
ललितपुर . ललितपुर महानगरपालिकाले चिकित्सक, नर्स र अक्सिजन कन्सन्टेटर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर सोमबारदेखि संचालनमा ल्याउने भएको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षमा आइतबार बसेको बैठकले नेपाल युथ फाउन्डेसनको पोषण पुनस्र्थापना गृहमा ५० शैय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको हो । फाउन्डेसन, पाटन अस्पताल अन्य रिफरल अस्पताल र महानगरबीच सोमबार त्रिपक्षीय सम्झौता गरी औपचारिक रुपमा सञ्चालन गर्ने महानगरप्रमुख महर्जन बताए ।
अघिल्लो वर्ष सो गृहमा महिला र बालबालिकाका लागि क्वारेन्टिन संचालन गरिएको थियो । पोषण पुनस्र्थापना केन्द्र महानगरको वडा नं २६ स्थित सुनाकोठीमा रहेको छ । महानगरको वडा नं ४ बागडोलस्थित ज्यापु समाजको एक सय १० शैय्याको वृद्धाश्रमलाई पनि आइसोलेसन सेन्टरका लागि तयारी गरेको छ ।
नगरप्रमुख महर्जनले नगरवासीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै कोभिडको दोस्रो लहरबाट नागरिकलाई जोगाउन महानगरले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘ज्यापु समाजसँग छलफल भइरहेको छ । त्यहाँ अहिले जेष्ठ नागरिक बस्नु भएको छैन । आवश्यक पर्ने बित्तिकै वृद्धाश्रम प्रयोग गर्न सकिन्छ ।’ उनले संचालनमा आएका आइसोलेन सेन्टर उत्कृष्ट हुने दाबी गरे ।
महानगरकी उपप्रमुख गीता सत्यालले नागरिकको स्वास्थ्य र सुरक्षा महानगरको पहिलो प्राथमिकता भएको बताउँदै निजी अस्पतालसँग पनि महानगरले छिट्टै छलफल गर्ने तयारी गरेको जानकारी दिइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरको स्रोत र साधनले भ्याएसम्म आइसोलेसन सेन्टरलाई सुविधा सम्पन्न बनाउने बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत लिलाराज आचार्यले कोभिडका बिरामीले अस्पतालको शैय्या भरिएको बताए । पाटन अस्पतालले कोभिड बिरामीका लागि ५० शैय्या थप्ने तयारी गरेको जानकारी दिए ।
ललितपुर महानगरले आइसोलेसन सेन्टरमा मेडिकल कन्सल्ट्यान्ट, दुई जना मेडिकल अफिसरकोे व्यवस्था गर्ने ललितपुर महानगर कोभिड फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिइन् । त्यसैगरी महानगरले गृहका अन्य मेडिकल स्फाटहरुलाई तालिमको व्यवस्था गर्ने जनाएको छ ।
नेपाल युथ फाउन्डेसनका अध्यक्ष सोम पनेरुले यो आइसोलेसन सेन्टरलाई कोभिड पोजेटिभ देखिएका बिरामीलाई अस्पताल जानु पर्ने अवस्था आउनु अघिसम्म र अस्पतालको उपचारपछि पूर्ण रुपमा निको हुनुभन्दा अघिको समयसम्म राख्न सकिने बताए । महानगरका प्रवक्ता राजु महर्जन, वडा नं २७ का वडा अध्यक्ष बाबुराज महर्जन, वडा नं २६का अध्यक्ष सुरेश महर्जन लगायतको बैठकमा उपस्थिति थियो ।

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...