
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता भास्कर काफ्ले स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्जसमेत रहेका काफ्ले पार्टीभित्रका विकृति, विसंगति विरुद्ध खरो रुपमा उत्रिन पछि पर्दैनन् । पूर्वी नेपालको विकट हिमाली जिल्लाबाट राजनीतिक यात्रा सुरु गरेका काफ्लेसँग पछिल्ला घटनाक्रम र पार्टी राजनीतिमा केन्द्रित रहेर नयाँ विकल्पका लागि कालिका महतले गरेका कुराकानीको सम्पादित अंशः
दुई तिहाई हाराहारी बहुमतको सरकार छ, जनताले हिजो चुनावका बेला जुनखालको आश्वासन पाएका थिए, त्यो अनुसार सन्तुष्टी देखिँदैन नि के लाग्छ यहाँलाई ?
खासमा भन्ने हो भने नेपालका तत्कालिन दुई शक्तिशाली कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी सहकार्य गर्दै जननेता मदन भण्डारीको स्मृति दिवसका दिन २०७५ साल जेठ ३ गते पार्टी एकताको ऐतिहासिक निर्णय भयो ।
चुनावी सहकार्यकै परिणाम स्वरुप झण्डै दुई तिहाई बहुमतको सरकार बन्न सफल भयो । नेपालमा ७० वर्षको त्याग, तपस्या, बलिदान, टुटफुटका आरोह अबरोह पार गर्दै यहाँसम्म आइपुग्दा दुईवटा पार्टीहरु एकता भए । जनताले पनि एकताको कदर गर्दै मत दिएर शक्तिशाली पार्टीको रुपमा स्थापित गरे ।
यो आन्दोलनले सामन्तवादसँग लड्दै समाजमा रहेका सबैखाले शोषण, उत्पीडन, र विभेदहरुको अन्त्य गर्दै यहाँसम्म आइपुग्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । नेपालमा यो नयाँ व्यवस्थाको आरम्भ थियो र अझ भन्नु पर्दा नयाँ युगको आरम्भ थियो । नयाँ युगसँगै नेपाली जनतामा समेत सरकारप्रति ठुलो आशा थियो र केही महत्वाकांक्षा पनि ।
तर संविधान कार्यान्वयनको धेरै पक्षहरु बाँकीरहेको र पुराना संरचनागत कमिकमजोरीलाई सुधार्दै लाने नयाँ चुनौति बोकेर आएको दुई तिहाइनजिकको सरकारबाट जनताले सोचे अनुरुप काम नहुनु वा सन्तुष्ट नहुनु स्वाभाविक पनि हुन्छ । दुईवटा ठुला पार्टीहरु विचको एकता स्थानीय तहसम्म टुंगी नसक्नु र नयाँ कानुनहरुको तर्जुमा र कार्यान्वनयको जटिलताले गर्दा केही समस्या देखिएको पनि छ ।
त्यसोभए कार्यकर्ता लेभलसम्म पार्टी एकता टुंगिइसकेको छैन, त्यसकारण सरकार सञ्चालनमा समस्या देखिएको हो ?
