
कृष्णलाल सापकोटा
स्वेट मार्डेनको ‘आगे वढो’ भन्ने हिन्दीमा आएको अनुवाद पढ्ने अवसर मिलेको थियो । उनले जोड दिएका छन् – अवसर नगुमाउ । अवसर सँधै आउँदैन र आउँदा पनि सुटुक्क आउँछ । त्यसलाई अगाडिबाट समात’ भन्नुको अर्थ अवसर आउना साथ उपयोग गर । पछिबाट समात्न खोज्यो भने त्यो धेरै चिप्लो भएकोले फुत्की हाल्छ । अर्थात् ढिलो गरियो भने अनर्थ हुन्छ ।
अवसरको सही सदुपयोग विना अघि बढिदैन । संसदीय व्यवस्थामा निश्चित समयमा चुनाव हुने हुँदा हार–जित त भइरहन्छ । त्यस्तै हार–जितमा २०७४ को चुनावमा काँग्रेस हा¥यो र कम्युनिस्टको जित भयो । इमानदारीपूर्वक चुनाव प्रचारमा लागेका मानिस आफ्नो पक्षको हारमा केही समय दुखी हुनु र जित्ने पक्ष रमाउनु अस्वाभाविक होइन ।
सरकारको दुईचार महिनाको पद लम्ब्याउन भरतपुर महानगरपालिकाको मेयर पद माओवादीलाई बुझाइयो । माओवादीले लात मारे पछि प्रतिनिधिसभा सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चढाईयो ।
प्रधानमन्त्री, मन्त्री खाइपाइ आएका र तिनका वरीपरी परिक्रमा गरेर फाइदा लिन पल्केकाहरूलाई बाहेक दुई चार महिना पछि कुनै पार्टीको हार वा जितले केही फरक पर्दैन । बरु जित्ने पार्टीलाई लोकप्रियता कायम राख्न कठिन छ, तर पराजितलाई सजिलै छ ।
गत निर्वाचनको पराजयपछि काँग्रेस संगठित हुने ठूलो अवसर थियो । त्यो समयमा सबै भ्रातृ संगठनहरूको अधिवेशन गराएर नयाँ नेतृत्व ल्याउन सकिन्थ्यो । गत फागुनमा पार्टी महाधिवेशन गराउन सकिन्थ्यो । इमानदारी भएको भए कुनै रोकावट थिएन । हाम्रो पार्टी सात सालदेखि नै पद्धतिले चलेन नेतृत्वबाट चल्यो ।
कृष्णप्रसाद भट्टराईको राजीनामा किन भयो राजीनामा फिर्ता गराउन पर्छ भनेर कोही बोलेन ।
सात सालको जनक्रान्तिले निर्माण गरेको नेतृत्वले पार्टी चलायो । परिस्थितिले पनि पद्धति निर्माण गर्ने अवसर दिएन । तीस वर्षे पञ्चायतकाल भरी पार्टी नै प्रतिबन्ध भएको बेला कसरी पद्धति निर्माण गर्नु । वि.स. २०४६ सालको जनआन्दोलन पछि पनि न नेताहरूले पद्धति निर्माण गर्ने चासो राख्नु भयो न कार्यकर्ताहरूबाट पनि जाँगर देखाउन सके ।
नेतालाई त ब्रह्मा, विष्णु र महेश्वर भनेर फुर्काएर सेवा सुविधाका पद कमाउन एक थरी लागे भने पद्धतिको कुरा गर्नेहरू नेताका नजरमा विरोधी देखिन थालेर पार्टीबाट किनारा लाग्दै गए । नेताहरूलाई पनि लाग्यो होला प्रजातन्त्र प्राप्तिको लागि हामीले जीवन भर गरेको संघर्षका कारण हाम्रो प्रशंसा भएको छ ।
जब गणेशमानजीले पार्टी छोड्नु भयो एक जनाले पनि वहाँलाई साथ दिएर पार्टी छोडेनन । पार्टीको केन्द्रीय कार्यालयमा महाधिवेशन भइरहेको थियो । किशुनजीको राजीनामा आएको जानकारी गिरीजाबाबुले गराउनु भयो, कृष्णप्रसाद भट्टराईको राजीनामा किन भयो राजीनामा फिर्ता गराउन पर्छ भनेर कोही बोलेन ।
आफूलाई किसुनजी पक्षको बताएर फाइदा लिएकाहरू सबै चुप देखेर म आफू बोल्ने समयमा किसुनजीको राजीनामा फिर्ता गर्न हामी सबै जाऊँ भनेर विचार राख्दा एकजना पनि समर्थक निस्केनन् प्रस्तावक एक्लै भएँ । पार्टीबाट विश्राम लिने उमेर किटान गरेर पद्धति बनेको भए निश्चय पनि गणेशमाजी र किसुनजीको वहिरगमनलाई दुःखद् बहिरगमन मानिँदैनथ्यो होला ।
अब म नेपाली काँग्रेसले गुमाएको हालैको अवसर मात्र राख्दैछु । आफूले खाइपाइ आएको सरकारको दुईचार महिनाको पद लम्ब्याउन भरतपुर महानगरपालिकाको मेयर पद माओवादीलाई बुझाइयो । माओवादीले लात मारे पछि प्रतिनिधिसभा सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चढाईयो ।
