कांग्रेसले नसम्झिएरै अपमान गर्यो गिरिजाप्रसादको – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेसले नसम्झिएरै अपमान गर्यो गिरिजाप्रसादको

काठमाडौ । नेपाली कांग्रेसमा १३ बर्ष सभापति भएर नेतृत्व गरेका र १५ बर्षसम्म महामन्त्री भएर संगठनलाई गाउँ र व्यक्तिसम्म फैल्याउन योगदान दिएका शान्ति नायक गिरिजाप्रसाद कोइरालाको योगदानलाई छायाँमा पार्न कांग्रेस नै लागेको पार्टीका नेतादेखि कार्यकर्ता र शुभेच्छुकसम्मले गुनासो गरेका छन् ।

कोइरालाको नवौं स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालयले कुनै पनि औपचारिक कार्यक्रम नगरी उनको योगदानको अपमान गरेको छ । गिरिजाप्रसाद कोइरालाको नवौ स्मृतिमा विविध कार्यक्रम गर्न नेतृत्वले नचाहनुलाई गिरिजाप्रसादको योगदानलाई पार्टीले अनुशरण गर्न नरुचाएको बुझिन आएको छ । कोइराला कांग्रेसमा करिव ३० बर्ष र नेपालको राजनीतिमा २० बर्षसम्म राजनीतिको केन्द्रविन्दु र नेतृत्वमा रहेर काम गरेका थिए ।

कोइरालाको योगदान नेपालमा शसस्त्र जनयुद्धमा होमिएर १७ हजार नेपालीको ज्यानहरण गर्न तत्कालिन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन गरेको योगदान र चुनौति ऐतिहासिक छ । कोइरालाको योगदान त्यति मात्र होइन, मुलुकमा समावेसी प्रणालीको सूत्रपात, संघीय राज्य प्रणालीको घोषणा र गणतन्त्रको घोषणा गर्न सक्ने राजनेता पनि हुन् । आफू कार्यकारी प्रधानमन्त्री भएकै समयमा उनले राष्ट्राध्यक्षको अनुभवसमेत लिएका थिए ।

नेपाली कांग्रेसको तर्फबाट पाँच पटक प्रधानमन्त्री भएका कोइरालाले कांग्रेसलाई जीवन्त पार्टीको रुप दिन भौतिक संरचना पनि आवश्यक हुन्छ भन्ने बुझेर नै एक रोपनी क्षेत्रफल ओगटेको पाँच तले पार्टी कार्यालय पनि सानेपामा निर्माण गरी छाडेका थिए । कांग्रेस पार्टीका हरेक कार्यकर्ता र नेतालाई रक्तसचारको काम गर्ने गिरिजाप्रसाद कोइरालाले अघि सारेकै शान्तिपूर्ण राजनीति र सिद्धान्तको राजनीतिक कार्यदीशाबाटै मुलुक अघि बढी रेहेको छ ।

तर, उनै कोइरालालाई बर्षदिनमा एक पटक पनि सम्झन नसक्ने कांग्रेस नेतृत्वले कृतघ्न काम गरेको धेरैको गुनासो छ । २०५९ सालमा हाल सानेपामा स्थापना हुने पार्टी केन्द्रीय कार्यालयको सिलान्यास समारोहमा गिरिजाप्रसाद दिएको मन्तव्य झै आजको अवस्था भएको छ । उनले घर बनाएर यसलाई प्रयोग गर्न र पार्टी तथा नेताको योगदानको अनुशरण गर्न नसकिए आलिसान भवन मुर्दाघरमा परिणत हुने आशंका व्यक्त गरेका थिए ।

कोइरालाले व्यक्त गरेको त्यो अवधारणा उनको निधन भएको ९ बर्षपछि त्यही भएको छ । उनको नवौं स्मृति दिवसमा औपचारिक कार्यक्रम समेत गर्न नसक्ने कांग्रेसको नेतृत्वले उनै गिरिजाप्रसादले अघि सारेको सहमति, सहकार्य र एकता मार्फत शान्तिपूर्णबाटो बाटै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल बनाउने कार्यदीशा कार्यान्वयन गर्नेमा धेरैले आशंका व्यक्त गरेका छन् ।