स्वभाविक रुपमा पार्टी एकता हुँदै गर्दा तीन महिनाभित्रमा पार्टी एकताका सम्पूर्ण काम सिध्याउने भनिएको थियो, त्यो भएन । पार्टी एकता जुन ढंगले टुंगिनुपथ्र्यो त्यो नभएपछि तिनै तहका सरकारमा नेकपाको दुई तिहाई हाराहारीकै बहुमत रहेपनि सरकार सन्चालनमा पार्टीगत निर्देशन अभाव र समन्वयका कारण केही कमीकमजोरी भएको सबैले स्वीकार्नु पर्छ ।
सरकारमा काम गर्ने सन्दर्भमा जुन समस्याहरु देखापरे त्यसमा जसरी पार्टीले निर्देशन दिनुपर्ने थियो, त्यो भएन र तिनै तहमा समस्याहरु देखिए । जनताको बीचमा जुन अपेक्षा थियो र अपेक्षा अनुसारको जुन ढंगले कामको परिणामहरु देखिनुपथ्र्यो, त्यसको आजपनि जनताहरुले महसुस गरिरहेका छैनन् ।
यसो भनिरहँदा फेरि कामै नभएको भन्ने पनि होइन । सरकारले गरेका कतिपय राम्रा काम पनि पार्टीले व्यवस्थित गरेर जनता र कार्यकर्ताबीच लान सकेको छैन । त्यसकारण पार्टी र सरकारले गरेका राम्रा कामहरुको एउटा दस्तावेज नै बनाएर जनता र कार्यकतामाझ जानुपर्ने हुन्छ । काम गर्ने सन्दर्भमा कतिपय कमीकमजोरीहरु भएका छन् ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले काम गर्ने सन्दर्भमा कहाँ–कहाँ कमी भए । त्यसलाई पार्टीको केन्द्रीय कमिटि बैठकबाट केलाउने र यहाँ कमजोरी भएको छ । त्यसलाई सच्याएर जानुपर्छ भनेर आगामी दिनमा स्वेतपत्र जारी गरेर जानुपर्छ ।
तपाईं पार्टीको केन्द्रीय सदस्य र ताप्लेजुङ जिल्लाको इन्चार्ज पनि हुनुहुन्छ, कार्यकर्ताबीचमा कमीकमजोरीहरु छन् भन्नुभयो, त्यसलाई सच्याउनको लागि के गर्नुहुन्छ ?
पार्टीमा काम गर्ने सिलसिलामा भएका कमजोरीको मैले पनि जिम्मेवारी लिनुपर्छ । काम गर्ने सन्दर्भमा दुईवटा फरक–फरक विचार बोकेका पार्टीहरुबीच एकता भयो । त्यो एउटा पार्टी जो सशस्त्र जनयुद्धमा थियो ।
अर्को लोकतान्त्रिक पद्धतिबाट जनताको बीचबाट निर्वाचित पार्टी थियो । जब २०६२÷६३ को जनक्रान्तिमार्फत लोकतान्त्रिक विधिमा नेकपा माओवादी केन्द्र आइसकेपछि वैचारिक रुपमा नेकपा एमालेले लिएको बहुदलीय जनवाद र नेकपा माओवादीले लिएको २१औं शताब्दीको जनवाद छ ती दुबैको संश्लेषणका रुपमा आएको हो जनताको जनवाद ।
तर फरक फरक विचारका विच पार्टी एकता भइरहँदा कार्यकर्ता तहमा धेरै विमतीहरु रहीरह्यो, पार्टी बैठकहरु नियमित रुपमा नबस्दा र निर्देशनहरु नहुँदा स्थानीय कार्यकर्ता विच पुर्व एमाले र पुर्व माओवादीको धारणा अद्यापी रहन गइ त्यसले केही भावनात्मक समस्या निम्त्याएको थियो तर त्यो अब क्रमश कम हुँदै गइरहेको छ । भरखरै सम्पन्न भएको स्थायी कमिटिको बैठकले गरेका निर्णयले पार्टीलाई चलायामान बनाउँछ भन्ने आशा गर्न सकिन्छ ।
शीर्ष नेताहरु सल्लाह सुझावबिना आफ्नै ढंगले चले, तपाईंहरुले चाहीं तल्लो तहका कार्यकर्ताको सल्लाह सुझाव मान्नुभएको छ ?
