किन बारम्बार सर्दैछ कांग्रेस बैठक ? – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

किन बारम्बार सर्दैछ कांग्रेस बैठक ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पछिल्ला महिनामा बारम्बार सर्ने गरेका छन् । कांग्रेस सभपाति शेरबहादुर देउवाले आफू सभापति निर्वाचित भएपछि केन्द्रीय कार्य समितिको बैठकलाई छल्न खोजेको आरोप बारम्बार असन्तुष्ट नेताहरुले लगाईरहँदा पार्टी अघि देखिएका दर्जनौं मुद्धालाई संवोधन गर्न बैठक आवश्यक भए पनि बिनाकारण सार्ने गरिएको छ ।

सभापति निर्वाचित हुनासाथ तत्कालिन एमाले र माओवादी गठबन्धन सरकारलाई ढालेर मओवादीसँग सत्ता गठबन्धनमा व्यस्त हुँदा बैठक राख्न नसकिएको सभापति देउवा र उनी पक्षधर संस्थापन पक्षका नेताले बताउने गरेका थिए ।

माओवादीसँगको गठबन्धन चल्दै गर्दा अख्तियार प्रमुख र प्रधानन्यायाधिशमाथिको महाभियोग प्रकरण, आइजीपी प्रकरण हुँदै सरकारको नेतृत्व लिनमा रुमलिएको पार्टी नेतृत्वले सरकारमा व्यस्त हुनु परेको भन्दै महत्वपूर्ण राष्ट्रिय मुद्धामा समेत केन्द्रीय कार्य समिति बैठक डाकिएको थिएन् । गतबर्ष भरी स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा नेतृत्व व्यस्त हुनु परेको कारण देखाइए पनि गत चैतयता पनि कांग्रेस केन्द्रीय कार्य समिति बैठक हरेक पटक जसो एक पटक स्थगित हुँदै बस्दै गर्ने गरेको छ ।

पछिल्लो पटक १९ असोजमा बस्ने केन्द्रीय कार्य समिति बैठक अघिल्लो दिन राति साडे १२ बजे स्थगित भएपछि भने धेरै नेताले आश्चर्यको रुपमा लिएका छन् । बैठक बस्नको लागि पर्याप्त तयारी नहुने गरेको र केही नेता उपत्यकाबाहिर रहेको वा अन्य यस्तै कारणहरु देखाएर गत २८ भदौमा बस्ने भनिएको बैठकसमेत स्थगित गरिएको थियो ।

पार्र्टीको प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी संघको संशोधित बिधान अनुमोदन गर्ने, पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार गरेको मस्यौदा प्रस्तावमाथि छलफल गर्ने र समसामयिक विषयमा छलफल गर्न १९ असोजमा बोलाएको बैठक विशेष कारणवश २२ असोजसम्मका लागि सारिएको थियो । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल बताउँछन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार हुने बैठकमा सहभागी हुन वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार हतार गरेर तनहुँबाट काठमाडौं आएका थिए । तर, उनी काठमाडौं आएको केही घण्टामै बैठक स्थगित भयो । बैठकको एजेन्डा थियो, भातृ संस्था नेपाल विद्यार्थी संघले तयार गरेर ल्याएको संघको विधान अनुमोदन गर्ने वा नगर्ने वा संशोधन गर्ने बिषयमा केन्द्रीत थियो । पार्टी केन्द्रीय समितिको बैठक बोलाउनुअघि मिति र एजेन्डाबारे सल्लाह गर्न पौडेलसहितका असन्तुष्ट नेताले आग्रह गरेबमोजिम सभापति देउवाले शुक्रबार बैठक बोलाएको एक नेता बताउँछन् ।

महामन्त्री डा. शशांक कोइराला पनि विराटनगरको पार्टी कार्यक्रम स्थगित गरी शुक्रबार दिउँसो १ बजे नै जहाजबाट राजधानी आउन बिहिबार टिकट लिएका थिए र तर शुक्रबार बिहान उनले काठमाडौं उड्नुअघि नै सभापति देउवाले बैठक स्थगित गरिसकेका थिए । स्रोतका अनुसार नेविसंघको विधानलाई लिएर संस्थापन पक्षका केही पदाधिकारीले ३२ वर्षे उमेर हद लगाउनुपर्ने अडान राखेकै कारण बैठक बस्न नसकेको हो ।

