् । उनी तलमाथि हुने बित्तिकै नेकपाको निर्णयमा प्रभाव पर्छ। छिटौ हाैसिने र छिटो रिसाउने नेतामा गौतम पर्छन् ।

त्यसकारण गौतमको क्याम्प कहिले ओली तर्फ कहिले प्रचण्ड तर्फ हुने गर्छ । गौतमले पछिल्लो समय प्रचण्ड तर्फ टाँसिएर ओलीलाई झुकाउदै राष्ट्रियसभा सदस्यको पद हात पार्ने भएका छन् । यद्यपी उपप्रधानमन्त्री बन्नका लागि उनी सामू ओलीको शरण पर्नुको विकल्प देखिएको छैन।

त्यसकारण ओलीका लागि गौतम खाउँ भने दिनभरीको शिकार नखाउँ भने कान्छा बाउको अनुहार सावित भएका छन् । नेपाली राजनीतिका अनौठा र विलक्षण पात्र हुन् वामदेव । वामदेवलाई घडीको ‘सेकेण्ड सुई’सँग तुलना गर्न सकिन्छ ।

घडीमा सबैभन्दा पहिला र छिटो घुम्ने सुई ‘फस्ट सुई’ भनिनुपर्ने हो तर त्यसलाई भनिन्छ– ‘सेकेण्ड सुई’ । वामदेव सेकेण्ड सुई जस्तै छिटो छन् । नेपाली राजनीतिका अनेक दुर्लभ र महत्वपूर्ण क्षणका साक्षी हुन् वामदेव । यिनको राजनीतिक कारनामा अनेक छन् ।

सबैले बुझेको तथा देखेको कुरा हो– वामदेवमा ठूलो राजनीतिक खुबी छ । उनमा क्षमता छ, इमानदारी छ । वामदेवमा सबैथोक छ तर एउटा चिज छैन । त्यो हो– भाग्य । नेपाली राजनीतिका अभागी नेता हुन् वामदेव ।

राजनीतिमा शीर्ष नेतालाई चलाउने यिनको भूमिका रहँदै आएको छ र यो नै उनको विशेषता पनि हो । अहिलेसम्म वामदेवको पुर्पुरोमा फस्ट म्यान बन्न लेखिएको छैन । उनी एकपटक फस्ट म्यान बने, त्यो पनि पार्टी विभाजन भएको बेला ।

समीकरणका विलक्षण खेलाडि हुन् वामदेव । ०५१ सालपछिको त्रिशंकु संसदमा राप्रपाको दुई खेमालाई फनफनी घुमाउने काम उनैले गरेका थिए । सरकार टिकाउने र गिराउने काम उनैले गरेका थिए । त्यो कालखण्डमा उनी तत्कालीन एमाले भित्र दह्रोसँग उदाएका थिए ।

०५४ सालमा पार्टी विभाजन भएपछि नेकपा मालेको केन्द्रीय कार्यालय बागबजारमा थियो, पछि धोबीचौरमा सर्यो । त्यसपछि ललितपुरको कुपण्डोलमा सर्यो । कुपण्डोलसम्म पार्टी आइपुग्दा खिइएर पूरै दुब्लाइसकेको थियो ।

आमचुनावमा वामदेव नेतृत्वको मालेले एक सिट पनि ल्याएन । तैपनि वामदेवको मालेले पाँच प्रतिशत भन्दा धेरै मत ल्याएको थियो । अहिलेजस्तो समानुपातिक सांसद्को व्यवस्था त्यसबेला भएको भए शायद वामदेवको राजनीतिक यात्रा अर्कै बाटोमा जाने थियो ।

०५६ सालमा पार्टी एकीकरण भयो । एकीकरण गर्दा वामदेवले कुनै इगो देखाएनन् । अहंकार पनि देखाएनन् । उनको साथमा रहेका सीपी मैनाली लगायतका केही नेताहरु प्रालिजस्तो पार्टी चलाएर बसे, तर, वामदेवले कम्युनिष्ट मूलधार छाड्न हुँदैन भनेर एमालेलाई नै अंगाले ।

एमालेले पनि वामदेवलाई अंगाल्यो । पार्टी एकीकरण भएपछि कुर्सी टेबलको एउटा रोचक किस्सा छ । एकीकरणपछि मालेको कुपण्डोल पार्टी कार्यालयबाट सबै सामान एमाले केन्द्रीय कार्यालय बल्खुमा पुग्यो । माले कार्यालयमा वामदेव बस्ने गरेको टेबुल कुर्सी पनि बल्खु पुग्यो ।

