
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस कोशीका प्रदेश प्रमुख उद्धव थापाले पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीलाई कारबाही गर्न माग गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार बोल्दै कोशी सरकारकाविरुद्ध आफ्नै नेताले अभिव्यक्ति दिएकामा थापाले आपत्ति जनाएका हुन्।
थापाले बुढाथोकीले गत मंसिर ४ गतेको चुनावमा झापा ४ मा कांग्रेस उम्मेदवार देउमान थेबेलाई हराउन कार्यकर्तालाई फोन र एसएमएस गरेको भन्दै कारबाही गर्न माग गरे।
थापाले बुढाथोकी चुनावको मुखमा भागेर अष्ट्रेलिया गएको, चुनाव सकिएपछि मात्र नेपाल फर्किएको भन्दै चुनावका बेला कार्यकर्तालाई म्यासेज गरेर देउमान थेबेलाई भोट नहाल्न भनेको पनि आरोप लगाए।
‘झापाका सभापति देउमान थेवेलाई भोट नदेऊ, हराऊ भनेर उहाँले फोन गरेको कांग्रेस कार्यकर्ताको मोवाइलमा रेकर्ड छ’ उनले भने, ‘कांग्रेसलाई संकट पर्दा भागेर जाने, अवसर पाउन ठूलो कुरा गर्ने, नेताहरुलाई हप्काउने, काम गरेका कार्यकर्तालाई हप्काउने यस्तो नेतृत्वले पार्टीको संगठनलाई कहाँ पु¥याउँछ?’, थापाले प्रश्न गरे।
चुनावको बेला अष्ट्रेलिया जानु भयो । झापाको सभापतिलाई भोट नदेउ भनेर फोनमा भनेका छन् । नेता भागेर अष्ट्रेलिया जानु भएका बुढाथोकीले झापा क्षेत्र नम्वर २ का गठबन्धनका आधिकारिक उम्मेदवारलाई हराउन सन्देश दिइएको थापाले जिकिर गरे।
कोशी प्रदेशको सरकार निर्माणमा सभामुख गरेको कार्यलाई लिएर गरेको टिप्पणीप्रति असहमति जनाए। उनले सभामुखले सभाध्यक्ष भएको बेला पक्षधरता लिएको नभई प्रदेश सभा सदस्यको हैसियतमा सरकार निर्माणको लागि एउटा अभिमत दिएको बताए।
उनले पार्टीको नेतृत्वले गरेको मुख्यमन्त्रीलाई नमानेर हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्री माने हुन्छ भनेर चुनौति दिए ।
‘हाम्रो पार्टी र नेताहरुले सरकारलाई स्थायीत्व दिन लाग्नु भएको छ तर पार्टीभित्रै हाम्रो नेतृत्वमा सरकार नबनोस् भन्ने, बनेको सरकारलाई पनि प्रश्न गर्ने केही नेताको अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाएको छ’ थापाले भने।
कोशीमा कांग्रेस नेतृत्वमा सरकार बन्दा कार्यकर्ताहरुमा ऊर्जा आएको र एउटा शक्ति निर्माण भएको भन्दै थापाले भने, ‘आज यो शक्तिलाई खुम्च्याउने काम पार्टीको नेतृत्व पंक्तिबाट हुँदा कांग्रेसको मन रोएको छ ।’
बुधबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बुढाथोकीले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्नु गल्ती भएको भन्दै कांग्रेसका कोशी प्रदेश सभापति समेत रहेका थापालाई मुख्यमन्त्री मान्ने कि नमान्ने भनी प्रश्न गरेका थिए। बिहीबार केन्द्रीय समिति बैठकमा बोलेका थापाले बुढाथोकीलाई जवाफ दिँदै आफूलाई मुख्यमन्त्री नमाने पनि हुने बताए ।
‘एउटा पार्टीको केन्द्रीय सदस्यले आफ्नो सरकारको नेतृत्वलाई बचाउनुपर्ने ठाउँमा मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने जो उहाँले प्रश्न गर्नुभयो । म भन्न चाहन्छु, तपाईंले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ, नेपाली कांग्रेसले निर्णय गरेको गठबन्धनको मुख्यमन्त्री उद्धव थापालाई मुख्यमन्त्री नमाने हुन्छ’ उनले भने ।
‘हाम्रो कोशी प्रदेशको सरकार निर्माणको कुरा छ, हामीसँग ४६ मत छ, प्रतिपक्षमा ४६ मत छ । त्यसकारण एउटा सदस्यको नाताले सरकारलाई डेडलक हुनबाट उहाँले रोक्नुभयो । निर्णयलाई अघि बढाउन अभिमत जाहेर गर्नुभयो । मतदान गर्नुभएको छैन’, थापाले भने ।
कोशीमा थापाले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर पनि प्रयोग गरेका थिए । सो विषयमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । सो मुद्दामा आफूले बुधबार लिखित जवाफ बुझाएको पनि थापाले बैठकमा सुनाए ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...