ज्ञान र अनुशासन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

ज्ञान र अनुशासन

– सुशीला अंगाईं

सुज्ञान आलोक अन्धकारको
सुमार्ग नै अनुशासन
यात्रा उज्ज्वल गन्तव्यको
आधारशिला अभिसिञ्चन ।

ज्ञान आलोकका ओज हो । प्रज्ञा हो । अन्धकारको दिप्ती हो । चेतनाको बिस्तार हो । वुद्धि, विवेक, धैर्य, नम्रता, सहनशीलता यसकै पहिचान हुन् । यिनैको गतिमानता कायम राख्छ अनुशासनले । प्रल्हादले जीवन दर्शनको रहस्य र अभिमन्यूमा चक्रव्यूह कलाको प्रवेश गर्भावस्थामै भएको थियो । एउटा बालकको उत्कृष्ट शिक्षा र असल संस्कार प्राप्तिमा घरपरिवार प्रमुख हुन्छ ।

ज्ञानको प्रथम पाठशाला नै घर हो । अनुशासन पारिवारिक वातावरणमा निर्भर हुन्छ ।
विद्यालय ज्ञान आर्जनको दोस्रो औपचारिक संस्था हो । गुरू, शिष्य लगायत त्यसका सम्पूर्ण संयन्त्रहरु संवेदनशील हुनु आवश्यक छ । व्यक्तिमा भएको अन्धकारलाई फार्ने ज्योत्सना हो ज्ञान जसले हरेक मानवमा अभ्यन्तर ज्योति प्रदान गर्छ ।

अनुशासन भनेको आँफैले आँफैलाई शासन गर्नु हो । नियमबद्ध बाटोमा हिँडाउनु हो । जसरी ऋतु चक्र घुमिरहन्छ निरन्तर । सफलताको आधारशिला हो अनुशासन र कार्यको निरन्तरता पनि । जसले क्षमताको वृद्धि त गर्छ नै चमत्कार सिर्जना गर्ने अद्भूत शक्ति पनि अन्तर्भूत हुन्छ ।

अनुशासन र आलोक सहितको यात्रा गतिमान नील नदी हुन् जो सहज ढंगमा महासागरमा अवतरित हुन्छ । जरा तीतो भएको वृक्षको फल हो ज्ञान जो जीवनको सर्वोत्कृष्ट शक्ति पनि ।
ज्ञान विशेष गुणले युक्त हुन्छ । बाहिरी घामले रनक्क तातेको नक्कली हिरा र प्रचण्ड घामका बिचमा पनि चिसो र शीतल बाह्य प्रभाव नपरेको सक्कली हिराको पहिचान गर्ने क्षमता ज्ञानमा हुन्छ । ज्ञानका चक्षुले मात्र असल, खराब पहिचान गर्न सक्छ ।

बाहिरी प्रतिकूल परिस्थितिमा पनि हतोत्साही नभई संयमका साथ धीर रहनु अनुशासन हो । कविशिरोमणि लेखनाथका यी हरफ सान्दर्भिक लाग्छन् । धर्म हो धीरको धैर्य राख्नु दुःख जालमा
मानौ मौनवर्ती हुन्छ कोयली शीत कालमा ।

अनुशासित ज्ञान भएन भने व्यक्ति जुनसुकै बेला दुर्घटित हुन सक्छ । अनुशासन व्यक्तिको चरित्र मापन गर्ने आधार हो । अनुशासनहीन शिक्षित व्यक्तिबाट समाज, राष्ट्र र विश्वले नै केही पनि अपेक्षा गर्न सक्दैन । लक्ष्यलाई सही मार्गमा डो¥याउने लगाम हो अनुशासन । एक माइलबाट शुरु भएको यात्रा हजार माइलसम्म पु¥याउने निरन्तरतामा अनुशासन नै महत्वपूर्ण हुन्छ जसरी कम्पासविहीन पानीजहाज दिशाविहीन भएर समुद्रका बिचमा हराउँछ त्यसरी नै अनुशासनहीन मान्छेको लक्ष्य पनि अलमलमा पर्छ ।

२१ औँ शताब्दीको उपभोक्तावादी सोचले आपसी समन्वयको भावलाई खण्डित गरेको छ । देखासिकीको प्रबल प्रभाव वैयक्तिक स्वार्थमा निहित योजनाले मानवीय संवेदनशीलता र भावनात्मक पक्षलाई स्पर्श गर्न सकेको छैन । सामाजिक एकत्वको भावनामा हस आएको छ । समाज र अनुशासन आपसमा तादात्मित छैनन् ।

पलायनवादी सोचले मानिस ग्रस्त छ । विश्वबन्धुत्वको भावनामा विचलन आएको छ । भावी समन्वयात्मक सुसंगठित समाजको निम्ति यस्ता पक्षहरु मन्द विष बनेका छन् । मानवीय सद्भावका डोरी मक्किँदै जाँदा यस्ता व्यक्तिकेन्द्री सोचले अबको २०–३० वर्षमा विश्व समाज कस्तो रुप रंगमा प्रस्तुत् होला ? अझ विज्ञान र प्रविधिको लहरामा दिनानुदिन जेलिँदै गएको विश्व समाज भावनात्मक पक्षबाट नितान्तै अलग बन्दै गएको छ ।

