
काठमाडौं : जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । काठमाडौंको शोभा भगवतीघाटमा श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसहित विशिष्ट व्यक्तिहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपालभाषा साहित्य तथा नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका श्रेष्ठको विदाईमा हजारौंको सहभागिता थियो ।
कविता, गीत, नाटक, बाल साहित्य र अनुवादमार्फत आठ दशकभन्दा लामो समय साहित्यमा सक्रिय दुर्गालाल श्रेष्ठले सिर्जना मात्र गरेनन्, भाषा, पहिचान, सामाजिक न्याय, समानता र स्वतन्त्रताका पक्षमा निरन्तर आवाज पनि उठाईरहे । सरल, लयात्मक र जनजीवनसँग जोडिएको उनको लेखनले श्रेष्ठलाई नेपाल भाषाा र नेपाली साहित्यमा विशिष्ट पहिचान दिलायो । जनकवि श्रेष्ठको निधनसँगै नेपाली साहित्यले एउटा बहुआयामिक स्रष्टा गुमाएको छ । साहित्यका विभिन्न विधामा सशक्त उपस्थिति जनाएका जनकवि दुर्गालाल श्रेष्ठको साहित्यिक यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो ।
११ वर्षकै उमेरमा लेखनमा प्रवेश गरेका श्रेष्ठले साथीहरूसँग मिलेर नाटक लेख्ने, खेल्ने र मञ्चन गर्ने क्रममा आफ्नो सिर्जनशीलतालाई अघि बढाए । नाटकसँगै गीत लेखनतर्फ आकर्षित भएका उनले पछि कविता र गीतका क्षेत्रमा पनि विशिष्ट स्थान बनाए । प्रेम र वियोगका अनुभूतिबाट सुरु भएको उनको काव्ययात्रा समयसँगै समाजका गहिरा प्रश्नतर्फ मोडियो । अभाव, अन्याय, अत्याचार र मानवीय पीडालाई कविताको विषय बनाउँदै उनले सामाजिक चेतनाका सशक्त आवाजका रूपमा आफूलाई स्थापित गरे । नेपाल भाषा उनको मातृभाषा थियो । त्यसैले भाषा र समुदायको पहिचान उनका सिर्जनाको महत्वपूर्ण आधार बने । तर, उनको सिर्जनाको दायरा आफ्नै समुदायमा मात्र सीमित थिएन । गरिबी, भोक, विभेद र पीडामा बाँचिरहेका मानिसको आवाजलाई उनले साहित्यको केन्द्रमा राखे ।
स्वर्गीय श्रेष्ठ कवि मात्र होइनन्, प्रभावशाली गीतकार पनि थिए । उनका सयौं गीत रेकर्ड भएका छन् । प्रेम, सौन्दर्य र वियोगदेखि सामाजिक जागरण, विद्रोह, भाषा तथा अधिकारका विषय उनका गीतमा भेटिन्छन् । ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीत नेपाली संगीतप्रेमीमाझ आज पनि उत्तिकै लोकप्रिय छन् भने “सय थरी बाजा एउटै ताल” जस्ता राष्ट्रिय भावना जगाउने गीतका सर्जक पनि उनै हुन । उनका कतिपय गीत जनजीवनसँग यति नजिक छन् कि ती लोकगीतझैँ स्थापित भएका छन् । कविता र गीतसँगै नाटक, बालसाहित्य र अनुवादमा पनि उनको महत्वपूर्ण योगदान रह्यो । उनका प्रकाशित कृति छ दर्जनभन्दा बढी छन् भने बालसाहित्यतर्फ मात्रै दुई दर्जनभन्दा बढी कृति छन् । सरल, सुस्पष्ट, लयात्मक र मधुर भाषाशैली तथा स्थानीय समाज, संस्कार र परम्पराबाट आएका शब्द र बिम्बको प्रयोग उनका लेखनका विशेषता हुन् ।
दुर्गालाल श्रेष्ठको निधनले एउटा स्रष्टाको भौतिक उपस्थिति अन्त्य गरे पनि उनका सिर्जना, विचार र आवाज नेपाली समाजमा अमर रहनेछन् । समानता, न्याय, स्वतन्त्रता र मानवताको पक्षमा उभिएको उनको साहित्यिक जीवन आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्नेछ । त्यसैले जनकवि श्रेष्ठको परिचय अब केवल एक व्यक्तिको होइन—एउटा विचार, एउटा आस्था र एउटा जीवन्त साहित्यिक विरासतको रूपमा रहनेछ ।
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको...
काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिलाई लक्षित गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता...