चिकित्सकको आन्दोलन स्थगित, सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चिकित्सकको आन्दोलन स्थगित, सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति

काठमाडौं। सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएसँगै नेपाल चिकित्सक संघको स्वास्थ्य संस्था बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।

चिकित्सक संघले उठाएका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार आइतबार अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र नेपाल चिकित्सक संघका अध्यक्ष सहितका प्रतिनिधिहरु भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो।

सहमति बमोजिम हेटौंडाको सञ्चो अस्पतालमा डिउटीमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरूलाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ।

हाल पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका ५ सहित अन्य दोषीहरूलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको वार्ता समितिका संयोजक डा. विकास देवकोटाले बताए।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने र सो ऐनको दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा लैजाने, चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा बिदेसिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति पनि भएको छ।

सहमतिअनुसार संघको अगुवाइमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरू बन्द लगायतका घोषित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सहमति भएको डा.देवकोटाले जानकारी दिए।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन १, १८: २४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन १, १८: २४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० आश्विन १, १८: २४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...