भविष्यमा नेपालको सरकारी सेवालाई नै भताभुङ्ग पार्ने किसिमको समायोजन भएकोले गर्दा हामीले बेलैमा सचेत गराएका हौं – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भविष्यमा नेपालको सरकारी सेवालाई नै भताभुङ्ग पार्ने किसिमको समायोजन भएकोले गर्दा हामीले बेलैमा सचेत गराएका हौं

डा. शुशिल मोहन भट्टराई

नेपाल कम्युनिष्ट पार्टीको सरकार यतिबेला बहुमतमा छ । बहुमतकै आडमा सरकारले विभिन्न निर्णहरु गदै आएको छ । विवादीत निर्णयहरु पनि सरकारबाटै ढाकछोप हुँदै आएको छ । त्यस्तै निकै समस्याको रुपमा रहेको कर्मचारीतन्त्रलाई केन्द्र, संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरेर समायोजन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

समायोजन कार्य निकै विवादीत र बन्दै गएतापनि कर्मचारीहरु खटाएको स्थानमा जाने क्रम जारी छ । तर पछिल्लो समायोजन कार्यअनुसार चिकित्सकहरुको पनि सरुवा र समायोजन गर्ने कार्य भइरहँदा सम्बन्धित चिकित्सकहरुनै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुको माग अनुसार समायोजन र सरुवा नगरेको भन्दै अस्पताल बाहिरनै बिरामीको उपचार गर्ने र आन्दोलन गर्ने गरिरहेका छन् । यिनै समसामयिक विषयमा केन्द्रीत रहेर नयाँ विकल्प साप्ताहिकका लागि डा. शुशिल मोहन भट्टराईसँग पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अंशः

तपाईहरु बिरामी जाँच्न छोडेर आन्दोलन गरीरहनुभएको छ नि किन ?
एकदमै विषम परिस्थितिमा हामीलाई आन्दोलनमा उत्रिन बाध्य पारिएको हुँदा हामी आन्दोलनमा उत्रिनु परेको हो ।

तर तपाईहरुको आन्दोलन बेमौसमी बाजा जस्तो भएन र के लाग्छ यहाँलाई ?
सरकारको चरम लापरवाही र सरकारले हाम्रो चिकित्सक समाजलाई नै एक किसिमको आघात पुग्ने काम गरेको छ । एउटा सरकारी डाक्टर मात्र नभएर पछिल्लो केही दिनमा सम्पूर्ण चिकित्सक विरुद्ध नै सरकार लागेको भन्ने स्पष्ट धारणाहरु सरकारबाट आइसकेको हुँदा सरकारी चिकित्सकको मात्र लडाइ नभएर सम्पूर्ण चिकित्सकहरुको लडाई हुन पुग्यो ।

सरकारी सेवा सुविधा लिने अनि सरकारले खटाएको ठाउँमा नजाने कारण के हो ?
नेपालका सरकारी चिकित्सकहरु संसारमै सबभन्दा न्यून तलब सुविधामा काम गर्छन । नेपालभित्रै निजामति र सरकारी चिकित्सकहरुको यदि तपाईले सेवा सुविधाको बाँडफाँड राम्रोसँग हेर्नुभयो भने सरकारी चिकित्सकहरु अत्यन्तै हेपिएका, पेलिएका र अहिले त नीतिगत रुपमै पाखा लगाइएको पेशामा परेको अवस्था छ ।

के उसोभए तपाईहरु सरकारले गरेको समायोजन मान्न तयार हुनुहुन्न होइन त ?
हामीले समायोजनमा अवरोध सिर्जना गरेको होइन । हामी सरकारले खटाएको ठाउँमा जान्छौ तर हामीलाई खटाउने चाँही एउटा सवल सक्षम नेतृत्व र अहिलेको अवस्थामा समायोजनको प्रयोग जुन यो संघीयताको प्रयोग गर्नको लागि चिकित्सा पेशा र त्यसमाथि पनि सरकारी डाक्टरलाई मात्रै सरकारले रोजेको छ, त्यसको हामीले विरोध गरेका हौैैैैं ।

