
पोखरा — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १९औँ नगरसभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत बजेटअनुसार खर्च व्यहोर्ने मुख्य स्रोतमा सङ्घीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान रहेका छन्। सङ्घीय सरकारको सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदानबाट ५ करोड ५० लाख, समपूरक अनुदानबाट १ करोड ८२ लाख तथा समानिकरण अनुदानबाट ४९ करोड ३७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसरी सङ्घीय वित्तीय हस्तान्तरणको कुल योगदान ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ रहनेछ।
त्यस्तै गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदानतर्फ ४० लाख र समानिकरण अनुदानतर्फ ८ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। प्रदेश सरकारको कुल वित्तीय हस्तान्तरण ९ करोड १५ लाख ३६ हजार रुपैयाँ रहने जनाइएको छ।
महानगरले राजस्व बाँडफाँड र आन्तरिक आयलाई पनि बजेटको महत्वपूर्ण आधार बनाएको छ। सङ्घीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार तथा स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक स्रोतबाट मात्रै २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ।
कुल बजेटमध्ये ५५.१५ प्रतिशत चालु खर्च र ४४.९५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ। सभामा आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ समेत प्रस्तुत गरिएको छ।
महानगरपालिकाका अनुसार नगरसभाको अर्को बैठक असार १७ गते दिउँसो २ बजे बस्नेछ।
काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...