ट्राफिकका नयाँ हाकिमको झापामा हर्कतः मध्यरातमा मातेर थर्काउँछन् प्रहरी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ट्राफिकका नयाँ हाकिमको झापामा हर्कतः मध्यरातमा मातेर थर्काउँछन् प्रहरी

काठमाडौं। जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड ट्राफिक प्रहरीका लागि कमाउ धन्दा चलाउने आकर्षक कार्यालयको रुपमा मानिन्छ। यहाँ प्रमुख (इन्चार्ज) भएर आउनका लागि प्रहरी निरीक्षकले ठूलै पहुँच लगाउने गरेका छन्।

भर्खरै प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा पहुँचवाला र शक्तिशाली भएका प्रहरी निरीक्षक हुन नवराज न्यौपाने। जो प्रहरी निरिक्षक न्यौपानेले सरुवा भइ आएको १५ दिन पनि नहुँदै मातहतका युनिटका प्रमुखलाई अनेक प्रस्ताव गरेर आफ्नो हर्कत देखाउन थालेको पीडित प्रहरीहरुको गुनासो छ।

मध्यरातमा मदिराले लठ्ठ भएर उनले ट्राफिक कर्मचारीलाई हैरानी दिने गरेको खुलेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख भएर पुगेको केही दिनमा ट्राफिक प्रहरी कार्यालय र ट्राफिक पोस्टका प्रमुखलाई बोलाएर त्यहाँबाट आउने अवैध रकम वृद्धि उनले उर्दी नै जारी गरे।

तर, ट्राफिक कार्यालय र ट्राफिक पोस्टका प्रमुखहरुले आर्थिक संकट भएको भन्दै बढाउन नसकिने बताएपछि उनी बिच्किएका छन्। हाल जिल्ला ट्राफिक कार्यालय झापाले प्रत्येक ट्राफिक प्रहरी कार्यालय र पोस्टबाट मासिक ६० देखि १० हजार रुपैयाँसम्म अबैध रकम उठाउँदै आएका छन्।

बैठक भन्दै विर्तामोड बोलाएर उनले पैसा बढाउन लगाउने प्रहरी निरीक्षक न्यौपानले आफू पदमा बहाली भए लगत्तै चोखो देखाउन ट्राफिक प्रहरी कार्यालय र पोस्ट इञ्चार्जलाई ‘पैसा उठाउँदिनँ’ भनेर कागज गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक प्रहरी बताउँछन्।

उनी दैनिक जसो राति मादिराले मातेर तल्लो दर्जाका प्रहरीलाई हैरानी दिने गरेका छन्। केही दिनअघि मातेर बुद्धशान्तिस्थित बुधबारे पुगेका न्यौपानेले त्यहाँ रहेको ट्राफिक प्रहरी सुत्ने खाटसमेत फ्याकेको ट्राफिक प्रहरीको दाबी छ।

न्यौपाने झापाको प्रमुख भएदेखि एक जना विचौलीयालाई पनि खटाउने गरेका छन्। पदम श्रेष्ठ नाम गरेका विचौलियाको हरेक साँझ बसोबास जिल्ला ट्राफिक प्रहरीमा हुने गरेको छ। श्रेष्ठले न्यौपानेलाई ‘ज्वाइँ’को सम्बन्ध लगाउने गरेका छन्।

‘यहाँ आएर उनी आफू नै हाकिमजस्तो अराईखटाई गर्न खोज्छन्। त्यति मात्र हैन ट्राफिक प्रहरीको मूल्यांकन पनि श्रेष्ठ आफैँ गर्छन्। को राम्रो को नराम्रो भन्दै हाकिमलाई कुरा लगाएर हामी त हैरान भइसक्यौँ,’ जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक ट्राफिक प्रहरीले भने।

हुँदा–हुँदा शनिबार राति न्यौपानेले मदिराले लठ्ठ भएर पूर्वपश्चिम राजमार्गमा रहेका ट्राफिक प्रहरी कार्यालय र पोस्टमा गई ट्राफिक प्रहरीलाई अपशब्द गर्दै गालीगलौजसम्म गरेका थिए।

शनिबार राति ९ बजे पदम श्रेष्ठ नामक विचौलियाको मे १च ३८८१ नम्बरको कारमा उनी विर्तामोडमा मातेर निस्किएका थिए। प्रहरी निरिक्षक न्यौपानेले सुन्नै नसक्ने गाली गरेको राजमार्गमा आफ्नो ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीले बताए।

‘रातिको समयमा आएका थिए। सुन्नै नसकिने गरी अपशब्द प्रयोग गर्दै गाली गरेर गए,’ एक ट्राफिक प्रहरी भन्छन्, ‘जागिर खाएको यत्रो वर्ष भयो। यस्तो हाकिम पाएका थिएनौं। पैसा दिन दबाब दिन्छन् हाम्रो तलबबाट त दिन सकिँदैन नि!’

उनले आफू शक्तिशाली भएको बताउँदै आएको एक ट्राफिक प्रहरी बताउँछन्। ‘उहाँले म झापाको इञ्चार्ज भएर त्यसै आएको छैन भन्दै पहुँचको कुरा नगर भन्दै शक्तिको धम्की दिनुहुन्छ,’ उनले भने।

मदिराले मातेर ट्राफिक कर्मचारी थर्काउने न्यौपानले आइतबार ट्राफिक प्रहरी कार्यालय र पोस्टका इचार्जसँग बैठकसमेत बोलाएका छन्। ती ट्राफिक प्रहरीका अनुसार न्यौपान विचौलिया श्रेष्ठसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सई राजकुमार बस्नेत र असई चन्द्र राउत पनि आएका थिए।

सई बस्नेत लामो समयदेखि झापा ट्राफिकमा छन्। उनी झण्डै सात वर्षदेखि सवारी साधनको ट्रायलमा जाने गरेका छन्। उनले राम्रै सेटिङ मिलाएर लाइसेन्स बाँड्ने गरेका छन्।

जिल्ला ट्राफिक कार्यालय विर्तामोड मातहतमा जम्मा २ वटा चार पांग्रे सवारी छन् भने मोटरसाईकल १३ वटा छन्। झापामा ३ वटा कार्यालय १५ वटा अस्थायी ट्राफिक पोष्ट रहेका छन्।

जिल्ला ट्राफिक कार्यालयलाई प्रहरी प्रधान कार्यालयले सवारी साधनको इन्धनका लागि भनेर वार्षिक ५ लाख रुपैयाँ उपलब्ध गराउँदै आउको छ।

तर मातहतका कुनै पनि कार्यालयलाई इन्धन हाल्न भनेर रकम नदिएको एक इन्चार्जले बताए। सो रकम कहाँ जान्छ भन्ने कुरा जिल्ला ट्राफिक कार्यालय विर्तामोडका लेखापाल प्रहरी सहायक निरिक्षक गोपाल राईलाई नै थाहा होला।

झापाका ट्राफिक प्रहरीका अस्थायी पोष्ट र कार्यालयका इन्चार्जहरुले व्यापारीबाटै इन्धन भराउने गरेको स्रोतले जनायो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र १७, १८: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र १७, १८: ३९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र १७, १८: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...