
काठमाडौं : वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान १०ः३० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ । उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडास्थित कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक १० मिटर भासिएपछि यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको...
काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिलाई लक्षित गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता...