पश्चातापका लागि समेत समय नपाइएला ? – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पश्चातापका लागि समेत समय नपाइएला ?

१. जब जब नेपालका राजनीतिक दलका नेताहरु सत्ता विमुख हुन्छन्, जनतासंग गुहार माग्छन् र आत्मालोचना गर्छन् । गर्नु पर्ने कामहरु सम्झन्छन् र भन्छन्—हामीबाट बारम्बार गल्ती भएका छन्, अब आइन्दा गल्ती गर्दैनौ, एकपटक हामीलाई सहयोग गर्नुस् ।

अनि नेपाली जनताहरु प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र संरक्षणका लागि जुनसुकै बलिदान पनि दिने गर्छन् । कठिनभन्दा कठिन जीवनयापन गरेर भए पनि प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याउँछन् । अनि सत्तामा नयाँ समूह आउँछ, फेरि त्यही पुराना ज्यादती सुरु हुन्छ ।

यो नियतिबाट नेपाली जनता गुज्रिरहेका छन् । यसमा कहिले धोखा दिने पक्ष भनेको जनताका नाममा सत्तामा जाने दलहरु तथा नेताहरु हुन्छन् त कहिले संरचनामा भएका मुख्य व्यक्तिहरुले ज्यादती गर्छन् । नेपाल एकीकरणपछि शाहकालीन शासन सुरु भएको थियो अनि त्यही शाहकालीन ज्यादतीबाट दिक्क भएर जनताले जङ्गबहादुर राणाको उदय गराए तर त्यसमा जनतालाई दुःख दिने काम झन झन बढ्यो ।

नेपाली जनताले राणाकालीन जहानियाँ शासन फाल्न जनक्रान्तिसम्म गर्नु प¥यो । जनक्रान्ति त सफल भयो, नेपालमा युगान्तकारी परिवर्तन भयो, जनता रैतीबाट नागरिक भए ।

२. २००७ सालको जनक्रान्तिले राणाको जहानियाँ शासनको अन्त्यमात्र गरेको थिएन कि सुनको पिँजरामा राखिएका राजालाई पनि प्रजातन्त्रको खुला आकाशमा स्वागत गरियो र भनियो-राजा अब संविधानअन्तर्गत बस्नुपर्छ । राजाले पनि फागुन ७ गते वाचा गरे-जनताले चुनेका प्रतिनिधिले विधान बनाउने छन् र आफ्नो शासन आफैँले गर्नेछन् ।

सायद भर्खरै स्वतन्त्ररुपमा शासनमा आएका राजाको यो जोस पनि त्यत्तिकै बिलायो अनि जनताका अधिकारहरुलाई खोस्ने षडयन्त्र गर्दै संविधान सभाको त निर्वाचन भएन भएन तर जनताका दरो दबाबबाट संविधानसम्म दिन राजी भए । वास्तवमा निर्वाचित संस्थाले राजाको अधिकार कटौती गर्ने भ्रममा राजा थिए । राजा त्रिभुवन अनि राजा महेन्द्र ।

३. आफ्नै ढिपीमा आफूलाई सङ्कटकालीन अधिकार राखेर २०१५ सालमा संविधान दिए जसअनुरुपमा निर्वाचित सरकार त अत्यधिक मतले बन्यो जहाँ राजाको भूमिका भनेको मात्र सल्लाहकारको र सरकारको एउटा अङ्ग हुनेमात्र थियो संवैधानिक राजतन्त्रको परिभाषा र व्याख्याअन्तर्गत । तर त्यससंग मिलेर काम दुई तिहाईको मतले बनेको सरकार थियो बीपी कोइरालाको, नेपाली कांग्रेसको ।

शक्ति पृथकीकरणमा राजाको भूमिका सरकारको एउटा कानुन बनाउने ठाउँमा लालमोहर लगाएर कार्यान्वयनका लागि स्वीकार गर्ने र प्रधानमन्त्रीमार्फत् कुरा सुन्ने र भन्ने काममात्र गर्न पाउने अधिकार थियो । बीपी कोइराला जस्तो परिवर्तनका द्योतकले सरकार चलाएको अवस्था थियो जसले २००७ सालमा राणाको विरुद्धमा जनक्रान्तिको नेतृत्व गर्नु भएको थियो । अर्थात् उहाँमा नेपालको भावी अनुहारको स्पष्ट खाका थियो।

सायद राजालाई जनताले प्रत्यक्ष शासन गरेको पटक्कै मन परेन । र सरकारको एउटा सम्मानित अङ्ग भएर काम गर्नुभन्दा बीपी कोइरालाको सरकार विघटनमात्र गरिएन, प्रजातन्त्रको नै घाँटी निमोठेर बलजफ्ती नेपाली माटो सुहाउँदो प्रजातन्त्र भनेर दलमाथिको प्रतिबन्ध लगाउँदै सम्पूर्ण दलीय कार्यबाहीमाथि संविधानतः बन्देज लगाइयो ।

४. अन्ततः नेपाली कांग्रेसको अनवरत संघर्ष र प्रजातान्त्रिक प्रक्रियाप्रतिको आस्थाको जित भयो र वाममोर्चासंगको सहकार्यमा २०४६ सालमा जन आन्दोलन भयो र पञ्चायती व्यवस्थाको अन्त्य गरियो । अर्थात् जनताले दलीय नेताहरुलाई साथ दिए । अनि नेपाली जनतालाई लागेको थियो, अब त नेपालमा फेरि प्रजातन्त्रका लागि संघर्ष गर्नु पर्ने छैन ।

तीन तीनओटा आम निर्वाचन र दुईओटा स्थानीय निर्वाचन भएपछि मुलुकमा कृत्रिमरुपले राजनीतिक अस्थिरता निम्त्याइयो । २०४७ सालमा अधिकार सीमित गराइएका राजाले सलबलाउने मौका पाए ।

माओबादी जनयुद्धको सुरुवातमा त्यो आन्दोलन परम्परागत संसदीय प्रजातन्त्रको विरुद्धमा थियो जसको विरुद्धमा राजाका पक्षधर पनि थिए । अचानक उग्र वामपन्थ र उग्र दक्षिणपन्थको बिचमा उद्देश्य मिलेको थियो तर अवतरण हुने बेलामा माओबादी जनयुद्धले परम्परागत प्रजातन्त्रमा समानुपातिक प्रतिनिधित्वसमेतको प्रत्याभूति हुने गरी प्रजातान्त्रिक प्रक्रिया आयो ।

संविधान सभाको निर्वाचन भयो दुई दुई पटक । सामान्यतः त्यस्तो हुँदैन र पनि नेपालमा त्यो सम्भव भयो र संविधान पनि आयो । बारम्बार प्रजातन्त्रलाई खेलौना बनाएर बस्ने भनेर राजतन्त्रलाई नेपाली राजनीतिबाट हटाइयो । गणतन्त्र नेपाल भयो । त्यस्तो गणतान्त्रिक नेपाल घोषणा भएको पनि औपचारिकरुपमा १३ वर्ष भयो । अर्थात् नेपाली जनताले विविधतापूर्ण प्रतिनिधित्वमार्फत् संविधान ल्याएको पनि ६ वर्ष भयो ।

५. तर किन नेपाली जनतासामु दिएको वचन अनुसारको शासन प्रणाली अझै सुरु भएन ? भन्ने गुनासो नेपाली जनतामा छ । अहिले त झन कस्तो भयो भने जनताको प्रतिनिधित्व प्रत्यक्ष भएको प्रतिनिधि सभा नै बारम्बार सत्ताधारीको कोपभाजन भएको छ किन रे भने त्यसले सत्ताधारीको विकल्प दिन लाग्यो रे ।

६.संविधानका दफाले दिएका अधिकार र कर्तव्यको पालना गर्ने भनेको त्यको अभ्यास हो । जसरी हामी सामान्य जनताले अधिकारको प्रयोग संविधानका मौलिक अधिकारभित्र रहेर गर्छौँँ, त्यस्तै हाम्रा प्रतिनिधिहरुले पनि संसदमा ती दफाहरुको प्रयोग गरेर अभ्यास गर्न थालेको बेलामा सरकार असहिष्णु भएर जनतामा कहर दिएको छ विभिन्न तरिकाले ।

७. समग्रमा जनता आफ्ना प्रतिनिधिका बारेमा बढी चासो राख्छन् । जनताका प्रतिनिधिसमेत यसरी निरीह भएको बेलामा जनता फेरि गुहार सुन्दैछन्—मुलुक कोरोनाको कहरमा हुँदा र सरकार बनाउने विकल्प तयार भएको बेलामा फेरि फेरि किन हाम्रै व्यवस्थापिका विघटन गरिन्छ ? फेरि फेरि त्यस्तो नहोस् भनेर संविधानमा बाँधछाँद गरिंदा पनि किन त्यो सीमा भत्काइन्छ ? हिजो त राजालाई दोष दिइन्थ्यो राजा प्रजातन्त्रका विरोधी भएकाले यस्तो हुन्छ ।

तर अहिले त जनताको मतबाट आएका राष्ट्रपति, उप राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र राज्यका अन्य प्रमुख अङ्गहरु छन् शक्ति पृथकीकरणको सिद्धान्तमा र संविधानवादमा । तर किन संविधान अनुसार काम हुँदैन र बारम्बार सामान्य कुराहरु पनि संवैधानिक इजलासमा वा सर्वोच्च अदालतमा गएर गुहार माग्नु पर्ने हुन्छ ?

अनि सरकार बारम्बार ती सम्मानित संस्थाहरु जसलाई राज्यले महत्वपूर्ण अनुगमनको जिम्मा दिएको छ, भनेको मान्दैन ? अनि सत्तासीन बाहेकका नेताहरुले जनता गुहार्नु परेको हो ? यसलाई आगामी दिनको तुफानको अघिको पूर्व तयारी मान्ने हो ? अब कसको विरुद्धमा आन्दोलन गर्ने हो ?

आफ्नै सरकारको विरुद्धमा, गणतन्त्रात्मक लोकतन्त्रका विरुद्धमा आन्दोलन गर्ने हो कि प्रणाली बसेन भनेर आन्दोलन गर्ने हो ? अझ पात्रहरु तिनै हुन् जसले गणतन्त्र र राजतन्त्रमा बरु राजा आऊ देश बचाऊ भन्ने नारा सडकमा दिनेलाई उत्साहको वातावरण पैदा गराउने ? अरु त अरु, गणतन्त्रवादीहरुले नै भन्न थाले सार्वजनिकरुपमा, राजाले पनि नगर्ने काम अहिलेको शासनबाट ज्यादतीपूर्ण तरिकाले हुन थाल्यो ।

८. मेरो प्रश्न मात्र प्रधानमन्त्री खड्गप्रसाद ओलीजीलाई होइन, सबै ती नेताहरुलाई हो जसले पालैपालो सत्ताको स्वाद लिए हिजो पनि र आज पनि । किन कसैको पालामा पनि स्वतः सञ्चालित प्रणाली बनेन ? किन प्रशासन चुस्त भएन ? किन सम्पूर्ण राज्यका प्रणालीहरु दिनैपिच्छे अविश्वसनीय हुन थाले ? अनि राज्यका प्रशासन, प्रहरी, सेना, अदालत, सार्वजनिक वित्त या राज्यका सबै पक्ष किन अविश्वसनीय र भरपर्दा हुन सकेनन् जनताका लागि ? सबैतिर किन अव्यवस्था प्रभावी भएको हो ?

गृह, परराष्ट्र जस्ता संवेदनशील ठाउँप्रति किन जनतामा विमोह पैदा भएको हो ? मुलुक कसैको बपौती त होइन जसले नेपाली जनतालाई विभेद गर्दै राज्य चलाओस्, संसदको हुर्मत लेओस् र कूटनीतिलाई खेलाँची पाराले चलाओस् । सरकारको विश्वसनीयता भनेको उसको कामले देखाउने हो, कुराले होइन । सबैतिर भताभुङ्ग भएको कुनबेलामा मात्र देख्छन् दलका नेताहरुले भने जब उनीहरु सत्तामा हुँदैनन् ।

