कांग्रेस परित्याग गरी जनमत प्रवेश गरे झापाको कमल गाउँपालिका सभापति न्यौपाने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेस परित्याग गरी जनमत प्रवेश गरे झापाको कमल गाउँपालिका सभापति न्यौपाने

काठमाडौं । नेपाली कांग्रेसको झापास्थित कमल गाउँपालिका सभापति बुद्धिराज न्यौपाने पार्टी परित्याग गरी डा. सीके (चन्द्रकान्त) राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका छन्।

पार्टीका जिल्ला सभापति देउवमान थेवेलाई संवोधन गर्दै विहीबार मात्रै ई–मेलमार्फत पार्टीको साधारण सदस्यबाट समेत राजिनामा दिएका न्यौपाने शुक्रबार जनमत पार्टी प्रवेश गरेका हुन् । जनमत पार्टीको केन्द्रिय कार्यालय शंखमुलमा आयोजित एक समारोहबीच न्यौपानेलाई जनमतका अध्यक्ष तथा सांसद डा. राउतले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।

२०४३ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका न्यौपाने गिरिजाप्रसाद कोइराला फाउण्डेस झापाको जिल्ला अध्यक्ष समेत हुन् । नेविसंघ झापाको कोषाध्यक्ष र तत्कालिन तोपगाछि गाउँपालिकाको पार्टी ईकाई सभापति समेत भएका न्यौपाने माओबादी द्वन्द्वको समयमा नेपालबाट बिस्थापित भएका थिए।

पूर्वगृह तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाका सहायक स्वकिय सचिवको भूमिका समेत निर्वाह गरेका न्यौपाने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मामा समकालिन नेता हुन्।

पछिल्लो समय सिटौला समूह परित्याग गर्दै डा. शेखर कोइराला समूहमा लागेका न्यौपानेलाई गत संघीय संसदको निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र छाडेर सुजाता कोइरालालाई जिताउन मोरङमा गएको भन्दै संघीय संसद र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले कारबाहीको समेत माग गरेका थिए।

पार्टीमा दुःख, मिहनेत र संघर्ष गर्ने कार्यकर्ताको कुनै मुल्याङ्कन नभएको, चाकडी र रकम खर्च गर्न सक्नेहरुले मात्र अवसर पाएको भन्दै न्यौपानेले तीन पेज लामो राजिनामा पार्टी सभापतिलाई पठाएको बताए।

यस्तो छ, उनको राजिनामा –

मिति २०८०–०२–२५

श्रीमान सभापतिज्यू,
नेपाली कांग्रेस
जिल्ला कार्यसमिति, विर्तामोड, झापा

विषयः पार्टीको साधारण सदस्यसहित सबै पदबाट राजिनामा गरेको सम्बन्धमा।
आदरणीय सभापतिज्यू,
मेरो जीवनको शैसवकालदेखि सुनौलो किशोरावस्था हुँदै करिव पाँच दशक बसन्त पार गर्दै गर्दा यस अवधिमा मैले देश र जनताको हित,भलाई, उन्नति र समृद्धिका लागि गरेका कठोर संघर्ष, यातना, पीडा अनि निरन्तर क्रियाशिल भएर गरेका योगदानको समिक्षा गर्ने गम्भीर घडिमा उभिएको छु।
लोकतान्त्रिक समाजवादका लागि आफ्नो सुखमय जीवन र वैभवलाई तिलाञ्जली दिएर नागरिकको स्वतन्त्रता र स्वाधिनताका लागि सतीसाल झैं नडगमगाई उभिएर नेपालका निरंकुस साशकका अघि उभिन सक्ने र देशको स्वार्थ र स्वाभिमनका लागि विश्वमै ख्याती कमाएका प्रथम जननिर्वाचित प्रधानन्त्री स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको संघर्षमय जीवनबाट प्रेरित भएर नेपाली कांग्रेसमा जीवन समर्पण गरेको थिएँ।
नेपाली नागरिकको स्वतन्त्रता, स्वाधिनता र सामाजिक न्यायका पक्षमा हरेक किसिमका सामाजिक, आर्थिक र राजनीतिक विभेदविरुद्ध विगुल फुक्ने गौरवमय क्रान्तिको नेतृत्व गरेको नेपाली कांग्रेसको एउटा इमान्दार पहरेदार भएर मैले आफना जीवनको उर्जावान समय व्यतित गरें । मेरो योगदान र कामको अवमुल्यन सदासर्वदा हुने र बीपी, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराईको योगदान र निष्ठालाई तिलाञ्जली दिँदै लोकतान्त्रिक समाजवादको मूलमर्मलाई नेपाली कांग्रेस र यसको नेतृत्वले कुल्चदै गएको अन्तरआत्माबाट महसुस गरेको छु।
मैले पार्टीमा गरेको योगदान, क्षमता, निरन्तरता, प्रतिबद्धता, चुनौति सामना गर्ने दृढ इच्छाशक्ति र समर्पण पनि ज्यान हत्केलामा राखेर संगठनका लागि दिएको योगदानको मुल्याङ्कन पार्टीको कुनै पनि तहको नेतृत्वबाट भएको पाउन सकिन् ।
प्रतिक्षाको फल अवस्य मिल्छ तर मैले कर्मको फल आशा गरिन । मेरो योगदानको सम्मान एक दिन पक्कै होला भन्ने आशामा मेरो जीवनका कैयन अमुल्य समय पार्टीमै समर्पित गरें । मेरो आफ्नै निजी स्वार्थ, घर, परिवार, श्रीमती, सन्तान अनि माता, पीताको खुसीको लागि कतिपय संवेदनशील कष्टपूर्ण र दर्दनाक परिस्थितिमा सहयोग गर्न नपाएकोमा कतै गल्ति पो गरें कि भन्ने कता कता महसुस हुन थालेको छ । तर मेरो जीवनका यावत उतारचढावपूर्ण घटना सबै अफसोच वा पश्चातापका घटना होइनन्, यी त सबै मेरो जीवनका अमुल्य शिक्षा, चेतना र सच्चा राष्ट्रबादी भएर झुपडीमा बसेर दुई छाक गुजारा गरिरहेका निमुखा गरिव नागरिकप्रति सेवा गर्ने प्रेरणाका स्रोत हुन्।
सभापतिज्यू,
पार्टीका हरेक निकाय र तहमा मैले न्याय, समानता र सम्मानपूर्वक भूमिका निर्वाह गर्दा समेत अबमुल्यन गर्ने गरेको, पार्टी नेतृत्वमा नाताबाद , कृपाबाद र चाकडीबाज विचौलियालाई विश्वास गर्नेहरुको बाहुल्यता रहेको, इमान्दार कार्यकर्ताले जीवनभर कुनै न कुनै बहानामा अवसर नपाउने गरेको, पार्टीको सिद्धान्त, नीति, आदर्श र विधान विपरितका कार्य हुँदा समेत नेतृत्व वर्ग टुलुटुलु हेरेर बस्ने गरेको, अकुत पैशा खर्च गर्न सक्ने नवधनाढ्य र विचौलियाले मात्र अवसर पाउने प्रथा हुर्कदै गएको छ । यस्तो अवस्थामा म र मजस्ता इमानदार र क्रियाशिल पार्टी कार्यकर्ताले नेतृत्वबाट अवमुल्यन हुने गरेको महसुस गरेको छु ।
कुसासन, बेथिति र अन्याय एबम् विभेदले सीमा नाघेको अवस्थामा कांग्रेसमा टाँसिरहदा आफैले आफैलाई झुक्याई रहेको महसुस अन्तर आत्माबाट हुन थालेको छ।
सभापतिज्यू,
मैले नेपाली कांग्रेसमा रहेर जीवनलाई जोखिममा पारेर गरेका योगदानप्रति पश्चाताप नगरी समिक्षा मात्र गर्ने चाहना गरेको हुँ। पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लागे बापत प्रहरी हिरासतमा मैले पाएको यातना होस् वा कांग्रेस भए बापत तत्कालिन बिद्रोही माओबादीको संभावित सफायाबाट बच्न बालबच्चा श्रीमती अनी अभिभावकलाई छाडेर सात समुद्र पारी अरबको खाडीमा बिताउनु परेको, यी सबै घटना मेरो जीवनका अविश्मरणीय र गर्व गर्न लायक घटनाको रूपमा स्मृतिमा ताजा छन्।
मलाई पश्चाता मैले पार्टीमा समर्पित भएर दिएको तन, मन धन र संघर्षपूर्ण योगदानको होइन, पश्चाताप त यसमा छ कि – जसले नेपाली नागरिकलाई गरिबी र विभेद अनि अन्याय र असमानताबाट मुक्ति दिन्छु भनेर कसम खाए तर तिनै नागरिकप्रति गद्दारी गरी धोखा दिने पार्टीका ठूला ठेकेदारलाई विश्वास गर्ने मेरो विगतको निर्णयप्रति।
पार्टीमा मौलाएको गुटबन्दी, नातावाद, जातिवाद र चाकडीवाजले सँधै अवसर पाउने तर गुट र नेताको सबै गल्ती कमजोरीमा सहयोग नगर्ने म र मजस्ता कांग्रेसका होनाहार नेता÷कार्यकर्ताले कहिल्यै अवसर नपाउने संस्कारको अन्त्य हुने स्थिति देखिएन । आज कांग्रेसका लाखौं लाख कार्यकर्ता पार्टी नेतृत्वले गरेका गलत निर्णयबिरुद्ध असन्तुष्ट छन् र व्रिदोहलाई दवाएर राखेका छन्। पार्टी भित्रको बिभेद र अन्यायलाई चीर्न मैले गरेका प्रयासहरु सबै निररर्थक लागिरहेको छ ।
सभापतिज्यू,
अब म विगतमा मैले गरेका गल्ती र भूल दोहोर्याउन चाहंँदिन। न म देउता र भगवान मानेको नेपाली नागरिकलाई धोखा दिन चाहन्छु। म त सच्चा एक नेपाली नागरिक जो जनताकै दुःख, दर्द, पीडा र बेथामा मल्हम लगाउने सारथी बन्न चाहान्छु।
तसर्थ, आजका दिनसम्म मैले नेपालीको कांग्रेसको आदर्श सिद्धान्त, योजना, कार्यक्रम र निर्देशन बमोजिम गरेका सत्कर्मप्रति गौरव गर्दै गलत निर्देशन र सल्लाहमा देश र जनतामाथि गरेको भूललाई स्मृतिमा राख्दै स्वाभिमानी नेपाली स्वाधीन नेपालको पक्षमा दृढतापूर्व उभिने निर्णय गरेको छु।
तसर्थ मेरो ईमान्दारीतापूर्वक गरेको कर्ममा साथ दिनु हुने कांग्रेसका नेता, शुभेच्छुक र मलाई कांग्रेसको सिपाहीको प्रतिमूर्ती सम्झिएर सहयोग गर्नु हुने सबैप्रति अनुग्रहित हुँदै नमन् गर्दछु। र अन्त्यमा मेरो आत्मालाई साक्षि राख्दै नेपाली कांग्रेसको साधारण सदस्यसहित सबै पद र जिम्मेवारीबाट आजका दिनदेखि अलग भई स्वतन्त्र नेपाली नागरिक भएर बाँकी जीवन नेपाली जनताकै पक्षमा समर्पित गर्ने जानकारी गराउँछु। सहयोगका लागि धन्यबाद ।
……………….
बुद्धिराज न्यौपाने
सभापति
नेपाली कांग्रेस, कमल गाउँ समिति
झापा, कोशी प्रदेश

बोद्यार्थः
नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमिति, विराटनगर ।
नेपाली कांग्रेस, झापा ५ नम्वर क्षेत्रिय कार्यसमिति, दमक ।

मेरो राजनीतिक पृष्ठभूमि
झापा जिल्लाको तत्कालिन तोपगाछी गाउँ पञ्चायत(हाल कमल गाउँपालिका)मा पर्ने समयगढस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा २०४३ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएर प्रजातन्त्रको पक्षमा सक्रिय योगदान दिएको।
२०४४ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा आईए (प्रमाणपत्र तह) अध्ययन गर्दा नेविसंघमा आबद्ध भई क्रियासिल भएको। २०४६ सालमा क्याम्पसमा अध्ययन गर्दै जनआन्दोलन एक्सन समितिमार्फत जनआन्दोलनमा सक्रियतापूर्व भाग लिएको र प्रहरीले गिरफतार गरी एक महिना प्रहरी हिरासतमा राखेको । २०४६ साल चैत २७ गते रिहा भएको ।
२०४७ सालमा नेपाल विद्यार्थी संघ तोपगाछस् गाउँ विकास समितिको गाउँ ईकाई सभापति निर्वाचित भएको।
२०४८ सालमा कांग्रेसको आठौं महाधिवेशनमा बुथबाट क्षेत्रिय प्रतिनिधि निर्वाचित।
२०५१ मा नेपाल विद्यार्थी संघ झापा जिल्ला कार्यसमिति कोषाध्यक्षमा निर्वाचित ।
२०५३ मा तत्कालिन नेकपा एमाले नेताद्वारा तत्कालिन तोपगाछी गाउँपालिकाको कार्यालय तोडफोड गरेको झूटा आरोपमा सार्वजनिक मुद्दा।
२०५३ मा नेपाल विद्यार्थी संघ झापा जिल्ला सभापतिमा प्रतिष्पर्धा गरेको ।
२०५७ मा पार्टीको १०औं महाधिवेशनमा तोपगाछी गाउँ ईकाई सभापतिमा निर्वाचित।
२०५८ मा माओवादीको आक्रमण र धम्कीपछि जिल्लाबाट विस्थापित भई काठमाण्डौं र भारतमा निर्वासन र त्यसको ६ महिनापछि खाडी मुलक वाध्य ्र
२०५९ मा प्रवासी झापाली सम्पर्क मञ्च दोहा कतारको सचिव ।
२०६२ सालमा कतारको दोहाबाट काठमाडौं फर्किएसँगै २०६२÷०६३ को दोश्रो जनआन्दोलनमा सक्रिय सहभागि।
२०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाको सहायक स्वकिय सचिवको रुपमा भुमिका।
२०७६ साल पुसमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन झापाको अध्यक्ष भएर हालसम्म क्रियाशिल रहेको ।
कोरोना महामारीको चपेटामा नागरिक परेको बेला कमल गाउँ पालिकाको सात वटै वडामा खाद्यान्न सामग्री र ओषधि तथा अन्य उपकरण राहतस्वरुप वितरण गरेको ।
२०७८ सालमा कांग्रेसको १४औं महाधिवेशनमा कमल गाउँ इकाईको पुन सभापतिमा निर्वाचित ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ २६, १९: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ २६, १९: ३९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ २६, १९: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...