
लोकतन्त्रको गहनाको रुपमा रहेको साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यम धरापमा परिसक्दा पनि लोकतन्त्रवादी पत्रकारहरुको नेतृत्व गर्ने संस्था बेखबर हुनु दुखद् हो ।
लोकतन्त्रबादी पत्रकारहरुले श्रमजीवि पत्रकारहरुको साझा मुद्धालाई समयसापेक्ष बनाउन र पेशागत स्वतन्त्रताको संरक्षण गर्ने उदेश्यले २८बर्ष अगाडी गठन भएको संस्था हो नेपाल प्रेस युनियन । देशको राजनैतिक परिवर्तनका लागि अनेकौं समस्या र चुनौति झेल्दै लोकतन्त्रवादीहरुको संस्था नेपाल प्रेस युनियन देशैभर शाखा गठन भएको हुँदा यसले व्यापकता पाएको छ ।
प्रेस युनियन यहाँसम्म आईपुग्नमा अग्रजहरुको सकारात्मक भूमिकालाई कसैले पनि विर्सनु हुँदैन् । युनियनको गरिमा, प्रतिष्ठा र मर्यादालाई सँधै उँचो राख्न अग्रजहरुले खेलेको भूमिका र दिएको योगदानका कारण आज युनियन श्रमजीवि पत्रकारहरुको साझा र अग्रणी संस्थाको रुपमा स्थापित भएको छ । लोकतन्त्रमा मात्र श्रमजीवि पत्रकार त्यसमा पनि सञ्चारकर्म गर्नेहरुको पेशागत सुरक्षा र भविष्य उज्वल हुन्छ भन्ने सास्वत विश्वव्यापी मान्यता अनुरुप यो संस्थाप्रति धेरैको पसिना, मेहनत र योगदानलाई हामीले सदा स्मरण गर्नुपर्ने हुन्छ । प्रेस युनियन आफैमा एउटा संस्था मात्र नभएर गौरवमय संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ ।
लोकतन्त्रबादीको आचरणमा श्रमजीवि संचारकर्मीको रुप र भेषमा देखिएका केही स्वार्थी मनोभावना र मनोदशा बोकेकाहरुले यसलाई कहिलेकाँही विवादमा तान्न मात्र होइन भँजाउने दुस्साहस गरेको देखिन्छ । प्रेस युनियन स्थापना गर्नुको उदेश्य, लक्ष्य जति पबित्र र स्वच्छ छ, त्यति नै यसलाई दुरुपयोग गरी आफ्नो स्वार्थसिद्ध गर्ने प्रयासहरु पनि नभएका होइनन् । आफूलाई मै हुँ भन्ने लोकतन्त्रबादी संचारकर्मीहरुले समेत तत्काल लाभ हानी र स्वार्थलाई केन्द्र्रबिन्दुमा राखेर प्रेस युनियनको भूमिकालाई गौण र कम आंकलन नगरेका होइनन् । लोकतान्त्रिक एउटा दल नेपाली कांग्रेस सत्ता बाहिर रहँदा प्रेस युनियनप्रति घृणाभाव फैल्याउने उद्त हुनेहरु हुन वा आफूलाई व्यवसायिक पत्रकार हुँ भन्नेहरु यि सबैले व्यक्तिगत स्वार्थ र आफ्नो सुविधाका लागि प्रेस युनियनको सिँढी चढेको देखिन्छ ।
हिजो प्रेस युनियनलाई पार्टीको ट्याग लागेको छ भन्नेहरु आफूलाई राजनीतिक नियुक्ति लिँदा होस वा कुनै अवसर लिनुपर्ने बेलामा त्यही प्रेस युनियनको सिफारिस खोज्न आएका दर्जनौं घटना र अनुभव मेरा लागि सँधै ताजा रहिरहने छ । आँखिर संस्था भनेको कुनै व्यक्ति रिसाउनु वा खुसी हुनुले त्यति धेरै अर्थ राख्दैन । तर नेपालमा आम पेशाकर्मीहरुमा पेशागत अहंकार र दम्भ बढ्दै गएको छ । आफूलाई पत्रकार हुने बित्तिकै राज्य र गैरराज्य क्षेत्रका हरेक व्यक्ति वा संस्थाबाट विशेष सहुलियत पाउनुपर्छ भन्ने मानसिकता बोकेकाहरुबाट युनियनलाई उपयोग मात्र होइन, दुरुपयोग भइरहेको पाइन्छ ।
