सबैको मिशन आगामी स्थानीय निर्वाचन – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper
छठको मौका छोपेर मधेश आर्लिएका नेताहरु स्थानीयसंग आत्मीयताको साइनो गाँस्दै

सबैको मिशन आगामी स्थानीय निर्वाचन

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् । मधेशका क्षेत्रीय दलहरु कमजोर भएपछि सिंगो मधेशको विश्वास जुटाएर आसन्न स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि रास्वपा र कांग्रेस नेताहरु छठका नाममा आत्मीयताको साइनो गास्दै मधेश झरेका हुन् । मधेशका क्षेत्रीय दलहरू आन्तरिक कलह र टुटफुटका कारण कमजोर भएको मौका छोपी त्यहाँको मत र राजनीतिक स्थान आफ्नो पक्षमा पार्ने रणनीति अनुसार नै शीर्ष नेताहरूको मधेश दौडले गति पाएको हो ।

विगतका निर्वाचन र आन्दोलनहरूमा मधेशको राजनीतिमा क्षेत्रीय दलहरूको बलियो पकड रहेको थियो । तर, सत्तास्वार्थ, नेतृत्वको टकराव र वैचारिक अस्पष्टताका कारण उपेन्द्र यादवदेखि सीके राउतसम्मका मधेशकेन्द्रित दलहरू एकजुट हुन नसकेकोमात्र होइन, प्रदेशमा रहेको उनीहरूको गठबन्धनसमेत संकटमा परेपछि सत्ताबाट बाहिरिनु परेको थियो । मधेशबाट पटक–पटक नेताहरू मन्त्री बने पनि शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीजस्ता आधारभूत विकासका मुद्दामा यो प्रदेश झनै पछाडि परेपछि आम मतदातामा पुराना र क्षेत्रीय दलहरूप्रतिको आशा र भरोसा गुम्दै गएको हो । प्रमुख दलका शीर्ष नेताहरुको मधेश दौडाहाका पछाडि त्यही असन्तुष्टि र राजनीतिक रिक्ततालाई पूर्ति गर्नु रहेको बुझ्न सकिन्छ ।

गत फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीका रूपमा मधेशकै पृष्ठभूमिका बालेन्द्र शाहलाई अघि सारेर मधेशी मतदाताको भावना जित्ने काम गरेको थियो । जनकपुरधामका सभाहरूमा बालेनले मैथिली भाषामै सम्बोधन गर्दै मधेशको छोरोको मुद्दा उठाएका थिए । अहिले छठ मनाउनका लागि भन्दै आइतबार जनकपुर बिमानस्थलमा उत्रिएका रास्वपा सभापति रवि लामिछानेले छठ पर्वको अवसरमा जनकपुरका सर्वसाधारण नागरिकको घरमै बसेर व्रत तथा पूजाविधिमा सहभागी हुनुलाईे मतदातासँग प्रत्यक्ष घुलमिल हुने र भावनात्मक सम्बन्ध जोड्ने प्रयासका रूपमा राजनीतिकबृत्तमा हेरिएको छ ।

जनकपुर बसाईका क्रममा लामिछानेले जनकपुरको गंगासागरमा छठ पूजामा सहभागी हुँदा राजनीतिक कार्यक्रमभन्दा पनि सर्वसाधारणसँगको भेटघाट र सांस्कृतिक सहभागितालाई प्राथमिकता दिएका छन् । यसैगरी, मधेशका जनताको मतको सम्मान नगर्ने र बस्तीमा परिवर्तनको अनुभुति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले मत फिर्ता लिने बताए । यहाँका जनताको जीवनमा परिवर्तन महसुस नभए अर्को पटक भोट माग्न नआउने सभापति लामिछानेको अभिव्यक्तिले मधेशी मतदाताको विश्वास जित्नका लागि उनी कतिसम्म प्रयास गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।

