गोरखा झ्यावाको बशिष्ट गोत्रीय दवाडी बंशको कूलायन पूजाको संस्मरण – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
यात्रा स्मरण

गोरखा झ्यावाको बशिष्ट गोत्रीय दवाडी बंशको कूलायन पूजाको संस्मरण

गोरखा जिल्लाको मध्यपश्चिम भागमा अवस्थित झ्यावा अजिरकोट गाउँपालिका ४ नम्वर वडामा अवस्थित पहाडी भू–भाग हो। दरौँदी नदीको पश्चिम सिमजुङमा अबस्थित झ्यावा अजिरकोट गाउँपालिका बन्नु अघि सिमजुङ गाउ बिकास समितिमा पर्दथ्यो । झ्यावा बसोबासी मध्ये बशिष्ठ गोत्रीय दवाडीहरुको नेपालको सबैभन्दा बाक्लो बसोबासी क्षेत्र हो। दवाडीहरुको अर्काे बसोबासी क्षेत्र लमजुङको बिचौर र दैलेखको दवाडा हो। पहिलो बसोबासीस्थल दैलेखको दवाडा नै भएकोले त्यहीँबाट धेरै दबाडीहरु काठमाडौं, चितवनका साथै नेपालका विभिन्न जिल्ला र भारतमासमेत बसाईं सराई गरेको झ्यावा बसोबासीहरु बताउँछन।

गत माघको अन्तिम साता अजिरकोट झ्यावा सिमजुङ निबासी दयानिधि दवाडीले बंशको नाताले फोनबाट सम्पर्क गरी ‘यही २०७९ फागुन १२ गते झ्यावामा दवाडी बन्धुहरुको कूला पूजामा जान समय मिलाउनु होस मसँगै लिएर जान्छु टाढा भएपनि सहज छ, जसरी पनि मिलाउनु होला’ भन्नू भयो। ‘अरु को को जानुहुन्छ?’ भनेर मैले जिज्ञासा राखेँ ।

‘काठमाडौं तिरबाट भक्तपुरका कांग्रेस नेता रामप्रसाद दवाडी, कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, भक्तपुर खरीपाटी निबासी समाजसेबी एवम् ब्यवसायी कांग्रेसकै निष्ठाबान मेरामित्र बिश्वराज खड्का र दवाडी बंश अध्येता भक्तपुरकै सुबोध दवाडीलाई निमन्त्रणा गरेको’ बताउनु भयो । चितवनबाट भरत दवाडीलगायत अन्य जिल्लाहरुबाट पनि दाजुभाई उपस्थित हुने जानकारी गराउनु भयो। यो बन्धु भेटमा जान म पनि लालायित भए ।

मेरो सिमजुङसँगको साईनो नेपालको राजनीति बिकासको क्रममा २०३७ को जनमत संग्रहले जोडिदिएको थियो। सिमजुङ गाऊँमा जनमत संग्रह गराउन नियतिले मलाइ मतदान अधिकृत बनाएर पुर्याएको थियो। त्यही समयदेखि दवाडी बंशको नेपालको सबैभन्दा ठूलो बस्तीमा पुग्ने अबसरले बन्धुहरुको माया सद्भाव पाएको सस्मरण बेला बेलामा भएता पनि जान पाएको थिइनँ।

त्यतै लाग्ने निश्चित गरेर राम प्रसाद दाई, मधुजी र बिश्वजी जस्ता साथीसँग भ्रमण गर्न पाउनु पनि सौभाग्य नै हो । भक्तपुर बालकोट निबासी राम प्रसाद, जो हाम्रो बंशको नेता हुनु हुन्छ, सोही ठाउँबाट दवाडी बंशका अध्ययनकर्ता सुबोध दवाडी (जो मलाइ ‘बुवा’ले सम्बोधन गर्नुहुन्छ), चितवन निबासी भरत दवाडी, जो बशिष्ठ गोत्रीय अध्ययन अनुष्ठानका अध्यक्ष छन् र सो सम्बन्धमा निरन्तर कार्यरत छन्,जाने खबर पाएँ ।

पूर्बप्रदेश सभासद प्रकाश दवाडी पनि जाने खबर पाएपछि मैले हाम्रै बंशका चर्चित बरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडीलाई पनि सहभागी गराउन प्रयास गरेँ । तर उनी लोकतन्त्रबादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेश पुनियनको उपत्यका प्रदेश समितिको अधिवेशनको तयारी र अन्य जरुरी कामले जान नसक्ने बताए। हामी फागुन १० गते बिहान दयानिधिका आफन्त परिवारसहित काठमाडौंबाट हिड्यौ,काग्रेस केन्द्रीय सदस्य नेता मधु आचार्यको सहभागितामा ।