शिर्ष नेताहरु बिच सरसल्लाह नभइ काम हुन थाल्यो र सरकार समेत भनेजसरी सन्चालन हुन सकेन भनेरै हामी युवाहरुले दवाव दिएकै कारण स्थायी कमिटिको बैठक बसी ति सबैखाले समस्यालाई समाधान गर्ने निर्णय भइसकेको छ । र चाँडै केन्द्रिय कमिटिको पनि बैठक बस्ने निर्णय भएको छ । केन्द्रिय कमिटि नबसे पनि विभिन्न समयमा आएका सर्कुलरलाई स्थानीय पाटी कमिटि सम्म पुरुयाउन म जिल्ला कमिटिको निरन्तर बैठक, सभा र सम्पर्कमा रही कार्यकर्ताको सरसल्लाह र सुझावलाई संकलन गर्दै अगाडी बढीरहेको छु ।
पार्टी एकता राम्रोसँग नर्टुगिएकाले स्थानीय कार्यकर्ताले भनेजस्तो काम गर्न नसकेका हुन् ?
दुई पार्टीको एकता घोषणापछि तल्लो तहका सबै कमिटिहरु भंग जस्तै भए । चाहे त्यो वडा, गाउँ, नगर, जिल्ला जुनसुकै कमिटि होस् । त्यसले कार्यकर्तामा समस्या देखिएको छ । जस्तो एउटा वडा सरकारले के काम गरिरहेको छ भन्ने कुरा पार्टी कमिटि नभइसकेपछि त्यहाँ वडा अध्यक्ष, वडा सदस्यहरु आफ्नै ढंगले चल्न थाल्नुभयो ।
सँगसँगै नगर, गाउँपालिका र प्रदेशमा पनि त्यही रह्यो । त्यसकारण यो डेढ, दुई वर्षको ग्यापले गर्दा ती जनप्रतिनिधिमा अब हामीले पार्टीको निर्देशन मान्नुपर्दैन कि आफ्नै ढंगले मनपरी चल्दा पनि हुन्छ कि भन्ने जस्ता भ्रमहरु सिर्जना भए । जब पार्टी कमिटिहरु निर्माण भए । पार्टी प्रतिनिधिले त्यहाँको जनप्रतिनिधिलाई तपाईंहरुले गरेको यो काम चाहीं ठीक भएन भन्दा हामीलाई पार्टीका मान्छेहरुले दबाब दिए भन्ने तर्कहरु पनि आउनथालेका छन् ।
अहिले जुनसुकै पार्टीको भएपनि चुनाव जितेर सरकार सञ्चालनमा रहेका जनप्रतिनिधिहरुले पार्टीको विधि, पद्धति नाघेर मनोमानी ढंगले काम गरेका छन् हो ?
सबै ठाउँमा चाहीं नभनौं । केही ठाउँमा चाहीं स्पष्ट रुपमा त्यस्तो देखिन्छ । किन भने चुनाव जितिसकेपछि उनीहरुमा मैले आफैले चुनाव जितेको हुँ । अब मैले पार्टीलाई मानिराख्नु पर्दैन भन्ने खालको आत्मकेन्द्रित सोच बढेको पाइन्छ । त्यहाँ चुनाव जितेर सरकार सञ्चालन गर्नेमा चाहे त्यो सत्ता पक्ष होस् अथवा प्रतिपक्ष पार्टीको जनप्रतिनिधि होस् उनीहरुमा जुनसुकै पार्टीका भएपनि पार्टी केही होइन हामी नै सर्वैसर्वाह हौं भन्ने भ्रममा छन् । पार्टी चलायमान भएपछि यी सबै समस्या हल भएर जान्छन ।
कम्युनिस्ट सिद्धान्तमा त पार्टीको निर्देशनमा सरकार चाल्नुपर्ने होइन, त्यस्तो त देँखिएन नि ?