नेविसंघमा ३२ वर्षे उमेर हद लगाएर आफू निकटका प्रेमराज जोशीलाई सर्वसम्मतिका नाममा अध्यक्ष बनाउने उद्देश्य राखेका ति पदाधिकारीले विधानमा सर्वसम्मतिमा पारित गर्ने वातावरण नबनेको बताउँदै बैठक स्थगित गर्न सभापति देउवालाई दबाब दिएका थिए । सभापति देउवालाई विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग एक वर्षअघि पार्र्टी एकीककरण हुँदा आएका विद्यार्थी संगठनका अध्यक्ष कपिलेश्वर यादवलाई महामन्त्री र अन्य १४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने नेविसंघ अध्यक्ष नैनसिंह महरको निर्णयलाई अन्य असन्तुष्टहरूले अस्वीकार गरेको बताउँदै स्थगित गर्न दबाब दिएका थिए ।

बुढानीलकण्ठ स्रोतका अनुसार शुक्रबारको बैठक स्थगित गर्ने पक्षमा उपसभापति विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मासमेत थिएनन् । शीर्ष नेता पौडेल र डा शशांकलाई समेत थाहै नदिई बैठक स्थगित गर्न सभापति देउवासमेत तयार थिएनन् तर, पार्टीका शीर्ष नेताहरू नै आउन ढिलो हुने देखेपछि बैठक स्थगित गरिएको देउवा निकट स्रोतको तर्क थियो । ‘शुक्रबार बोलाइएको बैठक नेविसंघको विधानलाई अनुमोदन गर्ने विषयमा केन्द्रित थियो,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘नेविसंघको विधान पारित नगर्न र नेविसंघमा विवाद छ भन्ने देखाएर बैठक स्थगित गरिएको हो ।’

पार्टीकै दबाबमा नेविसंघको मावि र क्याम्पस एकाइ अधिवेशन सम्पन्न भएपछि नेविसंघ अध्यक्ष महरले १० असोजमा कपिलेश्वर यादवलाई महामन्त्री र अन्य १४ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । पार्टीले समन्वयका लागि दिएको जिम्मेवारीअनुसार महासमिति सदस्य सुभाष पोखरेलको पहलमा ७७ वटै जिल्लाका अधिवेशनहरू गर्न जिल्ला प्रतिनिधिहरू खटाउने निर्णय गरे पनि चिठी र पत्र दिइएको थिएन ।

पार्टी केन्द्रीय कार्यसमितिले नेविसंघ विधान पारित नगर्न प्रदेश क्षेत्रीय समिति र जिल्ला समिति अधिवेशनहरू प्रभावित भएका छन् । २१ असोजमा जिल्ला अधिवेशन गर्ने कार्यसूची सकिँदैछ । सोही दिन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । पहिले सोमबारलाई बोलाइएको केन्द्रीय कार्य समिति बैठक आइतबार बोलाइएको छ । सो बेठकमा नेविसंघ विधान पारित गर्ने वा नगर्ने बिषयमा छलफल वा निर्णय भए पनि नेविसंघको अधिवेशनलाई प्रभावित पार्ने देखिन्छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यसअघि २८ भदौका लागि बोलाइएको थियो ।

सभापति देउवाले उक्त बैठक तयारी नपुगेको बताउँदै स्थगित गरेका थिए । ९ भदौको बैठकले पार्टी विधान संशोधन मस्यौदा समितिमा दुई जिल्ला सभापति थप्ने निर्णय भएको थियो । त्यसअघि ७ भदौमा बसेको बैठक पनि स्थगित भएको थियो । केन्द्रीय सदस्य धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे र हृदयराम थानीले बैठक एक्कासी स्थगित भएको बारेमा आफूहरूलाई कुनै जानकारी नभएको बताए ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
  • २०७५ आश्विन २२, ११: १३

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले...

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
  • २०७५ आश्विन २२, ११: १३

काठमाडौं : बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।...

आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
  • २०७५ आश्विन २२, ११: १३

काठमाडौँ : आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४...