तथापीे सञ्चारकर्मीहरुको प्रतिष्ठित र राम्रो छाप छोड्न सफल युनियनलाई केहीले राजनीतिक नियुक्ति पाउने भाँडाको रुपमा प्रयोग नगरेको पनि होइनन् । २०४८ साल जेठ १३ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रेरणाबाट स्थापना भएको युनियनमा यतिबेला क्रियाशील श्रमजीवि पत्रकारहरुको सक्रियता कम हुँदै गएको देख्न पाईन्छ । यसको विस्तार देशब्यापी रुपमा भयो तर आजपनि दैनिक र साप्ताहिक समाचारपत्र तथा अखबारको सम्पादन कार्यमा रहेका, फोटो पत्रकार, कार्टुनिष्ट, पत्रिकाको डिजाइनर र भाषा सम्पादनलाई समेट्न सकेको अवस्था छैन । देशव्यापी प्रशारण पहुँच भएका टेलिभिजन र रेडियोका सबै रिपोर्टर, समाचारबाचक र समाचार वाचिकाहरु, कार्यक्रम सञ्चालकहरु र प्राविधिकहरुलाई प्रेस युनियनले समेटेर श्रमजिवीहरुको साझा संस्थाको रुपमा बनाउन सक्नुपर्दछ ।
पछिल्लो समयमा बहुमत प्राप्त सरकारले साना तथा स्वरोजगारमुलक सञ्चारमाध्यमलाई नियन्त्रण गरी आफुअनुकुल बनाउने र अनुकुल बन्न नसक्ने सञ्चारमाध्यमलाई घोत्रेठ्याक लगाउने रणनीति तय गरेको देखिन्छ । त्यसका बावजुत पनि पत्रपत्रिका तथा न्यू मिडियाहरु जिनतिन सञ्चालन भइरहेका छन् । तर तिनको संरक्षणमा प्रेस युनियनजस्ता संस्था लागि पर्नुपर्ने हुन्छ । तर विडम्बना वर्तमान केन्द्रीय समिति म्याद सकिएको ट्यावलेट त्यसमा पनि साना तथा स्वरोजगार मिडिया सञ्चालक अथवा श्रमजिवीहरु यो कार्यसमितिमा नभएका कारण हालको परिस्थितिको मूल्यांकन गर्न सक्ने क्षमतामा निकै कमी देखिन आएको छ । तथापी आजको २१औं शताब्दीको युग डिजिटल युग हो ।
यस्तो अवस्थामा आजका यूवा–यूवती इन्टरनेटको पहुँच र प्रयोगमा लिप्त छन् । अनलाईन मिडियामा देखिएको विश्वव्यापी पहुँच र लोकप्रियतालाई कसरी समेट्ने भन्ने विषयमा प्रेस युनियनले अध्ययन र विश्लेषण गरेर आगामी दिनमा आफ्ना योजना र उदेश्यहरु स्पष्ट पार्न जरुरी छ । न्यु मिडियाको रुपमा आएको अनलाइन मिडियालाई व्यवस्थित गर्ने र पेशागत, मर्यादा र उतरदायित्वभित्र कसरी बाँध्न सकिन्छ भन्ने चुनौति बढ्दै गएको छ । डिजीटल सेवाको प्रयोगबाट कतिपय व्यक्तिले पस्कने अश्लिल शब्द, तस्वीर र भिडियोले समाजमा बिकृति समेत फैल्याउन सक्छ । अनलाईनको कुन माध्यमको प्रयोग संचारमाध्यम हो र के सामाजिक सञ्जाल हो भनेर छुट्याउन गाह्रो भइरहेको बेला नेपाल प्रेस युनियनले आफ्नो आचार संहिता र सीमालाई स्पष्ट पार्ने बेला आएको छ ।
लोकतान्त्रिक मुल्य–मान्यता, संसदीय सर्वोच्चता, न्यायायिक स्वतन्त्रता, विधिको शासन तथा व्यवसायिक र स्वतन्त्र प्रेसको मुलमर्म र भावनालाई प्रेस युनियनले बोक्न सक्नुपर्छ । आज लोकतन्त्रको मूल प्रवाहमा आएको कम्युनिष्ट पार्टीले आफूलाई सच्चा प्रजातन्त्रबादी भएको दाबी गरिरहेका छन् । उनीहरुको क्रियाकलाप उदेश्यभन्दा फरक र नेपाल कम्युनिष्ट पार्टीको नामसँग मिल्दोजुल्दो हुँदै गएको छ ।