पछिल्लो समय कम्युनिस्ट पार्टीमा मात्रै होइन । गैरकम्युनिस्टहरुमा पनि दलीय व्यवस्थामा पार्टीको विधि, पद्धति र सिद्धान्तको आधारमा सरकार सञ्चालन हुनुपर्ने हो । पार्टीले निकालेको चुनावी घोषणापत्रलाई हेर्ने हो भने पनि चुनाव जितेपछि आगामी पाँच वर्षमा हामी के के गर्छौं भनेर स्पष्ट लेखिएको हुन्छ । त्यसकारण पार्टीको सुझाव, सल्लाहको आधारमा सरकारले काम गर्नुपर्छ । त्यो भइरहेको छैन, त्यसले हरेक ठाउँमा अराजकता निम्तिएको छ ।
नेकपाभित्रै सत्तापक्ष र प्रतिपक्ष जस्तो छर्लङ्ग छ नि । के लाग्छ यहाँलाई ?
त्यसको कारण पार्टी एकता टुंगोमा नपुग्नु नै हो । नेकपाभित्र दुईवटा पार्टीका तमाम कार्यकर्ताहरु छन् । उनीहरुका पनि भावना, विचारहरु होलान् । पहिलो कुरा त पार्टी विधि र पद्धतिबाट नचलेकै कारण यी समस्या सिर्जना भएका हुन् । भरखरकै कुरा सबैलाई थाहा छ, मिडियामा त ‘अब नेकपा फुट्यो’ भनेर सारा हल्ला भयो ।
त्यसले जो लोकतन्त्रप्रति आस्था, भरोसा राख्ने जनता, कार्यकर्ता हुनुहुन्थ्यो । उहाँहरुको आत्ममा ठूलो चोट पुग्यो । तर त्यो पार्टी भित्रको वैचारिक संघर्ष थियो । पार्टी भित्र पनि वैचारिक शक्ति संघर्ष हुनुपर्छ त्यसकारण विचारमा विविधता आवश्यक पनि हुन्छ त्यसले सधै पार्टीलाई जीवन्त राखी रहन्छ र वैचारिक छलफलमा प्रेरित गरिरहन्छ । बाहिरबाट हेर्दा तपाईले भनेजस्तो सत्तापक्ष र प्रतिपक्ष जस्तो देखिए पनि त्यसले पार्टीलाई अग्रगती मै लाने काम गरिरहेको हुन्छ ।
नेकपाको केन्द्रीय कमिटि, स्थायी कमिटि र सचिवालय वैठक लामो समयदेखि बस्न सकेको छैन अनि कसरी शीर्ष नेताहरुलाई सल्लाह, सुझाव दिनुहुन्छ ?
हामीलाई फोरममा, मिटिङ, बैठकमा गएर भन्ने अवसर प्राप्त भएन । किनभने सबैलाई थाहाँ छ । लामो समयसम्म स्थायी कमिटि र सचिवालय वैठक बोलाइयो र बीचैमा स्थगित भयो । त्यसैबाट विभिन्न किसिमका विवादहरु सिर्जना भए ।
त्यो विवादले पार्टी विभाजनको संघारमा पुगेको आवाज जनताको बीचमा आयो । त्यो तहमा आइसकेपछि हामीले केन्द्रीय कमिटि बैठकको माग ग¥र्यौं । त्यसको कार्यदल बन्यो, त्यसले एउटा सुझाव पेश ग¥यो । त्यसको आधारमा स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । पार्टी नेतृत्वमा केही कमीकमजोरी भएका रहेछन् भने सच्याउनुपर्छ भन्ने प्रतिवद्धताका साथ भरखरै स्थायी कमिटि बैठक सम्पन्न भएको छ ।
पार्टी एकतामा किन कठिनाइ भएको हो ?
