प्रमुख प्रशासकीय अधिकृत थाहै नदिई घर हिँडेपछि दशैंको मुखमा कर्मचारीले पाएनन् तलव – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रमुख प्रशासकीय अधिकृत थाहै नदिई घर हिँडेपछि दशैंको मुखमा कर्मचारीले पाएनन् तलव

खोटाङ। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी गाउँपालिका प्रमुख र अन्य सहकर्मी कर्मचारीलाई जानकारी नै नदिई घर हिँडेपछि दसैंको मुखमा कर्मचारीले तलब पाएनन्।

हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले कसैलाई पनि निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि कर्मचारीले तलव मात्र पाएनन् कि काम सम्पन्न गरेका व्यवसायीहरुले भुक्तानी समेत पाउन सकेनन्।

गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्चिङले दसैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित ुसमेत बनेको बताए।

कसैलाई जिम्मेवारी नतोकी र कुनै जानकारी नदिई कार्यालय छाडेर हिँडेका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए।

‘कर्मचारीले दसैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन्। काम सम्पन्न गरेका निर्माण व्यवसायीको भुक्तानी दसैँ अगाडि नै गर्नुपर्ने छ। यति धेरै काम अलपत्र छाडेर बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँड्नुभएछ’, उनले भने, ‘उहाँलाई सम्पर्क गरी २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।’

हाँजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही हुने गाउँपालिका प्रमुख राईले बताए। प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताएका छन्।

“आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु। बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु”, उनले भने, ‘दसैँ अगाडि फर्किने सम्भावना छैन। यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु।’

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पु¥याउन नसकिने गाउँपालिकाले जनाएको छ।

भुक्तानी तथा कुनै पनि कागजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए।

गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको ‘स्ट्याटस’ केहीले लेखेका छन्।

सामाजिक सञ्जालमा गाउँपालिका बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गरी बिना प्रमाण भ्रमको खेती नगर्न–नगराउन अनुरोध गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उनको ज्यान सुरक्षाकोसमेत संयमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ।

“सामाजिक सञ्जालमा बिना प्रमाण सिङ्गो गाउँपालिकाको मानमर्दन हुनेगरी दुष्प्रचार भइरहेको छ । केही व्यक्तिद्वारा गलत तथा कपोकल्पित, मनोमानी, स्वेच्छाचारी र भ्रमपूर्ण ढङ्गबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक १, १३: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० कार्तिक १, १३: २५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक १, १३: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...