कोइरालालाई पार्टीको नेतृत्व गरिरहेका सभपाति शेरबहादुर देउवाले मात्र होइन, उनकै परिवारका सदस्यले पनि नसम्झेको गुनासो आमरुपमा छ । तर पनि कोइराला परिवारका उदयीमान नेता डा. शेखर कोइरालाले भने स्मृति दिवसको भोलीपल्ट गिरिजाप्रसादकी पुत्री सुजाता कोइराला अध्यक्ष भएको गिरिजाप्रसाद कोइराला फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा पार्टीले नै गिरिजाप्रसादलाई अबमुल्यन गरेको गुनसो गरे ।

कोइरालाको नवौं स्मृतिकै दिन भने सभापति देउवा, कोइराला पुत्री सुजाता, भतिजाहरु महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइरालाले पनि कतै औपचारिक कार्यक्रम गरेनन् । कोइराला परिवारका सदस्यहरुले भने पार्टीले गिरिजाप्रसादको नवौ स्मृति दिवसको अवसरमा औपचारिक कार्यक्रम आयोजना गर्ने भएकोले त्यसदिन कार्यक्रम नराखेको बताएका छन् ।

तर पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जिल्लाहरुलाई नै कार्यक्रम गर्न ७५ जिल्लामै पत्राचार गरिएको बताए । जिल्ला सभापतिहरुले भने गिरिजाप्रसाद कोइराला मात्र होइन कांग्रेसका सबै संस्थापक नेता, पार्टीका पूर्वसभापति, पूर्वमहामन्त्री र महत्वपूर्ण योगदान दिएका पार्टीका पुराना नेताको स्मृति र जन्म दिनको दिन कार्यक्रम गर्न एकमुष्ट निर्देशन दिने गरेको जिल्ला सभापतिहरुले जनाएका छन् ।

गिरिजप्रसाद कोइरालाको नवौ स्मृतिको दिन उनैले शिलान्यास र उद्घाटन गरेको पार्टी कार्यालय भवनमा उनको एक तस्वीर ढोकाबाहिर राखेर कार्यालयका कर्मचारीले फूल अविरले श्रद्धाञ्जली दिनेभन्दा अन्य कार्यक्रम नगरिनुले पनि कोइरालाप्रति वर्तनमान नेतृत्वको वितृष्णा वा अवमुल्यनको रुपमा धेरैले लिएका छन् ।

पार्टी केन्द्रीय सदस्य समेत रहेका डा. शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालालाई अबमुल्यन गरेर कांग्रेसले गिरिजाप्रसाद कोइरालाको योगदान मात्र होइन, कांग्रेस र समग्र मुलुकको इतिहासलाई मास्ने षडयन्त्रमा लागेको बताएका छन् । डा. शेखर कोइरालाको यो भाष्यले नै देखाउँछ कि बर्तमान नेतृत्व गिरिजाप्रसादप्रति कति अनुदार व्यवहार गरिरहेको छ भनेर ।

शान्तिका महानायक र गणतन्त्रका भिष्मपीतामह भनेर उपमा दिइएका कोइरालालाई पार्टीले नै सम्झन नसक्नुले आफ्ना पूर्ववर्ती र पार्टीका पुराना नेताको योगदानको अवमुल्यन र अपमान गर्नु नै हो भनेर धेरैले बुझ्न थालेका छन् । यो घटनलाई संयोगभन्दा पनि सुनियोजित हो कि भन्ने धेरैले बुझेका छन् ।

गिरिजाप्रसादको सच्चा अनुयायी र उनको पथप्रदर्शक मान्नेहरु तथा गिरिजाप्रसादको निगाहबाट आफ्नो जीवनयापन गर्ने र राजनीतिमा स्थापित हुने दर्जनौं नेता, कार्यकर्ता र अन्य वर्गका व्यक्तिले समेत उनलाई सम्झने फुर्सद निकालेनन् । गिरिजाप्रसादले अघि सारेको शान्तिपूर्ण राजनीतिबाटै संघीय लोकतान्त्रिक गणतन्त्रबाटै मुलुकको राजनितीक कार्यदीशा तय गरेको अहिलेको सरकारले समेत कोइरालाको स्मृतिमा कुनै कायृक्रम आयोजना गरेनन् ।

गिरिजाप्रसादको सत्ता र शक्तिको राप तापमा आफ्नो भविश्य र उन्नति गरेकाहरुले उनलाई नसम्झीए पनि गिरिजाप्रसादको जीवनको उत्तरार्धमा राजनीतिक सारथी बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र जनआन्दोलनको समयमा केन्द्रबिन्दुको भूमिकामा रहेका तत्कालिन पार्टी जिल्ला सचिव र सभापति भिमसेनदास प्रधानले मात्र उनलाई सम्झिएको पाइन्छ ।