हिजो पार्टी एकता गर्दा एउटा सहमति भयो । जनताको बहुदलीय जनवाद भनेर नेकपा एमालेको बोकेको विचार र २१ औं शताब्दीको जनवाद भनेर नेकपा माओवादी केन्द्रले बोकेको विचारको बीचमा अब कसरी अगाडि जानेभन्दा तत्कालको निम्ति जनताको जनवादलाई लिएर आगामी महाधिवेशनसम्म जाने भनेर प्रस्ष्ट रुपमा दस्तावेजमै लेखिएको छ ।
पार्टीको मार्गदर्शक सिद्धान्त माक्सवाद, लेनिनवाद नै हुने हो । तत्कालका लागि जनताको जनवाद भनेर जाने त्यसपछि वैज्ञानिक समाजवाद हुँदै साम्यावादसम्म पुग्ने बाटो लिने हो । महाधिवेशनसम्म यसलाई व्यवस्थित बनाउन छलफल, बहस अगाडि बढाउने हो । आगामी महाधिवेशनपछि कुन दिशामा अगाडि बड्ने भनेर खुल्ला रुपमा विचार राख्ने । कार्यकर्ताको सुझाव, छलफलबाट आगामी महाधिवेशनमा जुन विचार पास हुन्छ त्यसैलाई लिएर जाने भन्ने हिजोको पार्टी एकताको मर्म र भावना हो । तथापी पार्टी भित्रका शक्ति संघर्षका कारणबाट समयमा बैठकहरु बस्न नसक्नु नै पार्टी एकतामा ढिला हुने प्रमुख कारण हो ।
आगामी चैत्रमा नेकपाको राष्ट्रिय महाधिवेशन हुन्छ ?
२०७६ माघ १५ देखि १८ सम्म बसेको केन्द्रिय कमिटिको बैठकले नै २०७७ चैत्र २५ देखि ३० सम्म राष्टिय महाधिवेश गर्ने निर्णय गरिसकेको थियो भने पार्टीको भरखरै सम्पन्न स्थायी कमिटि बैठकले आगामी कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटि बैठक बोलाउने, त्यसपछि महाधिवेशनमा जाने कार्यातालिका तयार गर्ने भनेर मिति तय गरेको छ । देश कोविड १९ रोगसँग लडिरहेको र दिनप्रतिदिन संक्रमितको संख्या र मृतक संख्या बढीरहेको अवस्थामा तोकिएको मितिमा बैठक गर्न सकिन्छ कि सकिँदैन भन्ने चाँही चुनौती नै रहेको छ ।
तल्लो तहसम्म पार्टी नै मिलिसकेको छैन अनि चैतमै महाधिवेशन गर्न सम्भव हुन्छ ?
पार्टीका सबै संरचना तयार भई महाधिवेशन गर्ने भनेर तयार हुँदा महाधिवेशन तोकिएको समयमा हुन्छ र त्यो सम्भव पनि छ । किन भने हामीसँग अझै करिव करिव ५, ६ महिनाको समय छ । त्यसको लागि असोज मसान्तसम्म पार्टी सदस्य आवधिक गरी केन्द्रमा पठाइसक्ने भनिएको छ ।
पूर्व माओवादीतिरबाट आएका साथीहरुको सदस्यता समयोजन भइसक्यो त ?
पार्टी एकता भइसके पछि पुर्व भनेर कसैमा जोडिनु आवश्यक छैन । समग्रमा नेकपाको संगठीत सदस्यहरुको सदस्यता आवधिक गर्ने काम भइरहेको छ । माथि नै पनि भनिसकियो असोज मसान्त भित्रमा सबै संगठित सदस्यहरुको सदस्यता आवधिक गरि तयार गर्ने निर्णय भइसकेको र सोही अनुसार काम भइरहेको छ ।
नेकपाले एउटै भिजन र दृष्टिकोण लिएर राष्ट्रिय महधिवेशन जाने सम्भावना छ ? एउटा मिटिङ बस्न त यत्रो समय लागिरहेको छ ?
