
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा हालसम्म एक सय ६ जना पीडितले २३ करोड ठगिएको उजुरी प्रहरीसमक्ष दिएका छन्।
यो प्रकरणमा प्रहरीले आलसम्म नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ।
विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरुले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको उजुरी दिएका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भन्दै सगठित गिरोहले २०७७ सालदेखि रकम उठाउने अभियान चालेको थियो। आफू गठिएको भन्दै गत जेठमा अपराध अनुसन्धान कार्यालयमा पहिलो पटक उजुरी परेको थियो। घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए।
प्रहरीले केही दिन पछि सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुको बयानका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले गृहका उच्च अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो।
सो प्रकरणमा प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो। प्रहरीले वैशख २० गते भने तत्कालीन गृहसचिव हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवम् नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट प्रहरीले सन्दीप रायामार्झीको नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ। प्रहरीले अहिले पनि सचिव रायमाझी र डा. राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ । नीरजले काठमाडौँका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरी स्रोतको भनाइ छ।
संगठित ठगी गिरोहले आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए। उनीहरुले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख असुलेका थिए। गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाएका थिए।
पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...