रमाइलो मानीमानी त्यो टेबल कुर्सी धेरैले एमालेको बल्खु प्राङगणमा हेरेका थिए । त्यो टेबल कुर्सी कसले प्रयोग गर्ने ? त्यसको प्रयोग गरेका थिए– तत्कालीन प्रचार बिभाग प्रमुख प्रदिप नेपालले ।कालान्तरमा वामदेव गौतम फेरि पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री बने ।

उनी गृहमन्त्री बनेपछि पहिलेको त्यो टेबल कुर्सी प्रयोगकर्ता प्रदीप नेपाल वामदेवको राजनीतिक सल्लाहकार बने । वामदेवको क्रेज कहिल्यै घटेन । यी अभागी नेताले गत चुनाव हारे । चुनाव हारेपछि पनि उनी निरास देखिएनन् । कुनै न कुनै उपायले संसद्मा पुग्न उनले प्रयत्न गरेको देखियो तर अहिले उनको प्रयत्नमा विश्राम लागेको देखिएको छ ।

अन्तिममा यसमा पनि पूर्णविराम लागेन। उनी राष्ट्रियसभाका सदस्य भएर नै यो कार्यकाल विताउने भए। शक्तिबाहिर हुँदा पनि वामदेवले शक्तिकाे अभ्याश गरे । सत्ता बाहिर रहँदा पनि सत्तालाई प्रभावित गरे । राजनीतिका जब्बर खेलाडि हुन् वामदेव ।

उनमा विगतमा टाढासम्म हेर्दैनथे । धैर्य गर्दैनथे । तर, अहिले उनी टाढासम्म हेर्ने र धैर्य गर्ने खेलाडि बनेको देखिँदैछ । उनले अन्तिममा युवराज खतिवडाका ठाँउमा आफुलाई उभ्याएर ओलीलाई गलाएरै छाडे।

गुटको कुरा एक ठाउँमा छ, साथ र सहयात्राको कुरा अर्काे ठाउँमा छ । वामदेव जत्तिको नेता कुनै ठाउँमा उभिन्छ भने ऊ उभिएको ठाउँमा एउटा जमात भेला भइहाल्छ अनि त्यो जमातले गुटका रुपमा आफूलाई परिचालन गर्न थालिहाल्छ ।

नेपालका स्थापित राजनीतिक पार्टीहरुमा गुट हुनु सर्वसामान्य र सर्वस्वीकार्य विषय बनिसकेको छ । केपीसँगको मिलाप वामदेवका लागि फाइदै फाइदाको कारोबार भएको छ । उनी पार्टीको उपाध्यक्ष बनेका छन् ।

ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल भनेजस्तै वामदेवले सामु विधानको छेकबार तोडेर पनि पद र जिम्मेवारी पाउने गरेका छन् । ०५१ सालमा तत्कालीन एमालेको विधानमा उपमहासचिव पद थिएन, तैपनि वामदेव उपमहासचिव बने ।

अहिले विधानमा उपाध्यक्ष पद छैन, तैपनि उनी उपाध्यक्ष बन्दैछन् । अभागी भए पनि वामदेवलाई भाग्यले लात नै हानेको छ भन्न मिल्दैन । केपी र वामदेवको व्यक्तिगत सहयात्रा पनि रोचक छ । पार्टीमा यी दुई जहिले पनि एकै ठाउँ बसे, एउटै त्रिपालभित्र बसे ।

तर, पार्टी विभाजनका बेला भने केपी र वामदेव छुट्टिए । छुट्टिएपछि केपी ओलीले घोषणा गरिदिए– ‘चुनावमा मालेले शून्य सीट ल्याउँछ ।‘ज्योतिष नै ठहरिए त्यसबेला ओली । माले शून्य सीटमै सीमित भयो । तर, राजनीतिक यात्रा रोकिएन । पार्टी एकीकरण भयो ।

फेरि केपी र वामदेव एउटै त्रिपाल मुनि आइपुगे । एकीकरणकै प्रसंगको कुरा लेखौं । एकीकरण समारोह भएको थियो काठमाडौंको राष्ट्रिय सभागृहमा । त्यहाँ भाषण गर्दै वामदेवले भनेका थिए– म जति लिएर गएको थिएँ, त्यति फिर्ता ल्याउन सकिन ।

तर, आगामी दिनमा पार्टी विभाजनको क्षतिपूर्ति म तिर्छु ।’अहिलेसम्मको यात्रा हेर्दा वामदेवले क्षतिपूर्ति तिरेकै मान्न सकिन्छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र १९, १३: १९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र १९, १३: १९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र १९, १३: १९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...