शीर्ष नेताहरुले विगतका कमीकमजोरीहरु नदोहो¥याउने यही स्प्रिटलाई अगाडि बढाउने भनेर कमिटमेन्ट गर्नुभएको छ, भरखरै सम्पन्न स्थायी कमिटिको निर्णयले त्यसलाई पुष्टि गरेको छ । इच्छाशक्ति हुँदा गर्न सकिन्छ । त्यो इच्छाशक्ति नेतृत्वले देखाउनुपर्छ । मलाई विश्वास छ, उहाँहरु त्यो काममा लाग्नुहुने छ ।
अब आउने महाधिवेशनमा वैचारिक रुपमा कसको नेतृत्व हुन्छ नेकपामा ?
नेकपा महाधिवेशनमा गइरहँदा कुन विचार स्थापित गर्ने हो कसको नेतृत्व हुने हो भन्ने तय त महाधिवेशनले नै गर्दछ । अभ्यासका रुपमा हेर्र्दा जसको विचार पास हुन्छ, उसले नेतृत्व गर्नुपर्छ । त्यसमा लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दै गर्दा बहस, छलफल होलान्, छलफलको संस्लेषण होलान र त्यसरी भएको संस्लेषण पार्टीको साझा सम्पत्ति हुन जान्छ त्यसकारण जसको नीति उसको नेतृत्व भन्ने कुरा पार्टीमा स्थापित गर्नु पनि जरुरी छ र जो अल्पमतमा पर्छ त्यसलाई पार्टी सम्पत्तिको रुपमा राखेर जानुपर्छ ।
अहिले जे–जस्तो भएपनि आगामी महाधिवेशनले नेकपामा नयाँ विचार ल्याउँछ ?
हो, नयाँ विचार शक्ति लिएर आउँछ । खासगरी अहिले लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । जहाँ निरंकुश राजतन्त्र समाप्त भएको छ । संघीयता निर्माण भएको छ । स्थानीय तह अधिकार सम्पन्न भएको छ । त्यसका आधार विचारहरु, शस्लेषणहरु त्यहाँ हुनेछन् । यो टिम, त्यो टिम, यो गुट, त्यो गुट, यो विचार, त्यो विचार भन्ने होइन ।
नयाँ उचाइ, नयाँ सोच, नयाँ विचारबाट अगाडि बढ्नुपर्छ । आज विश्वमा यत्रो नयाँ टेक्नोजलीको विकास भएको बेलामा यस्ता सानानिता कुरामा झुन्डिने भन्दा पनि पार्टीले छलफल र बहसबाट निकालेको निष्कर्षलाई मान्न जरुरी छ ।
तपाईंले लोकतान्त्रिक पद्धति, विधिका कुरा गर्नुभएको छ, सत्तामा गइसकेपछि त्यस्तो देखिँदैन नि ?
त्यसको बारेमा मैले अगाडि भनेको छु । केही समस्याहरु देखिएका छन् । पार्टीभित्र केही विकृतिहरु सिर्जना भएका छन् । त्यसलाई समाप्त पार्नका निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गरेर नयाँ उचाइबाट अगाडि बढ्नुपर्छ । तपाईंले भनेजस्तै यो बीचमा विधि, पद्धतिबाट पार्टी नचलेकै हो । त्यसमा हामीले लडाईं लडेकै हौं ।
त्यसकारण पार्टी भनेको विधि, पद्धतिबाट चल्नुपर्छ । पार्टीका विधान, नीति, कार्यक्रमहरु हुन्छन् । त्यसका आधारमा पार्टी सञ्चालन हुने हो । विधान, विधि, पद्धति र नीति नमान्ने हो भने त्यो सबल नेतृत्व हुन सक्दैन ।
जबसम्म राष्ट्रिय महाधिवेशन हुँदैन, तबसम्म पार्टीमा संलोपन आउँदैन हो ?
हो, जबसम्म पार्टी एकढिक्का भएर राष्ट्रिय महाधिवेशन हुँदैन । तबसम्म पार्टीभित्र समस्याहरु आइरहन्छन् । त्यसैले राष्ट्रिय महाधिवेशन छिटो भन्दा छिटो हुन जरुरी छ ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् वर्तमान अवस्थाको बारेमा मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...