पुस २७ र २८ गते विशेष महाधिवेशन गरिछाड्ने कांग्रेसको घोषणा – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

पुस २७ र २८ गते विशेष महाधिवेशन गरिछाड्ने कांग्रेसको घोषणा

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने आह्वान गरिएको छ। पार्टीभित्र देखिएको पछिल्लो विवादका बीच विशेष महाधिवेशन पक्षधर नेताहरूले विधानको बाध्यकारी व्यवस्थाअनुसार महाधिवेशन बोलाइएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन सूचना तथा प्रचार–प्रसार समितिका संयोजक सुवास पोखरेलले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले विशेष महाधिवेशन गर्नुपर्ने अवस्था विधानले नै सिर्जना गरेको दाबी गरे। उनका अनुसार पार्टीले २०८२ पुस २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन अपरिहार्य बनेको हो।

विशेष महाधिवेशन पक्षधर नेताहरूले कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टीको पुनर्निर्माणका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार बाध्यकारी परिस्थितिमा विशेष महाधिवेशन आह्वान गरिएको हो।

पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम केन्द्रीय महाधिवेशनका ४० प्रतिशतभन्दा बढी सदस्यहरूले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था रहेको उनीहरूको दाबी छ। यही प्रावधानअनुसार २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको र यो संख्या कुल प्रतिनिधिको ५४.५८ प्रतिशत हुने उनीहरूले बताएका छन्। ती प्रतिनिधिहरूले गत असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए भने पुस ११ गते स्मरणपत्र र पुस २१ गते पुनः ध्यानाकर्षण गराइएको थियो।

विशेष महाधिवेशन पक्षधरले विधानसम्मत रूपमा माग गरिएको महाधिवेशनलाई ‘असान्दर्भिक’ वा ‘औचित्यहीन’ भन्ने अधिकार कसैलाई नभएको चेतावनी दिएका छन्। उनीहरूका अनुसार विधानको बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि छैन र यो रहर वा छनोटको विषय नभई साझा कर्तव्य र जिम्मेवारी हो।

विशेष महाधिवेशनका लागि सचिवालयले शान्ति सुरक्षासम्बन्धी व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको र भृकुटीमण्डपसमेत बुकिङ गरिसकिएको जानकारी दिइएको छ। साथै, विभिन्न उपसमितिहरू गठन गरेर व्यवस्थापकीय तयारी तीव्र गतिमा अघि बढाइएको पनि जनाइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन्। तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने बताउँदै आएको छ।

यसबीच संस्थापन पक्षधर नेताहरूले विशेष महाधिवेशन वैधानिक नरहेको दाबी गरिरहेका छन् भने विशेष महाधिवेशन पक्षधरले भने पार्टी विधानको मर्म र भावनाअनुसार पुस २७ र २८ गते काठमाडौँमा विशेष केन्द्रीय महाधिवेशन हुने विश्वास व्यक्त गरेका छन्।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु अजयबाबु सिवाकोटी, प्रकाश स्नेही रसाइली, प्रतिमा गैतम, पूर्वसभापति जगदीशनरसिंह केसीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष २३, १५: ०१

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...

कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
  • २०८२ पुष २३, १५: ०१

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...

कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
  • २०८२ पुष २३, १५: ०१

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लाका लागि उम्मेदवारको...