हामी साँझ पख झ्यावा पुग्यौं । त्यहाँको कुलायन पूजा काठमाडौंभन्दा भिन्न प्रकारले एक बृहत् महोत्सबको रुपमा हुने रहेछ । कूलायन पुजाको लागि सबै घरका आफ्ना नातागोता साथी–भाई सबै आमन्त्रण गरिने चलनले रहेछ जसले गर्दा सबै दवाडीका घर मात्र नभएर पुरै झ्यावाका घरहरु खचाखच भरिएको थियो ।

हामी दयानिधिको घरमा पुग्यौ। घरमा उहाँका बाबा आमा सहितले हाम्रो राम्रो आतिथ्यता दिनु भयो । चिटिक्क परेको घर आगनमा पनीको धारा घरसँगै जोडिएको गोठ र ५÷६ वटा गाई ,घर नजिकै सौंचालय, घर अगाडि तरकारी खेती वरिपरि फराकिलो बारी स्वच्छ बाताबरण मझ्यौला खालका बोट बिरुवा आँगनकै डिलमा परेबाको गुँड, घरसँगै पुगेको सडक देख्दा मलाई २०३७ सालको सिमजुङको यादले तुलना गर्न बाध्य बनायो ।

तुलनात्मक रुपले सिमजुङको जनजीबनमा निकै सहजता र परिबर्तन भएको निक्र्याेल निकालेँ। त्यो बेला म आफुले बोक्न सके जति भारीको झोला बोकेर गोरखा सदरमुकामबाट बिहान ६ बजे हिँडेर साझको ९÷१० वजे दिनभरको थकान पसिना र लम्काईले झ्यावा पुगेको थिएँ। त्यो बेला हामी २५-३० कर्मचारीले माओबादीको आक्रमणले सहिद बनाईएका स्वर्गीय बिष्णु दवाडीको आगनमा तामाको खडकुलामा पकाएको भात, मासको दाल र सागको तरकारी झण्डै मध्यरतमा खाएर दवाडी बन्धुका नाताले अतिथ्यता पएका थियौं र

यो पटक पनि त्यसै गरि तामाकै खडकुलामा दयानिधिको घर अगनमा दाल, भात, साग र पुरानो लप्सीको अचार दयानिधिकै दिदी–बहिनी, ज्वाइँ। भिनाजु, फुपु–फुपाजू, ठुलीआमा, सानीमा, भाञ्जा–भाञ्जी, उहाँका आफन्त एवम् आमन्त्रितका साथ रमाईलो बाताबरणमा खायौं।

भौतिक सुबिधा परिबर्तन भएपनि सामजिक सद्भाव भने अक्षुण रहेछ झ्यावा सिमजुङका दवाडीहरुको । साँझको खानापछि झ्यावामा होमस्टे प्रचलनमा आएका रहेछन् । हाम्रा लागि घरेलु भिडभाडको बाताबरणबाट अलग्याउन होम स्टे बुक गरिएको रहेछ। हाम्रो बास होम–स्टेमा भयो । होम स्टे सञ्चालकले पनि आदर एबम् सम्मानका साथ अतिथ्यता दिनुभयो ।

माघ ११ गते फागुन शुल्क तृतिया हरेक ७ बर्षमा झ्यावाका दवाडीहरुको कुलदेबताको पूजा हुने रहेछ । अघिल्ला वर्षमा कोभिडको कारणले कूल देवताको पुजा हुन सकेन । नवौं बर्षमा गरिएको जानकारी हामीले पायौं। हामी उठेर नित्य कर्म सकेर निस्कदा कूलायन पूजास्थान जानका लागि मानिसहरुले तयारी गरेका रहेछन्। बाटो खचाखच भरिदै थियो। कुलायन पूजाको अधिल्ला दिन रातभर नै सबै जागा जस्तै हुने रहेछन । रातमा कुलायनमा चढाउन, पाउनाको सत्कार गर्न सेल रोटी आदि पकाउने चलन रहेछ ।

बिहान पूजासामान सेल, पकवान डोकामा बोकेर महिलाहरु,बलीका बोकाहरु सहित पहिले जेठा खलकका सबै घरबाट पाहुना, बाजागाजासहित जम्मा भएपछि त्यसरी नै माइलाको खलक क्रमश कान्छो खलक निस्केर नाचगानसहित कुलायन पूजा स्थल जाने रहेछन्। हामी पनि अन्य अनमान्त्रित सरह नै सहभागी भयौं।

बिधि सम्मत रुमाल, मष्टा र मण्डलीनी प्रतिमूर्ति स्थापना गरि कुलायन पूजा गरिएको थियो । हरेक घरको ,बिबाह भएको, सन्तान लाभ भएको, बली चडाउने चलन त्यहाँका दवाडी बंशको रहेछ। साकाहारी बन्धुहरुले नरिवलको बली दिने प्रथा देखियो। बिधिबत बली चडाई पूजा समापन गरेर एकैसाथ घर फर्कनु पर्ने चलन आयोजकले बताए।