सिटौला आफू प्रमुख अतिथि भएर रामप्रसाद अधिकारी अध्यक्ष भएको गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले चैत सात गते साँझ माइतिघर मण्डलामा दीपप्रज्वलन कार्यक्रम गरेर गिरिजाप्रसादलाई स्मरण गरेको थियो ।

त्यस्तै प्रधान अध्यक्ष भएको जीपी कोइराला कलेजले औपचारिक कार्यक्रम आयोजना गरी गिरिजाप्रसादको योगदानको चर्चा भएको थियो । केन्द्रले गिरिजाप्रसाद कोइरालालाई नसम्झीए पनि विभिन्न जिल्लामा भने उनको स्मृतिमा विविध कार्यक्रमहरु आयोजना गरिएको थियो ।

गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीको रुपमाप रहेका शेरबहादुर देउवा उनै कोइरालाको निगाहमा आफ्नो राजनीतिक उचाई र प्रभाव बढाएका हुन् । तत्कालिन पार्टी सभापति बीपी कोइरालाकै निगाहबाट २०२९ सालमा नेपाल विद्यार्थी संघको माहाधिवेशनबाट अध्यक्ष बनेका देउवा ३७ सालको जनमतसंग्रह पछि राजनीतिक जीवनबाट विरत्तिएको बेला बेलायत अध्ययनको अवसर दिने कोइराला परिवार नै थियो ।

२०४५ सालपछि मात्र बेलायत अध्ययनबाट नेपाल फर्किएका देउवाले किसुनजीको निगाहबाट मात्र केन्द्रीय सदस्य हुने अवसर पाएका थिए । उनलाई प्रधानमन्त्रीमा निर्वाचित भएका पार्टी महामन्त्री गिरिजाप्रसाद कोइरालाकै निगाहमा गृहमन्त्री हने अवसर पाएका थिए ।

२०५२ सालमा कांग्रेसको नेतृत्वमा राप्रपासँग लिमेर संयुक्त सरकार गठन हुँदा उनै गिरिजाप्रसाद कोइरालाले देउवालाई प्रधानमन्त्री बनाएका थिए । तर २०५८ सालमा गिरिजाप्रसादले तत्कालिन राजा ज्ञानेन्द्रसँगको मनमुटावपछि प्रधानमन्त्रीबाट राजिनामा दिनु भयो र देउवाले आफ्नो पृथक शैली प्रस्तुत गरे ।

उनले राजपरिवारसँग प्रतिष्पर्धा भन्दा पनि निकटताको व्यहार प्रस्तुत गरेर पार्टीको लगामबाहिर गएर संसदबाट संकटकाल लगाउन खोजेपछि तित्तता चुलिएको थियो । उनै देउवाले २०५९ साल जेठ ९ गते प्रतिनिधिसभा भंग गरी असार ४ गते आफै कांग्रेसको सभापति भएको स्वघोषणा गरी पार्टी विभाजन गरेका थिए ।

नेपाली कांग्रेस प्रजातान्त्रिकको नाममा संगठन गरेका देउवाले त्यसबेलै आफूलाई कोइराला कांग्रेस हुनुभन्दा रोयल कांग्रेस नै ठीक भन्दै हिँडेका थिए । राजा ज्ञानेन्द्रको प्रतिगमनकारी कदमपछि गिरिजाप्रसाद कोइराला आन्दोलन गर्दै गर्दा देउवा भने आफूलाई प्रधानमन्त्र ी बनाएर गोरखाका राजाले न्याय दिए भन्दै हिँडेका थिए ।

उनै गिरिजाप्रसादसँगको प्रतिष्पर्धाले टाढिएका देउवा २०५७ सालमै गिरिजाप्रसाद कोइरालासँग सभापतिमा प्रतिष्पर्धा गरेर करिव पाँच सय बढी मतान्तरले पराजित भएका थिए । तर देउवालाई उनै कोइरालाले जनआन्दोलन २०६२÷०६३ मा उनै देउवालाई साथमा लिएर पछि २०६४ मा देउवालाई आफू लगत्तैको बरिष्ठ नेता बनाएर कांग्रेसमा देउवाको पार्टी समाहित गराएका थिए ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ चैत्र ११, ०८: १६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ चैत्र ११, ०८: १६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ चैत्र ११, ०८: १६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...