हिँजोका दिनमा स्वतन्त्र र पूर्ण प्रेस स्वतन्त्रताको कुरा गर्ने, वकालत गर्ने र जेलनेल खाने सहकर्मीहरु त्यस्तो पवित्र उदेश्यलाई भुलेर केवल प्रेसको दायित्व, उत्तरदायित्व, आचार संहिता, व्यक्तिगत स्वतन्त्रता र सीमाको पाठ घोकाई रहेका छन् । लोकतन्त्रमाथि न्यायालय, कानुनी क्षेत्र, पेशाकर्मी, प्रशासन क्षेत्र, सुृरक्षा क्षेत्र र व्यवसायिहरुलाई अंकुस र नियन्त्रण गर्ने वा आफूअनुकूल बनाएर हस्तक्षेपको प्रयास भइरहँदा प्रेस युनियनलाई पत्तो नहुनु बिडम्बना हो ।
दुई तिहाईको जनमतको उपयोगभन्दा पनि यसको आड र खोलमा कलुसित भावना, उदेश्य र मनसायले प्रेसलाई स्वतन्त्र विचारहरुको प्रतिस्पर्धा गराउनुको सट्टा नियन्त्रणमुखि र गुणगान तथा भक्तिभावको आशाबाट प्रेरित गर्न खोजिएको विषय अन्तर्राट्रिय जगतमा चासोको विषय बन्न सक्छ । तर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित प्रेस युनियनले वर्तमान अवस्थाको बारेमा जानकारी गराउन नसक्नु उसको बोद्धिकता र क्षमताको कमजोरी नै हो । यस्तो अवस्थामा लोकतन्त्र कमजोर नहोला र यसका अंगहरु एकपछि अर्को कमजोर हुँदै नजाँला भन्न सकिन्न । चौतर्फी काला बादलहरु मडारिँदै गर्दा प्रेसले स्वतन्त्र ढंगले आफ्नो दायित्व पुरा गर्न सक्दैन ।
स्वतन्त्र प्रेसको अभावमा लोकतन्त्र पनि सुदृढ हुन सक्दैन । यस्तो चुनौतिपूर्ण समयमा अव लोकतन्त्रबादी श्रमजीवि पत्रकारहरु एकजुट जरुरी छ । लोकतन्त्र नै संकटमा परेको बेला प्रेस स्वतन्त्रता र मौलीक हकअधिकार, रक्षाको लागि प्रेस युनियनको भूमिका उल्लेखनीय हुनुपर्दछ ।
जसरी पञ्चायतकालमा बहुदलिय व्यवस्थाको लागि लडेका राजनीतिक दलका क्रियाकलापलाई साप्ताहिक पत्रिकाले दिएको योगदानलाई स्मरण गर्ने हो भने पनि आउने सम्भावित चुनौतिलाई लोकतन्त्रवादी दलको सारथी तिनै साप्ताहिक पत्रिकाहरु र साना मिडिया अनलाइन र रेडियो तथा टेलिभिजन हुने कुरा स्पष्ट छ ।
व्यवसायिकताको नाममा ठूलो लगानी भएका मिडियामाथि सरकारले व्यापारी र व्यवसायीमाथि अंकुस र नियन्त्रणमुखी व्यवहार प्रस्तुत गर्न सक्ने सम्भावना बढ्दै गएको छ । तसर्थ, साना लगानीमा खुलेका साप्ताहिक पत्रपत्रिका तथा न्यू मिडिया, टेलिभिजन, रेडियोको भूमिका प्रतिपक्षका लागि सारथी बन्न सक्छन् ।
प्रेस युनियनलाई अब सच्चा लोकतन्त्रबादी श्रमजीवि पत्रकारहरुको साझा संस्था बनाउनका लागि प्रेस युनियनमा केही सुद्धताको जरुरी छ । महाधिवेशनको मिती नजिकिदै गर्दा अपारदर्शी ढंगले सदस्यता वितरण खारेज, संस्थाको आर्थिक पारदर्शी तथा पदाधिकारीहरुको कार्यविभाजन र दायित्व स्पष्ट पार्न जरुरी छ । युनियनको पदाधिकारी र सदस्यता प्राप्त गर्ने मापदण्ड पनि स्पष्ट पार्नु जरुरी छ । संचारमाध्यमप्रति उत्तरदायि हुन नसकी नेपाली कांग्रेसका नेताहरुप्रति उत्तदायि बन्ने प्रबृत्ति र संस्कारको अन्त्य हुन जरुरी छ ।