एकातिर कुलायन पूजा भइरहेकै अबस्थामा अर्काेतर्फ बशिष्ट गोत्र दवाडी बंश अनुसन्धान प्रतिस्ठान केन्दीय समितिले असी बर्ष पुगेका जेष्ठ बुवा आमाहरुको दोसल्ला ओडाई सम्मान गरेको थियो।
सो प्रतिष्ठानका अध्यक्ष समेत रहेका चितवन निबासी भरत दवाडी, दीननाथ–कृष्णकुमारी स्मृति ग्रन्थ बन्धुहरुको हातहातमा पुर्याई समितिले तयार गरेको बंशाबली, कुलायन पूजन विधि र दवाडी बंशका ऐतिहासिक उपलब्धि बारे अहिलेसम्म पाइएका तथ्यहरु प्रस्तुत गर्दै थिए।

देबालीका दिन बिहान भात भन्छा नहुने र घरका परिवार पूजा नसकिएसम्म खान–पिन गरिएको देखिएन। आगन्तुक आ–आफ्ना पाहुना पाछालाई भने पूजन स्थलमा नै सेल तरकारी आदिबाट भोक मेटिदिने ब्यबस्था गरिरहेका थिए। संपूर्ण पूजा सकिएपछि बली चडाएका बोका घर–घरमा लगि साँझमा प्रसादको रुपमा भोजन गरिने प्रचलन रहेछ । सो भोजनमा आफन्त गाउँका अन्य मानिसलाई निमन्त्रणा गरिने चलन रहेछ। सो दिन नभ्याएका र आउन नसकेका आफन्त साथी–भाई इष्टमित्रलाई भोलिपल्ट पनि आमन्त्रण गरिने प्रचलनले यो कुलायन पूजा पूजामात्र नभएर इस्टमित्र, दाजुभाइ आफन्त भेटधाट गर्ने प्रचलित प्रथा र परम्परा रहेछ।

झ्यावा कुलायन पूजामा राजनीतिक नेताहरुको उपस्थिति रह्यो। कुलायन स्थलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदेश सभासद सुरेद्र पाण्डे, केन्द्रीय सदस्य मधुआचार्य कांग्रेस नेता रामप्रसाद दवाडी, पूर्बप्रदेश सभासद प्रकाशचन्द्र दवाडी, अजिरकोट पालिकाका प्रमुख दिपक देबकोटा, बडाअध्यक्ष जङ्ग बहादुर गुरुङ लगायत दवाडीहरु, गोरखा, लमजुङ, चितबन र काठमाडौंका बिभिन्न दलका नेताहरुको बाक्लै उपस्थिति थियो। कुल पूजामा प्रधानमन्त्री पुस्पकमल दहाल ,उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई आमन्त्रित गरे पनि कार्य ब्यस्तताले उपस्थित हुन नसकेको पुजा आयोजकका तर्फबाट दयानिधि दवाडीले जनाए । उनले उहाँहरुबाट आएको शुभकामना सन्देश पढेर सुनाउनु भयो।

यसरी राजनीतिक बन्धु–बान्धवका साथै नातागोता, कुल–कुटुम्ब भेटघाटको अबसर दिलाउनाले यो कुलायन पूजा मात्र नभएर सबै बन्धु–बान्धव नेताहरु लगायतसँग समिप्यता बढाउने अबसर पनि रहेछ।

झ्यावा भ्रमणले गोरखा जिल्लाको महत्वपूर्ण स्थानहरु छेपेटार–दरौदी सडक, सिमजुङ–अजिरकोट–ध्यालचोक सिरानडाँडासहित प्राकृतिक दृष्यको अबलोकनको अबसर प्राप्त भयो। झ्यावा कुलायन पूजा बशिष्ट गोत्रिय बंशको एक पूजा आराधनामात्र नभएर एउटा महोत्सव नै रहेछ। कूलायन पूजा एक बंश गोत्रको मात्र नभएर अन्य बंश र गोत्रका नातागोता, सबै राजनीतिक दलका नेताहरु सहभागी हुने सामाजिक महोत्सबको रुपमा र बृहत् चाडको रुपमा दवाडी बंशले मनाउने परम्परा रहेछ ।

दीननाथ –कृष्णकुमारी स्मृति ग्रन्थले कुलायन पूजाका सम्बन्धमा रहेका अपभ्रम्सहरु चिरेर पूजाबिधि प्रकाशनले पूजामा एकरुपता र सरला ल्याएको छ।

अन्त्यमा, दवाडी बन्धुहरुको महत्वपूर्ण कुलायन पूजाको अवसरमा हामीलाई निमन्त्रणा गरेर बंश बारे चिनारी गराउने, अबलोकन गराउने प्रत्यक्ष पूजामा सहभागी गराई बंशको पहिचान हासिल गर्न अबसर प्रदान गर्ने दवाडी बंशको बंसावली उत्खनन्मा लागेर हाम्रो बंशका सत्य, तथ्य विवरण समेटिएको जानकारीमूलक पुस्तिका दयानिधि दवाडीले उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यबाद दिन चाहन्छु ।

 

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन १९, १७: ४५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन १९, १७: ४५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ फाल्गुन १९, १७: ४५

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...