
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै दर्जनौं युवाबाट ५ करोड बढी ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालिन सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।
संयुक्त राज्य अमेरिका पठाउन नक्कली भुटानी शरणार्थी बनाउँदै लाखौं रकम असुल गर्दै आएका राईसहित पूर्वमन्त्री टोपबहादुर रायामाझीका छोरा, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका तत्कालिन स्वकिय सचिव केशव दुलालबिरुद्ध पीडितहरुले ठगिएको भन्दै प्रहरीमा उजुरी दिएपछि मंगलबार बिहान ललितपुरबाट राई पक्राउ परेका हुन्।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले राई पक्राउ परेको पुष्टि गरे। नेकपा एमालेको उपाध्यक्ष बादल गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए। राई द्वन्द्वको विज्ञ भनेर चिनिन्छन्।
सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै यो गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका नेपाली नागरिकबाट रकम असुली गरेका थिए।
सो गिरोहलाई तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईले आर्थिक लाभ लिएर सहयोग गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। गिरोहमा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका छन्।
राईको ठगी धन्दा चलेको सूचना तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, धिरजप्रताप सिंह, तत्कालिन गृह सचिवहरु प्रेम राई र महेश्वर न्यौपानेलाई समेत अवगत थियो। तर, राजनीतिक दबाबका कारण उनीहरुले नेपाली नागरिकलाई भुटानी बनाउँछु भन्दै रकम उठाउने धन्दालाई रोक्न सकेका थिएनन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...