गणेशमान सिंहको त्याग, आदर्श र निष्ठाबाट प्रेरणा लिनुपर्छः राष्ट्रपति पौडेल – Naya Bikalpa
September 30, 2023, Saturday

गणेशमान सिंहको त्याग, आदर्श र निष्ठाबाट प्रेरणा लिनुपर्छः राष्ट्रपति पौडेल

भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई राज्यसञ्चालनको माध्यम तथा जीवन दर्शन र संस्कार बनाएर गणेशमान सिंहले देखाएको बाटोमा हिड्न सके मात्र उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको व्यक्तित्व र योगदानलाई चीरस्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा निर्माण गरिएको सिंहको पूर्णकदको शालिक मंगलबार अनावरण गर्दै राष्ट्रपति पौडेलले यस्तो वताएका हुन्।

राष्ट्रपति पौडेलले भने ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमानजीले निर्वाह गर्नुभएको काम सबैका लागि सँंधै प्रेरणा बन्नेछ भन्ने मैले विश्वास लिएको छु। राजनीतिलाई सत्ता र शक्तिको साधन होइन राष्ट्रनिर्माणको लागि जीवन समर्पित गर्ने गणेशमानजीको जीवन दर्शनको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ।’

गणेशमान सिंहको साथ र सान्निध्यता आफूले पनि पाएको भन्दै राष्ट्रपति पौडेलले उनको जुनआज आफ्नो स्मृतिमा ताजै रहेकाले त्यसले आफूलाई सदैव सत्य, निष्ठा र आदर्शको बाटोमा हिड्न अभिप्रेरित गरिरहेको बताए।

नेपालमा २००७ सालको क्रान्तिले १०४ वर्ष लामो मध्ययुगित बन्द समाज र जहानियाँं शासनको अन्त्य गरेसँगै प्रजातान्त्रिक युगको प्रारम्भ भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सातदेखि सत्र सालको दशक प्रजातन्त्र पल्लवित पुष्पित हुँदै नेपाललाई सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणसहित आधुनिक युगतर्फ डोर्याउने एउटा ऐतिहासिक कालखण्ड भएको बताए।

“तर, सत्र सालको कू ले यो प्रगतिशील बाटोमा अवरोध सृजना ग¥यो। परिणामत तीस वर्षे लामो पञ्चायतको एक दलीय निरंकुश शासन मात्र होइन गरीवी, अशिक्षा र पछौटेपनको एउटा बन्दसमाजबाट फेरि नेपालीहरूले गुज्रन बाध्य हुनुप¥यो”, उनले भने ।

राणा र पञ्चायतजस्तो जहानियाँं तथा एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने कठिन र दुरुह संघर्ष अनि त्याग र बलिदानका कैयौ कष्टकर दिनहरूमा आफूलाई न्यौछावर गरेर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र संगठनलाई नेपाली भूमिमा बलियो, सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त गणेशमान सिंह अविश्राम लागि परेको उनको भनाई थियो।

“जेलनेल, निर्वासन र क्रान्तिका कठिन समयमा पनि लोकतन्त्रको पक्षमा सतिसाल झंै उभिने मात्र नभएर आफ्नो विचार र अडानमा अडिग रहने सिंहको स्वभाव हामीजस्ता लोकतन्त्रमा लाग्ने र लड्नेहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्यो र अझै बनिरहने छ”, राष्ट्रपति पौडेलले भने।

२०४६को जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजाबाट प्रधानमन्त्री पदको लागि गरेको प्रस्तावलाई अस्वीकार गरी आफ्ना समकक्षीलाई त्यसको नेतृत्व सुम्पनुभएको प्रसङग स्मरण गर्दै उनले यस्ता महापुरुषका नाममा स्थापित गरिएको करिब एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको बाटिकामा रहेको विविध जातका रुख विरुवासहितको पूर्वाधार तथा मनोरम वातावरणले व्यस्त जीवनशैलीका उपत्यकावासीका लागि उन्मुक्त भएर स्वच्छन्द वातावरणमा रम्ने एउटा उपयुक्त स्थल बन्न सक्ने धारणा व्यक्त गरे।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बाटिकाको बाँकी काम सम्पन्न गर्न सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

कांग्रेसका पूर्वउपसभापति तथा सांसद प्रकाशमान सिंहले राजनीतिक परिवर्तनलाई दिगो बनाउनका लागि आर्थिक विकास अपरिहार्य रहेको भनेर गणेशमानले २०४६पछि भनेको कुरा अझै सान्दर्भिक रहेको बताए।

बाटिका निर्माणमा महत्वपूर्ण सहयोग गरेको भन्दै पूर्वसांसद रामेश्वर ढुंगेललाई मरणोपरान्त सम्मान गरिएको थियो। त्यस्तै गणेशमान सिंहको शालिक बनाउने मूर्तिकार महेश तुलाधरलाई समेत सम्मान गरिएको थियो।

 

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० आश्विन २, १८: २०

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० आश्विन २, १८: २०

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० आश्विन २, १८: २०

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...