अनुशासित शिक्षा विश्व कल्याणको मार्गमा अग्रगामी बन्छ । यसले मानवलाई सभ्य नागरिकको दर्जा पनि दिन्छ । अज्ञानलाई ज्ञानले निर्मुल पार्छ । निशुम्भ भनेको अज्ञान हो । ज्ञान शब्दद्वारा व्यक्त गर्न सकिँदैन । यो त चेतनासँग सम्बन्धित हुन्छ । त्यसैले सर्वव्यापक हुन्छ । चेतनाको अभावमा मान्छेले आँफैले आँफैलाई पहिचान गर्न सक्दैन । आफ्नो जिम्मेवारीको बागडोर आफ्नै हातमा लिनु अनुशासन हो ।

जनावरले आँफूले आँफैलाई काबूमा राख्न सक्दैन । त्यसैले त दाम्लो लगाउनु पर्छ । मन र दिमागले हरदम गरिरहने वार्तामा त्यो भन्दा माथि उठेर विवेकद्वारा सञ्चालित हुनु अनुशासन हो । हामी त्यही बन्छौँ जो नियमित गर्छौं । मौसम बदलिन्छ, देश र समाजको वातावरण पनि सर्वदा सोचे अनुरुप हुँदैन । गन्तव्यको निशानीलाई भगीरथ प्रयत्नद्वारा टुंगोमा पु¥याउने क्षमता अनुशासनमै केन्द्रित हुन्छ ।

विजेताको मेडल अथक मिहिनेतको परिणति हो । मेडलको आकृतिमा विजेताले आफ्नो अनवरत संघर्षको लामो इतिहास झल्झली देख्छ । यो निरन्तरताको प्राप्ति हो । नियमितता नै अनुशासन हो ।

ज्ञान आर्जनको कुनै सीमा हुँदैन । यो निरन्तर चलिरहने प्रक्रिया हो । जो बाँडेर रित्तिन्न नत आर्जन गरेर नै मान्छे तृप्त हुन्छ । त्यसैले त सुकरात विष पिलाएर मृत्युदण्ड दिने घोषणा भइसक्दा पनि पुस्तकका पाना पल्टाउँदै थिए ।

आँफू बाँच्नु, अरुलाई बचाउनु, सम्पूर्ण आत्मधारी जिवित प्राणीप्रति प्रपञ्च दृष्टिकोण राख्नु, सद्भाव र उदारता प्रकट गर्नु जस्ता उच्च भावनाको जागरण ज्ञानले गराउँछ । भविष्यको सुदूर मार्गलाई वर्तमानबाटै सांकेतिक आँखाले आँकलन गर्न सक्ने दूरदर्शी क्षमता ज्ञानमा विद्यमान हुन्छ । आभूषण हो ज्ञान र मानव मात्रको लागि तेस्रो दृष्टि पनि । प्रकृति ज्ञान आर्जनको अनुपम पाठशाला हो । जसले हरदम ज्ञान सिकाइरहेको हुन्छ मानवलाई ।

फूलको सुगन्ध,जूनको शितलता, नदीको अविरल प्रवाह, पहाडको अचल स्वरुप, हिमालको मधुर मुस्कान, रविको सहस्र धारा, बादल, वर्षा, तिमिर, सन्ध्या, प्रातः इत्यादि ज्ञान प्राप्तिका स्वरुप हुन् । जीवन सञ्चालनका प्रेरक तत्वहरु यिनैमा घनीभूत छन् । महाकवि देवकोटा प्रकृतिमै अथाह भण्डार देख्छन् ज्ञानको । र, पोखिन्छन् यी पद्यमा ।

खुल्दो गुलाबबीच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।

सहज छैन ज्ञान आर्जन गर्नु, जो कोही पनि बन्न सक्दैन ज्ञानी । मन्दराचल रुपि बुद्धिलाई विचारद्वारा घुमाउनु पर्छ । पहाड जस्तै अचल र अडिग बुद्धिले विचार गर्नु पर्छ । केवल औपचारिक पाठ्यपुस्तक पढेर प्रमाणपत्र धारण गर्नु मात्र ज्ञान होइन ।

समुद्रको गहिराइमा मोती खोज्ने कार्य नितान्तै कठीन छ र पहाडभित्रको सुनखानी पत्ता लगाउनु पनि । विविध पक्षको सुक्ष्म रुपमा अध्ययन गरी अतल गहिराइमा पुगेर निरन्तर अनुशासित अभ्यासद्वारा जीवन जगत्सँग परिचित हुनु ज्ञान आर्जन गर्नु हो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ मंसिर १९, ०९: ३५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ मंसिर १९, ०९: ३५

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ मंसिर १९, ०९: ३५

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...