नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन्।
नुवाकोटको लिखुस्थित ‘लिखु महिला उद्यमी तथा सामाजिक संस्था’ले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा मन्त्री डा. महतले सो परियोजनालाई अगाडि बढाउन आफूले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जनाउँदै यसका लागि धेरै पैसा लाग्ने र नेपालको श्रोतले नपुग्ने् भएकाले चिनियाँ सरकार समक्ष सहयोगको प्रस्ताव पठाएकोमा सकारात्मक जवाफ आएको बताए।
उनले भने ‘पत्रको आदान–प्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी छौं । प्रधानमन्त्रीको भ्रमणमा यो आयोजना पहिलो प्राथमिकतामा राखेर आसयको पत्र चीन सरकारले दिएको छ।’
यसको प्रारम्भिक अध्ययन भइसकेको जानकारी दिँदै उनले भने, ‘अब डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्छ। सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो। धेरै पक्षमा ध्यान पुर्याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ। अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ।’
‘निर्माणको काम भौतिक पूर्वाधार मन्त्रालयले, श्रोत जुटाउने काम अर्थमन्त्रालयले र वातावरणसम्बन्धी के असर पर्छ भनेर अनुमति लिने काम वन तथा वातावरण मन्त्रालयबाट भएको छ’, उनले भने ‘यहाँ तीनवटै मन्त्रालयले आएर हेरेको छ। निकुन्जमा पनि समस्या छैन भन्ने छ त्यसैले निर्माण कार्य अगाडि बढ्छ।’
‘सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र होइन, रसुवा नाकासम्म स्तरोन्नति हुन्छ। पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुन्छ। यसले नुवाकोट जिल्लाभरि नै आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ, व्यापार बढ्छ । पर्यटक बढ्छन्, कृषिजन्य उत्पादन बढ्छ। यसले नागरिकको आम्दानी बढाउने छ। हामीले खोजेको त्यही हो’, महतले भने।
यी आयोजना निर्माण हुँदा सबैभन्दा बढी प्रभाव लिखु गाउँपालिकामा पर्ने भन्दै उनले शिवपुरी र पञ्चकन्या गाउँपालिकामा पनि प्रभावित हुने जनाउँदै ढिकुरे र सिम्ला सिँचाइ आयोजना यसको अर्को महत्वपूर्ण पक्ष भएको बताए।
गंगटेदेखि समुद्रटार हुँदै गोल्फु भन्जाङसम्मको बाटोलाई पूरा गर्ने लक्ष्यका साथ ठेक्का प्रकृया अगाडि बढीसकेको जनाउँदै उनले काठमाडौंसँग जोडिएको नुवाकोट जिल्ला डा. रामशरण महत अर्थमन्त्री भएपछि विकासमा जोडिएको दाबी गर्दै भने, ‘यहाँको स्कुल, अस्पताल र सिँचाइको सञ्जाल निर्माणपछि नुवाकोटवासीले उन्नति र प्रगति गर्ने अवसर र रोजगारी पाए। यसलाई हामी निरन्तरता दिन चाहन्छौं।’
उनले मध्यपहाडी राजमार्ग नुवाकोट हुँदै गएको बताउँदै उनले भने, ‘चीनसँग जोडिने रसुवागढी नाकाबाट काठमाडौं जोड्ने सडकलाई स्तरोन्नति गर्ने र छहरे–टोखा सुरुङ मार्गमार्फत् अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाएर नुवाकोटलाई काठमाडौं नजिक पुर्याउने योजना छन्। नुवाकोटमै बसेर काठमाडौंमा व्यवसाय गर्न सकिने वातावरण बनाउन म रातदिन खटिरहेको छु।’
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...