डाक्टरको वृद्धि विकास विभिन्न किसिमका पेशाको एउटा संवेदनसिल पक्षहरु छन् । त्यसलाई नसमेटिकन हचुवाको भरमा प्रयोग गर्ने नाममा सरकारी चिकित्सकलाई समायोजन गरिएको छ, जुन अरु निजामति कर्मचारीहरुलाई सरुवा पनि नगरेर हामीलाई मात्र एकदमै पाखा लगाएर विरोधाभास प्रवृत्तिले हेप्ने गरिएको छ । हो, त्यसको विरोध हो यो हाम्रो ।

नेपालका डाक्टरहरु दिनको समयमा सरकारी अस्पतालमा काम गर्दागर्दै किन निजी क्लिनिकहरुमा धाउनु हुन्छ त ? अनि दुवै हातमा लड्डु भएन त ?
सरकारी चिकित्सकलाई नेपाल सरकारले नै निजी क्षेत्रमा अभ्यास गर्ने अनुमति दिएको छ । केही अस्पतालहरुमा इमरजेन्सी हेल्थ सर्भिस (भ्ज्क्) अस्पतालमै सञ्चालन हुन्छ । जसमा राती ९÷१० बजेसम्म पनि सरकारी चिकित्सक सरकारी अस्पतालमै प्राइभेट अभ्यास गरेर बस्छन् ।

त्यस बाहेक नेपाल सरकारको अनुमति लिएर जुन नेपाल सरकारको नीति नै छ, प्राइभेट अभ्यास गर्न दिने । तलब भत्ता नेपाल सरकारको धेरै न्यून छ । प्राक्टिकल्ली सोच्नुपर्छ कि एउटा नेपाल सरकारको तलबले महिनाभरी खाजा खाने पैसा पनि पुग्दैन सरकारी चिकित्सकलाई । दैनीकी हजार रुपैयाँ भन्दा कम ज्यालामा नेपाल सरकारको सरकारी चिकित्सकहरु काम गरिरहेका छन् । त्यसकारण निकै तलब सुविधा कम भएका कारण पनि निजी क्लिनिक जानुपर्ने बाध्यता छ ।

तर तपाईहरुले बिरामीहरुको पिर मर्काको बारेमा बुझ्नुपर्ने हो नि होइन र ?
एउटा कुरा के बुझ्नुपर्छ भने चिकित्सकलाई दोष, आरोप, प्रत्यारोप लगाउने प्रवृत्ति नेपालमा सरकार पक्षबाटै भइरहेको छ । र पब्लिकमा पनि यसको स्केलिङ राम्रोसँग भइराखेको छैन । सञ्चार क्षेत्रले पनि आन्दोलन भएपछि मात्रै सरकारी चिकित्सक पेशालाई मानवताको प्रश्न उठाउनुहुन्छ ।

हामीले यत्रो दिनदेखि ढकढक्याइ रहँदा छलफल गरिरहँदा हामीलाई साथ दिन किन कोही आउनु भएन ? के हामीहरुले गलत कुरा उठाएको हो ? के यो चिकित्सक पेशा संवेदनशील पेशा होइन ? यसलाई कसरी परिचालन गर्नुपर्छ । यसमा राज्यको स्पष्ट नीति हुनु पर्छ कि पर्दैन त्यो हामीले मात्र जान्ने कुरा हो र ?


तर सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डाक्टरहरु गएनन् भने नजानेहरुलाई हटाएर भएपनि अर्को डाक्टर भर्ना गर्छु भन्नुभयो नि त ?
सामान्य प्रशासन मन्त्रीको टिप्पणी हामीले पनि बुझिसक्यौ । सरकारका बहालवाला, पुर्वमन्त्रीहरु, सरकारका उच्च पदस्थ कर्मचारीहरको टिप्पणी सरकारी डाक्टरलाई मात्रै छैन । उहाँहरुको तुषलाई मुलुकी ऐनको सरकारी डाक्टरले विरोध गरेका छन् । सरकारलाई जहिले पनि गलत पाटोमा जानबाट हामी जस्ता पेशाकर्मीले रोक्ने गर्छौ ।

