पार्टीमा व्यक्तिगत चरित्र र स्वार्थीपन हाबी भएकोले आगामी नेतृत्व हाम्रो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पार्टीमा व्यक्तिगत चरित्र र स्वार्थीपन हाबी भएकोले आगामी नेतृत्व हाम्रो

किन फेरि एउटै मालामा बाँधिए तीन कोइराला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा रहेका कोइराला परिवारका तीन नेताले पार्टीमा गुट उपगुट मौलाएको भन्दै त्यसलाई समुल नष्ट गर्ने बताएका छन् । ६ महिनाअघि बिराटनगरमा गएर कोइराला परिवारका तीन सदस्यहरुले एउटै फूलको मालामा बाँधिएर आफूहरु कहिल्यै विभाजित नहुने र पार्टी भित्रको गुट, उपगुटलाई हटाउने घोषणा बीरगञ्ज गएर गरेका हुन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बीरगञ्जमा आयोजना गरेको फोटो प्रदर्शनीमा महामन्त्री डा. शशांक कोइराला, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला एउटै माला लगाएर एकताको सन्देश पार्टीमा दिन खोजेका छन् । कोइराला परिवारको वीरासत जोगाउन यतिवेला कोइराला परिवारका तीन सदस्यहरु शशांक, शेखर र सुजाता एकै मञ्चमा बारम्बार देखिन थालेका छन् ।

गिरिजाप्रसाद र शुशील कोइरालाको निधनपछि पार्टीमा कोइराला परिवारका सदस्यहरुको प्रभाव कम भएको विश्लेषण गर्दै उनीहरुले पुरानो संस्थापन पक्षका नेता रामचन्द्र पौडेललाई बिस्तारै पाखा लगाउन थालेका छन् । आफ्नो समूहसँग सरसल्लाह र सहमति भन्दा सभापति शेरबहादुर देउवासँग बार्गेनिङ गरेको भन्दै कोइराला परिवारका सदस्य यतिवेला पौडेलसँग रुष्ट बनेका हुन् । आगामी महाधिवेशनमा कोइराला परिवारका एक सदस्य जसरी पनि सभापतिमा उठ्ने योजनामा छन् ।

सभापति देउवालाई कमजोर बनाउने रणनीति बमोजिम संस्थापन पक्षइत्तरका प्रभावशाली नेताहरुलाई निवास मण्डिखाटारमा बोलाएर हप्तैपिच्छै दिवा भोज आयोजना गरेकी नेतृ सुजाताले पछिल्लो समय पीता गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको फाउण्डेसनमार्फत राजनीतिक गतिविधिलाई तिब्र बनाएकी छिन् । उनको यो अभियानमा गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वअर्थमन्त्री डा. रामशरण महतले समेत साथ र समर्थन दिएका थिए ।

कोइराला परिवारका सदस्यसँगै मिलेर सभापति देउवालाई कमजोर बनाउने अभियानमा सबैभन्दा बढी अर्जुननरसिह केसी र युवा नेता गगन थापा बढी सक्रिय छन् । उनीहरुले निर्वाचनमा पार्टीको पराजयको मूल कारण पनि पार्टीभित्रको गुट उपगुट नै भएको दावी गरेका छन् । गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रदर्शनी र विचार गोष्ठीमा कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुट उपगुटले ग्रस्त कांग्रेसभित्र सुधार नगरी अगाडि बढ्न नसकिने दाबी गरे ।

उनले पार्र्टीको शीर्षस्थानको जिम्मा पाए आफू त्यसो गर्न तयार रहेको दावी गरेर आगामी महाधिवेशनमा सभापतिको दाबेदार भएको खुलस्त पारेका छन् । गत निर्वाचनमा कांग्रेस हारेको नभई आफ्नै साथीहरूको कारण हारेको उनको दाबी थियो । पार्टीको गुटको राजनीति अन्त्यका लागि पटक पटक सभापतिलाई आफूले भनेपनि सुनुवाई नभएको गुनासो महामन्त्री कोइरालाले गरेका थिए ।

अर्का केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पनि अब तदर्थवादमा पार्टी अगाडि बढ्न नसक्ने भन्दै कांग्रेसको भविष्य अब पुराना नेताबाट मात्र सम्भव नभएको बताए । तर उनले आफूलाई भने सत्तरी बर्षको भए पनि कामको आधारमा युवाभन्दा बढी काम गर्न सक्ने दाबी गरे ।

कांग्रेसका व्यक्तिवादी चरित्र र स्वार्र्थीपन नेता कार्यकर्तामा हावी भएको, जातीयता र सांप्रदायिक संस्कार अपनाएको आरोप डा. शेखरको थियो । उनले मुलुकमा भ्रष्टाचार, वेथिति, बढेको र न्यायालय पछि अब कम्युनिष्ट सरकार नेपाली सेनालाई कमजोर पार्न लागेको आरोप लगाए ।

कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसभित्र हल्ला भएजस्तो कोइराला नेताहरुमा वेमेल नभएको बताइन । उनले ‘बाहिर चलाइएको हल्ला जस्तो हामीमा केही फुट छैन । हामी सबै एक र्छौं’ उनले भनिन् । वर्तमान दुइ तिहाइको सरकारलाई सही बाटोमा ल्याउन र संघीयता मास्न नदिन कांग्रेस वाहेक अरु कसैले नसक्ने उनीहरूको भनाइ छ । संघीयता धरापमा पार्ने खेल पनि सुरु भएको भन्दै यो सरकारका बारेमा कोइराला परिवारका तीनै सदस्यले नकारात्मक धारणा राखेका छन् ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ फाल्गुन ६, ०९: ४८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ फाल्गुन ६, ०९: ४८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ फाल्गुन ६, ०९: ४८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...