सरकारका सचिव पाण्डे शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दाको आरोपमा पक्राउ – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

सरकारका सचिव पाण्डे शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दाको आरोपमा पक्राउ

काठमाडौं । नेपाल सरकारका सचिव टेकनारायण पाण्डे नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरी ठगी गरेको प्रकरणमा पक्राउ परेका छन्।

हाल उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डेलाई गृह मन्त्रालयको सचिव हुँदा ठगी गिरोह सञ्जालन गरेकाहरुलाई सघाएको पुष्टि भएपछि प्रहरीले उनलाई बुधबार पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो।

गृह मन्त्रालयकै आडमा एक गिरोहले नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब नौ सय जनालाई ठगी गरेको थियो। जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईलाई मंगलबार पक्राउ गरेको थियो।

प्रहरीले यस अघि यो ठगी धन्दामा संलग्न रहेको भन्दै पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाको सचिवालयमा कार्यरत केशव दुलालसहित ५ जना पक्राउ परिसकेका छन्।

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दामा संलग्न पूर्वगृहमन्त्री थापाका तत्कालिन सल्लाहकार इन्द्रजित राई पक्राउ परेसँगै उनका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै करिव १० करोड बढी ठगी भएको उजुरी प्रहरीसमक्ष परिसकेको छ।

नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियोे।

प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझीका छोरा सन्दीप रायामाझीलाई समेत पक्राउ पूर्जी जारी गरेको छ। २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न बाटो देखाएका थिए।

पक्राउ परेकामध्ये भण्डारी ऊर्जामन्त्री रायमाझीका सहयोगी थिए। पक्राउ परेका दुलाल, भण्डारी, राई, गुरुङ र पोखरेलले बयानमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिक, इन्द्रजीतका छोरा निरज, एमाले नेता तथा पूर्वमन्त्री रायमाझी, गृहमन्त्रालयका पूर्वसचिवद्वय महेश्वर न्यौपाने र टेकनारायण पाण्डेको समेत नाम लिएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा पनि गिरोह सञ्चालन र रकम असुलीमा राई, रायमाझी, न्यौपानेलगायतको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पाइएको स्रोतको दावी छ । पूर्वमन्त्री रायमाझी, पूर्व गृहसचिव न्यौपानेलयागतका हाइ प्रोफाइलहरुविरुद्ध भने प्रहरीले कस्तो कारबाही गर्ला त्यो भने पर्खाइको विषय बनेको छ।

प्रहरीका अनुुसार ८ सय ७५ नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनेर दुलाल, भण्डारी र राईको समूहले ठगी गरेको खुलेको छ । उक्त समूहसँग इन्द्रजित राईले ५ करोड रुपैयाँ भन्दा बढी रकम लिएको खुलेको छ ।

नेपालीलाई भूटानी शरणार्थी बनाई ठगीधन्दामा धेरै भीभीआईपीहरु संलग्न रहेकोले मुद्दा कमजोर बनाउने आशंका गरिएको भन्दै संसदमा समेत प्रश्न उठाइएको थियो । ठगीमा संलग्न हाई प्रोफाइलमध्येमा इन्द्रजित राई पक्राउ परेसँगै अन्यको होसहवास उडेको छ । राई पक्राउ परेपनि उनका छोरा निरज भने नेपाल बाहिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अनुसन्धानका क्रममा नक्कली शरणार्थी बनाउने गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक प्रहरीले बरामद गरेको थियो । जुन चेकले रायमाझीले राईलाई सहयोग गरेको पुष्टि हुने प्रहरी नै बताउँछ। राईसँगै रायमाझी, उनका छोरा, पूर्वगृहमन्त्री बादलका छोरा र पूर्वगृहसचिव महेश्वर न्यौपाने पनि नक्कली शरणार्थी प्रकरणमा तानिनसक्ने स्रोतको दावी छ।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० बैशाख २०, १४: २०

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० बैशाख २०, १४: २०

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० बैशाख २०, १४: २०

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...