यतिमात्र होइन, रास्वपा नेतृत्वको सरकार र पार्टीबीच पूर्ण समझदारीका साथ काम भइरहेको छ भन्ने सन्देश पनि लामिछानेले एकै साथ मधेशका मतदातालाई दिने प्रयास गरेका छन् । ताकि गत फागुनको निर्वाचनमा रास्वपा वा कुनै उमेदवार विशेषभन्दा पनि सिंगो मधेशका मतदाताले बालेन सरकारका लागि मत दिएको जुन सार्वजनिक अभिव्यक्ति दिएका थिए बालेनको त्यहि लोकप्रियतालाई भजाएर आसन्न स्थानीय र मधेशका ३२ निर्वाचन क्षेत्रबाट अधिकतम सिट आफ्नो पक्षमा पार्ने लामिछानेको रणनीति बुझ्न सकिन्छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल कांग्रेसको शीर्ष नेतृत्व पनि मधेश ओर्लिएका छन् । पुराना नेताहरुको परम्परागत गुठ भत्काउँदै कांग्रेस विधान धारा १७ (२) अनुसार विशेष महाधिवेशनबाट आएको गगन–विश्व नेतृत्वले ८ महिनाभित्रै १५औं नियमित महाधिवेशन गरेर नेतृत्व चयन गरेको छ । जसअनुसार गगन–विश्वको नेतृत्व पनि यतिबेला आक्रामक राजनीति शक्तिको रुपमा अगाडि बढेको देखिन्छ । गत निर्वाचनमा मधेशलाई केन्द्रविन्दु बनाएर निर्वाचनमा होमिएको कांग्रेसका शीर्ष नेताहरु पनि मधेश पुगेका छन् । जसअनुसार सभापति गगन थापा, वीरगंज तथा सर्लाही पुगेका छन् भने उसभापति तथा महामन्त्रीहरु पनि छैंठी पर्व मनाउन मधेशका विभिन्न स्थानहरुमा सरिक भएको देखिन्छ । तर, पछिल्लो समय नयाँ राजनीतिक शक्तिहरूको उदय र बालेन–रविको आक्रामक मधेश अभियानले कांग्रेसको परम्परागत भोट बैंकमा चुनौती थपिएको छ । छठको अवसर पारेर कांग्रेस सभापति थापाको सर्लाही यात्रालाई कांग्रेसको संगठन सुदृढ गर्ने, असन्तुष्ट कार्यकर्तालाई थामथुम पार्ने र नयाँ शक्तिहरूको प्रभावलाई रोक्ने रणनीतिका रूपमा हेरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री शाह र कांग्रेस सभापति थापाबीच सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा राजनीतिक घोचपेच समेत शुरु भएको छ । यस्तो अवस्थामा मधेशको सांस्कृतिक पर्व छठलाई उपयोग गर्दै स्थानीय नेता–कार्यकर्ता र मतदातासँग संवाद बढाएर आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसको अस्तित्व र प्रभाव जोगाउन सकिन्छ कि भनेर थापाले छठलाई त्यसको उपयुक्त अवसरका रुपमा लिएका छन् ।

हुन त नेपाली राजनीतिमा चाडपर्व र सांस्कृतिक अवसरहरूलाई राजनीतिक जनसम्पर्क र शक्तिका रुपमा पनि प्रयोग गरिँदै आएको छ । दलीय स्वार्थ जे सुकै भएता पनि सांस्कृतिक पर्वहरूमा शीर्ष नेताहरूको सहभागिताले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउन सकारात्मक भूमिका रहने विश्वास गरिन्छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्नै हो भने युवा नेताहरुको परिपक्वता र क्रियाशीलताले भाषणमा भन्दा व्यवहारमा पार्टीभित्रै परिवर्तनको आधारहरु खडा भएको देखिन्छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०८३ मंसिर ३, ०८: ५०

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...

मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
  • २०८३ मंसिर ३, ०८: ५०

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको...

आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
  • २०८३ मंसिर ३, ०८: ५०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान कोशी, बागमती र गण्डकी...