देउवा र पौडेलले पराजयको जिम्मा नलिएपछि कांग्रेसमा बबण्डर – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

देउवा र पौडेलले पराजयको जिम्मा नलिएपछि कांग्रेसमा बबण्डर

नेताहरु आरोपमै व्यस्त, वृद्ध नेता आफ्नै प्रशंसामा मस्त

काठमाडौं । गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीले बेहोर्र्नु परेको लज्जास्पद हारको जिम्मेवारी लिन शीर्ष नेताहरुले नमानेपछि एक महिनाभन्दा लामो समयदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक किचलोमा परिणत भएको छ ।

निर्वाचनमा हारको जिम्मेवारी कसले लिने भन्ने विवादले चर्को रुप लिएपछि शनिबार विहान ९ बजे बोलाइएको बैठक ११ घण्टा अर्थात साँझ आठ बजेमात्र आइतबारसम्मको लागि स्थगित भएको जानकारी गराईएको थियो । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच दिनभर भएको सहमति प्रयास सफल हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको थियो ।

बैठकका लागि विहान ९ बजे नै पार्टी कार्यालय सानेपा पुगेका नेताहरु दिनभर कुरेर साँझ ७ बजेतिर फर्किएका थिए । केही नेता सहमतिको प्रयासका लागि भन्दै छलफलमा जुटेका थिए भने अरु गफ गरेर दिन काट्न वाँध्य थिए । शनिबारको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी थियो ।

महामन्त्रीको प्रतिवेदन बनाउन शेरबहादुर देउवा र रामचन्द्र पौडेलका नेताहरुले सहयोग गरेका थिए । तर, चुनावी हारको जिम्मा कसले लिने भन्नेमा देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति हुन सकेन । ‘चुनावी हारको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्छ । अरुले पनि आफ्नो पदीय जिम्मेवारी अनुसार लिन्छौं भन्यौं । तर, सभापतिले मान्नु भएन, छलफलमा सहभागी पौडेल समूहका एक नेताले भने । नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिको भेला जेठ भित्रै बोलाउन माग गरे पनि देउवा समूहले साउन अन्तिम वा भदौंमा गर्ने प्रस्ताव राखेका छन् ।
एमाले र माओवादी मिलेका कारण मात्र कांग्रेसले चुनाव हारेको देउवा पक्षको तर्क छ ।

मध्यमार्गी नेताहरुले तयार पारेको प्रस्तावमा कांग्रेसले आफ्ना राम्रा कामहरुको पनि प्रचार गर्न सकेको भए, सरकारका कतिपय अनुपयुक्त निर्णयहरु नगरेको भए यो भन्दा राम्रो परीणाम प्राप्त गर्न सकिन्थ्यो भन्ने भाषा राखिएको छ । पौडेलसहितका शीर्ष नेताहरुले नोट अफ डिसेन्ट लेख्ने अवस्था आउने नदिने देउवा पक्षको रणनीति थियो ।

असन्तुष्ट नेता पौडेलले निर्वाचनमा पराजयको जिम्मेवारी सभापतिले लिनु पर्ने भने पनि सभापति देउवा र उनी निकटका नेताहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार चयन गर्दा पौडेलले आफ्नो भागमा परेको भन्दै उम्मेदवार उठाएकोले हारको जिम्मा उनले पनि लिनु पर्ने तर्क गरेपछि बैठक भाँडिएको हो । स्रोतका अनुसार निर्णय के लेख्ने भन्ने सम्वन्धमा पदाधिकारी कसैले पनि नेतृत्व नलिए पछि निर्णय लेखाउनेको सख्या बढी हुँदा विबाद लम्विएको हो ।

केन्द्रीय कार्य समिति बैठक शुरु हुँदा नै सभापति, महामन्त्री वा उनले जिम्मेवारी दिएका केन्द्रीय सदस्यले लिखित वा मौखिक रुपमा छलफलको एजेण्डा पेश गर्छन र निर्णयको समेत प्रस्ताव गर्छन । तर यो बैठकमा सभापति, महामन्त्री र कोषाध्यक्ष कसैले पनि लिखित प्रस्ताव वा निर्णयको मस्यौदा वा आगामी नीति वा योजनाको प्रस्ताव नगर्दा केन्द्रीय समिति नै अलमलमा परेको यूवा केन्द्रीय सदस्यहरुको गुनासो छ ।
सहमतिको प्रयास लम्बिएपछि युवा नेताहरुले चुनावी समिक्षाको प्रस्ताव पार्र्टी सभापतिले नै ल्याउने र त्यसमा सहमत नहुनेहरुले आफ्नो राय राख्ने विकल्प पनि दिएका थिए । तर, साँझ ८ बजेसम्म पनि सहमति जुट्न नसकेपछि सवै नेता निरास भएर घर फर्किएका थिए ।

