काठमाडौं । तनहुँमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ । डेंगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ ।
शनिबार मात्रै एघार जनामा डेंगु पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ । अन्य दिनको तुलनामा यो बढी हो । हालसम्म एक सयको हाराहारीमा मानिस डेंगु सङ्क्रमणबाट प्रभावित भएका छन् । उन्नाइस बिरामीको रगत प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा डेंगु पोजेटिभ भेटिएको हो ।
एक बालकसहित दश जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने एकजना आफ्नै घरमा गएको दमौली अस्पतालका सघन उपचार कक्षका अहेब राजेश क्षेत्रीले जानकारी दिएका छन् । डेंगुका बिरामी भर्ना भएसँगै अस्पतालमा अन्य रोगका बिरामीलाई भर्ना गर्न शय्याको अभाव देखिएको उनले बताए ।
अस्पतालमा उपचार आएका बिरामीमध्ये केही दिनयता दैनिक पाँचरसात जनामा डेंगु पोजेटिभ देखिन थालेको बताइएको छ । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय ५० जनासम्म ज्वरोका बिरामी हुने गरेका छन् ।
उच्च ज्वरो आएका, जीउ दुख्ने र बान्ता गर्ने बिरामीको पहिलो चरणको एनएस–१ परीक्षण गर्दा डेंगु भेटिएको हो । उनले भने “आइडिजी र आइजिएम परीक्षणको लागि पोखरा पठाउनुपर्ने हुन्छ ।” उक्त आइडिजी र आइजिएम परीक्षण गर्दा डेँङगुका बिरामीको अवस्था र कति दिनको भयो भन्नेबारे जानकारी पाउन सकिने उनले जानकारी दिए ।
पन्ध्र शय्या क्षमताको अस्पतालमा चालीस शय्यासम्म राखेर सेवा दिँदा पनि शय्याको अभाव हुँदा अन्य प्रकृतिका बिरामीलाई भर्ना गरी राख्न कठिनाइ भएको उनले बताए । डेंगुबाट बच्नको लागि टोल–टोलमा गएर अझै मानिसमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको सो अस्पतालले जनाएको छ ।
ज्वरो आएमा जथाभाबी यान्टिबायटिक औषधि सेवन नगर्ने, सिटामोल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रमा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव सल्लाह दिइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अभिनन्दन तिवारीले जानकारी दिए ।
आफ्नो घर वरिपरि सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...