यो एउटा एक क्षणको निर्णय होइन । समायोजन भनेको एक क्षणमा गरिने कुरा होइन । समायोजन हतारमा गरिएको छ, त्यसले नै के स्पष्ट हुन्छ भने सरकारले आफ्नो कार्य सम्पादन देखाउनको लागि मात्रै गरिएको समायोजन हो । भविष्यमा यसले नेपालको सरकारी सेवालाई नै भताभुङ्ग पार्ने किसिमको समायोजना भएको छ । यसलाई हामीले बेलैमा सचेत बनाएका हौं । त्यतिबेला उहाँहरुले सुन्दै नसुनेर अहिले हामीलाई धकेलेर कुनामा पारेर घाँटी च्यापेपछि हामीले आन्दोलन गर्न बाध्य भएका हौं ।

त्यसोभए नेपाल मेडिकल एसोशिएसनसँग सहमति गरेपछि फेरी तपाईहरु किन पछाडि फर्कनु भयो त ?
हामी ब्याक भएका छैनौ । नेपाल मेडिकल एशोसियसनले पछिल्लो दुई, तीन दिनको कारणबाट अवस्था आएको हो । नेपाल सरकारबाट गैरजिम्मेवारीपूर्ण टिप्पणीहरु आउने गरेका छन् । सरकारी डाक्टरहरु ५ लाख तलब सुविधा खान्छन्, गाडि सुविधा भोग्छन्, डाक्टरहरु खत्तम भए, अब खाडी जाउ भन्ने जस्ता शब्दले मन्त्रीहरुलेनै यसरी टिप्पणी गर्न थालेका छन् ।

जुन देशमा १० वर्षदेखि उहाँहरुका साइकलबाट, प्राडो, पजेरोहरु नै रेमिट्यान्सको पैसाबाट आउने कुरा सबैलाई प्रष्ट रुपमा थाहा छ । खाडी जाने जस्ता शब्द प्रयोग गरेर यति तलसम्म झारेर डाक्टर पनि गए हुन्छ खाडी, किन नजाने डाक्टर पनि जान्छन् ? खाडी गइरहेकै छन् । तर उहाँहरुले यति तल झारेर कुरा गर्नुहुन्छ भन्ने हामीले सोचेको थिएनौं । यो एउटा सरकारी चिकित्सकको मात्र मुद्दा होइन, यो हामी सबै चिकित्सकको मुद्दा हो भनेर एनएबलले आन्दोलनको लिड लिने काम गरेको हो ।

त्यसो हो भने तपाईहरुले कि त जाँगिर छोड्ने कि त सरकारले खटाएको ठाउँमा जाने बाहेक अर्को विकल्प के हुन सक्छ ?
यसमा सरकारको षड्यन्त्र यही छ । सरकारी चिकित्सकलाई कसरी हुन्छ, समायोजनमा पेलेर हुन्छ, कानुनमा जालझेल, षड्यन्त्र गरेर हुन्छ, उहाँ हुन्छ कि यहाँ हुन्छ, आफै राजीनामा दिन लगाएर हुन्छ, बद्नाम गराएर हुन्छ उहाँहरुले आफ्नो अभिष्ट पुरा गर्ने एउटा षड्यन्त्र रचि रहनुभएको छ । सरकारले यसमा गुमराह बनाई दिएको छ ।

सरकारले बुझ्न खोजीरहेको छैन । दुस्मनी सरकारी डाक्टरसँग साँधी रहेको छ, तर मतियार कसलाई बनाइरहेको छ, जसले सरकारी डाक्टरहरुलाई सिध्याउन खोजिरहेको छ । त्यो षड्यन्त्रबाट सरकार बच्नुपर्छ, सरकारी डाक्टरलाई सिध्याएर, धरासयी बनाएर नेपाली स्वास्थ्य सेवा अगाडि बढ्न सक्दैन र सरकार पनि अगाडि बढ्न सक्दैन ।