तर प्रवक्ता विश्वप्रकाश शर्माले औपचारिक रुपमा बस्न नसकेपनि अनौपचारिक बैठक भने चलिनै रहेको दाबी गरे । उनले बैठकमा पेश गर्ने प्रतिवेदन तयारीका बारेमा सनिबार अनौपचारिक छलफल भएको बताए । यसअघि केन्द्रीय समिति सदस्यहरुले बोल्ने क्रम सकिएकाले सनिबार महामन्त्री शशांक कोइरालाले प्रतिवेदन पेश गर्नुको साथै महासमितिको बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान तय गरि बैठक सम्पन्न हुने बताईएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महासमितिको बैठक छिटो बोलाउन माग गरेका छन भने सभापति देउवा पक्ष असोजमा बोलाउने पक्षमा छन । देउवा पक्षधर नेताहरुले अब बर्षा सिजन लागेको र महासमिति बैठक छिटो बोलाउन सम्भव नभएको तर्क गरेका छन् । उनीहरुले विधान विपरीत गठन भनिएका समितिहरु अहिले भंग नगर्न देउवालाई दबाब दिइरहेका छन् ।

शुक्रबारसम्म चलेको केन्द्रीय कार्य समिति बैठकमा सभपाति देउवा पक्षधर अधिकांस नेताहरुले निर्वाचनमा पराजय हुनुको दोष सभापति देउवामा मात्र थोपर्न नहुने भन्दै चुनावको समयमा आफूले सिफारिस गरेर बनाएका उम्मेदवारले हार बेहोर्नु पर्नाको जिम्मेवारी नेता पौडेलले पनि लिनु पर्ने माग गरेपछि नेता पौडेल पार्टी निर्णयमा निर्वाचनमा भएको पराजयको दोष सभापति देउवालाई दिन चाहन्थे तर आफूलाई देउवा निकट हरेक नेताले प्रहार गरेपछि पौडेलले नोट अफ डिसेन्ट लेख्ने चेतावनी पुनर्विचार गरेका थिए ।

पौडेलले कार्य समितिबाट हुने निर्णयको बारेमा आफूसँग सल्लाह नभएकोले के गर्ने भनेर अर्का नेता कृष्णप्रसाद सिटौलासँग सल्लाह मागेका थिए । स्रोतका अनुसार सिटौलाले सभापतिबाट गल्ती र कमजोरी भएको महसुस गरेको भन्ने कुरा निर्णयमा नलेखेसम्म माइन्युटमा हस्ताक्षर नगर्न भनेका थिए । त्यसैले शनिबार बिहान पार्टी कार्यालय पुगेका पौडेलले आफूहरुले भने बमोजिम निर्णय नआए लिखित रुपमा नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिएका थिए । तर महामन्त्री डा. शसांक कोइरालाले भने मौखिक रुपमा मात्र निर्णय प्रति असहमति राख्ने बीचको बाटो सुझाएका थिए ।

पौडेलको प्रतिवाद
आफूले गत फागुन १३ गते केन्द्रीय कार्य समिति बैठकमा पेश गरेको लिखित धारणालाई लिएर देउवा पक्षीय नेताहरुले आलोचना गरेपछि पौडेलले शुक्रबार प्रतिवाद गरेका थिए । दलको बरिष्ठ नेताले आन्तरिक विषयलाई पार्टीको वैठकमा नराखेर मिडिया प्रचारबाजी गरेको भन्दै उनको आलोचना गरेका थिए । पौडेलको पत्रलाई लिएर प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महतले आपत्ति जनाएका थिए ।

पौडेलले लिखित पत्रमा भोगको गिनिजबुकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हेरेका छन् ? सभपातिज्यू भनेर प्रश्न गरेका थिए । उनले सोही कुरा सत्य भएको भन्दै प्रवक्ता शर्माले भोगको गिनिजबुकमा नाम लेखाउने भनेको के हो ? भन्ने जिज्ञासाको जवाफ दिँदै पौडेलले सभापतिमा त्यागको भावना नदेखिएको दोहोर्याएका थिए । सभापति देउवा कति पटक प्रधानमन्त्री हुनुभयो ? देउवाले भूतपूर्व सभापतिहरुवाट त्याग र भोग सिक्नुपर्दैन ? गणेशमान सिंहले पाएको प्रधानमन्त्रीको पद कसरी छोड्नु भयो ? प्रवक्ता ज्यू भोग र त्याग भनेको त्यहि हो भनेर प्रतिप्रश्न गरेका थिए ।