चितवन जिल्ला काँग्रेस यस्ता कामको प्रतिरोध गर्नु त कता कता त्यस्तो जङ्गबहादुर शैलिको हुकुम तामेल गर्न फर्मान भएर लागे । ‘हुन त कसैले नगद पाए होलान्, कसैले पदको आश्वासन पाए होलान् । कसैले गिलास भरी तरल पदार्थ र प्लेट भरी चोक्टा त अवस्य पाए होलान् ।’
हुन त चितवनमा सबै काँग्रेस त्यस्ता छैनन् । बाघबुढो भएपनि घाँस खाँदैन । जब तिनै तहको निर्वाचनबाट कम्युनिस्ट सरकार बन्यो नैतिकताको आधारमा केन्द्रदेखि जिल्लासम्मका सभापतिहरूले राजीनामा गरेर महाधिवेशनमा जानु पथ्र्याे । पार्टी विधानले चार वर्ष तोके पनि त्योभन्दा पहिल्यै अधिवेशन गर्न नसकिने थिएन ।
वर्षैंदेखि अधिवेशन नभएका भातृ संस्थाहरूको अधिवेशन त झन् नगरि भएकै थिएन । हामी मध्ये कतिपयका बाबु बाजे मुखिया जिम्वाल वा जमिनदार थिए की उनीहरूको पद जीवन भर रहने मात्र होइन मरेपछि पनि आफ्नै सन्तानमा सर्यो । हाम्रो पार्टीहरूमा पनि त्यो परम्परा सर्दै आएर होला जो पनि पदमा पुगे पछि जालझेल फट्याई जे गरेर हुन्छ त्यो पदमा टाँसिई रहन इच्छा राख्ने ।
अब राजनैतिक दलहरूमा सेवाको लागि लाग्ने मानिस घट्दै जाने र पेशा बनाउनेहरू थपिदैछन् । ठूलो पदमा पुग्न सक्दा मान–सम्मान र अकूत सम्पत्तिले सम्पन्न हुन पाइने र साना–साना पदमा वा केही नभए नेताको भजन कीर्तन मात्र गरेपनि जहान परिवार पाल्न सहज हुने हुँदा अरु परिश्रमभन्दा राजनैतिक खेलो सहज हुँदैछ ।
आफ्नै विधान बमोजिम गत फागुनमा पार्टीको महाधिवेशन र सबै भातृ संस्थाहरूको अधिवेशन सकेर नयाँ नेतृत्व निर्माण गरेको भए अहिलेको महामारीमा ती निर्वाचित निकायहरूलाई जनताको घर दैलो पठाएर कोरोनाबाट जोगिन र विमारीको स्याहार गर्ने काममा खटाउन सकिन्थ्यो ।
वर्तमान सरकारको भ्रष्ट नीतिबाट आजित भएका जनताले काँग्रेस खोजी रहेका छन् । काँग्रेस भने आफ्नो दुर्बुद्धिले थलिएको छ । महाधिवेशन सम्पन्न भएको ६ महिना भित्र गठन गरिसक्नु पर्ने विभागहरू कार्यकाल सकिए पछि मात्र गठन गरिँदैछ । ‘काम पाइनस् बुढी पाडाको … कन्याइ’ भनेजस्तो छ ।
महाभारतमा पाण्डवहरू जुवा हारेपछि वनवास लाग्छन् कौरवहरू राजकाजमा रमाउँछन् राजकाजमा रमाउनेहरूको काम थियो खानु पिउनु मोज गर्नु र यस आराम गर्नु । वनवासी पाण्डवहरू भने लगातार हतियार चलाउने अभ्यासमा लागे । अर्जुनले त हतियार चलाउने कलामा भगवान् शंकरलाई पनि प्रसन्न पारे ।
त्यति मात्र कहाँ हो र स्वर्गमा पुगेर इन्द्रसँग पनि धनुर विद्या सिके । देवताहरूले हराउन नसकेका दानवहरूलाई समेत सखाप पारि दिए । यसैले गर्दा हस्तिनापुरको त्यत्रो ठूलो सैन्यशक्ति, भिष्म, द्रोणाचार्य, कर्ण जस्ता महारथी, सय भाई कौरवलाई पाँच भाई पाण्डवले हराइ दिए ।
त्यस्तै अवसर काँग्रेसलाई पनि थियो आफ्नै पद मोहको दुर्बुद्धिले गुमाए । अहिले आएर महाधिवेशनको नाटक गर्दै छन् । काँग्रेसको अधिवेशनलाई दया गरेर लामै समयको छुट्टी मनाउन टाढै कोरोना गएछ भने त अधिवेशन होला अन्यथा गफ गर्ने मात्रै हो ।
काँग्रेस नेतृत्वबाट भएका यस्तै–यस्तै कामबाट दिक्दार लागेर हुन सक्छ निष्ठावान पुराना कार्यकर्ता तथा नेताहरुले पनि नेपाली काँग्रेसको कृयाशील सदस्यता नवीकरण गर्ने इच्छा नै मरेर गएको बताएका छन ।
(लेखक जिल्ला विकास समिति चितवनका पूर्वंसभापति हुन् )
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...