त्यसोभए तपाईहरु अहिलेको अवस्था अस्पतालमा गएर बिरामीको उपचार चाँही गर्नुहुन्न होइन त ?
पछिल्लो ६÷७ दिनमै हामीले बिरामीहरुको उपचारलाई जारी राख्दै, उपचार गर्दागर्दै, विरोध प्रदर्शन गरेका हौं, हड्ताल पनि गरेका छैनौं । अत्यावश्यक सेवाहरु, बिरामीको ज्यान बचाउने, दुःख परेका बिरामीहरुलाई उद्वार गर्ने कार्यहरु जारी छ । बारा, पर्सामा बन्द पनि गरेका छैनौं । यो एउटा चिकित्सक आन्दोलनको महत्वपूर्ण पक्ष हो ।

हामीले हड्ताल गर्दाखेरी बिरामीहरुको ज्यान जान दिदैनौं । बिरामीहरुलाई केही दुःख भएको हो । तर यो दुःख किन ? चिकित्सकहरु किन आन्दोलनमा जान्छन् त भन्दा यसको भविष्य कोसँग जोडिएको छ, चिकित्सकले यदि आफ्नो सेवा, सुविधा अवसर नै माग्यो । तर अहिले त हामी सेवा, सुविधा नमागेर मात्र काम गर्ने वातावरण मिलाइदिनुप¥यो भनेर आन्दोलन गरेका हौ ।

तर सरकारका मन्त्रीहरुले त काम गर्ने वातावरण मिलाइसक्यौं भन्छन नि त ?
सरकार बोल्ने र बिर्सिने प्रवृत्तिमा गइरहेको छ । क्षणिक अभिव्यक्तिहरु दिने, सपनाहरु देखाउने, त्यसपछि मैले त भनेकै थिइन भनेजसो गरेर भित्तातिर फर्कने प्रवृत्ति सरकारले देखाएको छ । बारम्बारको सहमति र सहकार्यलाई तोडिएको अवस्था छ ।

सरकारले यदि ठोस रुपमा, लिखित रुपमा सहमति गर्छ भने अहिले पनि हामी तयार छौं । अझ त्यो पनि छोडौं । एउटा कमिटी बनाएर निक्र्यौल गर्ने वातावरण बनाइदिए हामी वार्तामा जान्छौं । हामीले निजी क्लिनिकमा उपचार गरीरहेका छैनौ, सरकारी केन्द्रमा पनि बिरामीहरुलाई उपचार सेवा दिन नै यो आन्दोलन गरिरहेका छौं ।

सरकारी अस्पताललाई तहसनहस पार्ने, निजी क्लिनिकमा गएर काम गर्ने गम्भीर आरोप लागेको छ नि यहाँहरुलाई के भन्नुहुन्छ ?
होइन यो प्रश्न तपाई सरकारलाई पनि तेस्र्याउनुहोस्, सरकारी चिकित्सक आन्दोलनरत भएको अवस्थामा पछिल्लो सात दिनको अवस्थामा कतिवटा प्राइभेट हस्पिटलरुको उद्घाटनमा सरकारी मन्त्रीहरु गए त्यो पनि हिसाब माग्नुपर्छ सेवा क्षेत्रले तपाईहरुले यो प्रश्न सरकारतिर पनि तेस्र्याउनुस् ।

सरकारी चिकित्सक आन्दोरत रहँदा सरकारी अस्पतालहरु धरासयी हुने अवस्था आइरहँदा सरकारी मन्त्रीहरु कहाँकहाँ उद्घाटनमा गइरहेका थिए । सञ्चार जगतले अभिलेख जनतासामु देखाउनुपछृ । हामीलाई मात्र दोष लगाएर हुँदैन ।

सम्बन्धित समाचार

Retiros y verificación en 55Bet Casino: plazos y límites de 10.000 € al día
  • २०७६ बैशाख २, ०७: ०३

diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...

Gransino Ongoing Promotions for Regular Players Explained
  • २०७६ बैशाख २, ०७: ०३

Regulars at Gransino have more than one way to keep a bonus running: a weekly reload of 50% up to...

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०७६ बैशाख २, ०७: ०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...