पौडेलले नेता विमलेन्द्र निधिको प्रश्नको जवाफमा निधि गृहमन्त्री हुँदा भएको आइजीपी काण्डले प्रधानन्यायधीशलाई महाअभियोगसम्म पुग्यो । आइजीपी नियुक्तको काण्डमा गृहमन्त्री र प्रधानमन्त्रीका बीचमा विवाद भएको हो कि होइन ? त्यसले काँग्रेसलाई कति नोक्सानी पुग्यो ? आइजीपी प्रकरण निम्त्याएको तपाई र सभापतिले होइन ? महाअभियोग आवश्यक थियो ? भनि पुन प्रश्न गरेका थिए । डा. प्रकाशशरण महतको प्रश्नको जवाफ दिँदै पौडेलले राजदूत नियुक्तिमा मैले समयमै दिएका सुझावलाईं तपाईले घोर उपेक्षा गर्नुभयो, आइजी काण्डमा त्यस्तै गर्नुभो, महाभियोग प्रकरणमा लोकले के भन्ला भन्ने कुरा वास्तै गर्नुभएन, न्यायाधीश नियुक्तिमा अपारदर्शी शैलीको प्रयोगदेखि सबै रेकर्ड तोड्ने गरी औचित्यनै नभएका व्यक्तिलाई थुपारेर जम्बो मन्त्रिपरिषद गठनले पनि नागरिक समाजमा चरम वितृष्णा फैलायो जस्ता आरोप लगाएका थिए । पौडेलले राजदूत नियुक्तिमा आफ्नो सुझाव लत्याइएको थियो भन्दै राजदूतका लागि सक्षम व्यक्तिहरु मैले सिफारिस गरेको थिएँ ।

तर, मेरो सिफारिसलाई बेवास्ता गर्दै किन नयाँ व्यक्ति ल्याइयो ? राजदूतका लागि योग्य व्यक्तिहरु डा.यज्ञ अधिकारी र धमेन्द्र झालाई सिफारिस गरेको थिएँ । किन उनीहरुको नाम हटाइयो ? तपाइँले गलत नगरेको भए किन फिर्ता लिएको ? डा. अधिकारी र झा तपाइँहरुकै मान्छे होइनन् ? त्यस्ता व्यक्तिलाई फालेर के गर्नुभयो ? भनी प्रश्न गरेका थिए । पौडेलले सभापतिलाई हटाउन आफूले नभनेको तर, किन सभापतिले पराजयको महसुस पनि गर्नुहुन्न ? दल सच्याउँछु भन्ने नैतिकता त सभापतिमा हुनुपर्यो नि भन्दै आक्रोस पोखेका थिए ।

पौडेलले महासमतिको वैठक वैशाखमा बोलाउनुपर्ने, जिल्ला सभापतिहरुको वैठक जेठमा हुनुपर्ने, युवा सदस्यहको प्रस्ताव सम्बोधन गरिनुपर्ने, दलको प्रशिक्षण नियमित हुनुपर्ने र विधान विपरित भएका निर्णय सच्चिनु पर्ने धरणा राखेका थिए ।

आलोचना र आत्मरतिमै रुमलियो बैठक
गत चैत ९ गतेदे िजारी बैठकमा यूवा नेताले अव पार्टीको भावि कार्यदिशा के हुने भनेर लिखित प्रस्ताव पेश गर्नु वाहेक अधिकांस नेताले एकले अर्कोलाई खुइल्याउने, आलोचना गर्ने विरोध गर्ने र आफूलाई साखुल्ले देखाउने मात्र प्रयास गरे । तर केही बृद्ध नेताहरुले भने आफ्नो गुणगान गर्दै आत्मरतिमा रमाए । आफ्नो विगतको योगदानको पृष्ण्भूमिदेखि पट्यारलाग्दो भाषण गर्नेमा असोज ३० गते कांग्रेस फर्किएका विजयकुमार गच्छदार र अर्का नेता गोपालमान श्रेष्ठ अग्रणी देखिए ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७५ बैशाख २०, ०६: ३०

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७५ बैशाख २०, ०६: ३०

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७५ बैशाख २०, ०६: ३०

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...