जब सरकारका ज्यादतीमाथि अदालतले नियन्त्रण गर्न थाल्यो अनि सरकारलाई लाग्न थाल्यो अदालतमा सेटिङ् छ, जब विपक्षीलाई केही कुरामा अदालतको निर्णय चित्त बुझेन उसले भन्यो-अदालतमा सेटिङ् छ, अनि न्यायाधीशहरु ज्ब मनोनीत हुन्छन्, त्यहाँ पनि विवाद किनि हुन्छ ? सायद प्रणाली मिलेन कि ? सुधार्ने ठाउँहरु छन्, संविधानमा पनि सुधार गर्नुपर्ने कतिपय कुराहरु होलान् । त्यसबारे छलफल गर्ने ठाउँ भनेको संसद हो अनि संसदको हुर्मत लिएर र संसद विनाकारण विघटन गरिरहेर कसरी लोकतन्त्रको संरक्षण हुन्छ र ?

९. अन्त्यमा, मैले यसैलाई भनेको जनता त गुहार सुन्न तयार छन् तर अब जनताले केका लागि आन्दोलन गर्दिनु पर्ने हो ? नागरिक समाजले फेरि कुन कुन कुराको लागि सहयोग गर्नु पर्ने हो ? किन गर्नु पर्ने हो ? आत्मालोचना गरेर फेरि त्यही प्रणाली ध्वस्त पार्नका लागि त हो नि भन्ने व्यापक असन्तोष नेपाली जनतामा छ । जनताको घाउमा मलम लगाउन किन कोही पनि त्याग गर्न तयार छैन ? भारतमा महात्मा गान्धी, नेपालमा गणेशमानजी, पुष्पलालजी, तुलसी मेहरजी जस्ता त्यागी थिए र पो समाजले बाटो बिराएको थिएन ।

बीपीजस्ता दूरदृष्टि भएका राजनेता थिए र पो मुलुकको सम्मान विदेशमा पनि थियो, स्वदेशमा पनि थियो । म १९९६ न्युजील्यान्डमा जाँदा तत्कालीन कोस्टारिका पूर्व राष्ट्रपति र नोबेल शान्ति पुरस्कार विजेता डाक्टर आरियास सान्चेजलाई भेट्ने मौका पाएँ एउटा अन्तर्राष्ट्रिय अपाङ्गता सम्बन्धी सेमिनारमा जहाँ उहाँ प्रमुख वक्ता हुनुहुन्थ्यो ।

न्युजील्यान्डमा नेपालको नाम प्रायशः सबैले जान्दछन् किनभने हिलारी त्यहीँकै हुनुहुन्थ्यो जसले सगरमाथामा नेपालका तेन्जिङ् नोर्गेसंगै सफल आरोहण गर्नु भएको थियो ।

जब मैले आफ्नो परिचय दिएँ म नेपालबाट । अनि डाक्टर सान्चेजले भन्नुभयो—बीपी कोइरालाको देश ? मेरो त उहाँ नेता हो । मैले आजसम्म नेपालको हिमालको दर्शन गर्न पाएको छैन ।

सोसलिस्ट इन्टरनेसनलको बीपी सम्मानित उपाध्यक्ष हुँदा सायद उहाँ पनि दक्षिण अमेरिकाबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो । यसरी नेपाललाई विदेशमा चिनाउने कतिजना नेता जन्मनु भयो नेपालमा ? यति राम्रो देशमा, प्रजातन्त्रका लागि निष्ठावान जनता भएको देशमा, नेताहरुलाई कुनै शङ्का नगरी विश्वास गर्ने देशमा किन जनतामाथि नै बारम्बार प्रहार हुन्छ उनीहरुको विश्वासमाथि कुठाराघात हुन्छ ? मैले सिद्धान्तको कुरा गरेको हो । कसैमाथि किन पनि आरोप गर्नु छैन किनभने कोही पनि आरोपमुक्त हुनेवाला छैन ।

राजनीति नै धमिलो भए पनि अरु सबै कुरामा त्यसको प्रभाव धमिलो नै पर्छ । मुलुक अविश्वसनीय अवस्थामा छ, कृपया बेलैमा उद्धार नगर्ने हो भने पश्चातापका लागि पनि हामीले समय पाउने छैनौँ ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०७८ असार १४, १२: ३३

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७८ असार १४, १२: ३३

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ असार १४, १२: ३३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...