युनियनले आफूलाई प्रेस स्वतन्त्राको हिमायति बनाउन सक्नुपर्छ तर युनियनका केही नेतृत्व वर्गमा पुगेका सहकर्मी साथिहरुको गतिविधि र क्रियाकलाप हेर्ने हो भने कांग्रेसको भातृ संस्था वा पार्टीको कुनै तहको जिम्मेवार पदाधिकारीको रुपमा देखिनु सन्तोषजनक कुरा होइन ।
प्रेस स्वतन्त्रताका हिमायतिहरुको संस्था लोकतान्त्रिक बिचार, आदर्श र आचरण बोकेको राजनीतिक दलसँग निकट हुन सक्छ । तर युनियन त्यही लोकतान्त्रिक आदर्श र आचारण बोकेको दल कांग्रेसको भातृ संस्थाकै रुपमा परिणत हुनु हुँदैन । यसले पेशागत मर्यादा र व्यवसायिकताको मर्मलाई प्रहार गर्छ । यसको विशिष्ट, बेग्लै पहिचान र गरिमा बनाउन सक्नुपर्दछ । यसको प्रकृति अनुसार नै कुनै दलको भातृ संस्था बन्न गएमा यसका सदस्यहरुले स्वतन्त्र प्रेसको वकालत गर्न सक्दैनन् । लोकतन्त्र संस्थागत गर्नका लागि स्वतन्त्र प्रेसको महत्वपूर्ण भुमिका हुन्छ ।
प्रेस युनियन र यसका पदाधिकारी कांग्रेसको आदर्श र विचारप्रति उत्तरदायी हुन सक्छन । किनकी कांग्रेस यस्तो राजनीतिक दल हो, जसको आदर्श, बिचार, उदेश्य, यसले अंगिकार गरेको नीतिहरु वाक स्वतन्त्रता, मानवअधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, संसदीय सर्वोच्चता र शक्तिपृथकीकरणको सिद्धान्तप्रति प्रतिवद्ध छन् । यसो भन्दैमा कांग्रेसको कार्यकर्ता जस्तै प्रेस युनियनका सदस्यहरु पनि त्यस्तै भएमा उसले स्वतन्त्र प्रेसको मर्मलाई आत्मसाथ गर्न सक्दैन ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रेस युनियनका जिम्मेवार पदाधिकारीको गतिविधि, अभिव्यक्ति र आचरणले कांग्रेसप्रति उत्तरदायी नभएर व्यक्तिप्रति बढी उत्तदायि हुँदै आएको छ । व्यक्तिप्रति उत्तदायि हुने नाममा उसको पक्षपोषण गर्ने र फरक विचार राख्ने अरु नेताको बिरुद्ध बिष बमन गर्ने प्रवृति बढ्दै गएको छ । पार्टीमा देखिएका आधा दर्जन गुट र उपगुटको पक्षपोषण गर्ने, चाकडी गर्ने र मन नपरेको नेतालाई सत्तोसराप गरी खुइल्याउने भूमिकामा प्रेस युनियनमा आबद्ध व्यक्तिहरुलाई सुहाउने कुरा होइन् ।
प्रेस युनियको गरिमा र महत्वलाई बुझेर युनियका नेतृत्व तहमा रहेका व्यक्तिहरुले संख्यामा भन्दा गुणमा बढी ध्यान दिनुपर्ने हुन्छ । संख्या बढाएर नेतृत्व हत्याउने नाममा युनियनलाई बद्नाम गर्ने र व्यवसायको रुपमा दुरुपयोग गर्न दिनुहुन्न । शुद्ध र गुणस्तरिय व्यवसायिक पत्रकारहरुको संस्थाको रुपमा यसलाई बिकास गर्न लोकतन्त्रवादी पत्रकारहरु सँधै कटिबद्ध हुन जरुरी छ ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...