
गणेशमान सिंहलाई जीवित वा मृत जस्तोसुकै अवस्थामा भए पनि कसैले पक्रन सके, उसलाई उचित पुरस्कार प्रदान गरिने, कुनै कर्मचारीले त्यस्तो गर्न सके उसलाई पुरस्कारका साथै पदोन्नति समेत गरिने कुराको घोषणा राणाहरुले निकै पहिले उनी जेलबाट उम्केको केहीपछि नै गरिसकेका थिए।
आफ्नो प्राणलाई हरेकपटक उत्सर्ग छेवैमा राखेर लक्ष्य प्राप्तिमा दृढ संकल्पका साथ हिँडिरहेको गणेशमान सिंहलाई त्यो घोषणाले केही फरक पारेन । उनले काठमाडौंको यात्रा प्रारम्भ गरे । सिंहसँग काठमाडौं जाने अर्को व्यक्ति थिए – सुन्दरराज चालिसे।
उनलाई पनि त्यसको केही महिना पहिले मात्र सरकारी सेना भड्काउने प्रमुख व्यक्तिको रुपमा अत्यन्त कडाईका साथ राणाहरुले खोजिरहेका थिए। त्यसैले देशभित्र वा काठमाडौंको यात्रा उनका निमित्त निकै खतरापूर्ण थियो।
त्यसवेलासम्म बी.पी. र सुवर्ण शम्शेरको प्रयासमा जनक्रान्ति संचालन गर्ने एक सशस्त्र जत्था – जनमुक्ति सेनाको निर्माण भइसकेको थियो। प्रत्येक दिन त्यसमा भारतीय बृटिस आर्मी र आजाद हिंन्द फौजमा रहेर फर्केका नेपाली सैनिकहरु थपिँदै थिए।
त्यही जनमुक्ति सेनाका एक कमाण्डर एवम् आजाद हिंन्द फौजका मेजर दिलमानसिंह थापा तथा लेफ्टिनेन्ट कुलमान लामा पनि गणेशमान सिंहको काठमाडौं जाने टोलीमा सम्मिलित थिए।
त्यो टोलीमा एकजना वायरलेस अपरेटर केशर लामा र अरु ९ जना तालिमप्राप्त सैनिकहरु थिए। उनीहरुसित २ वटा स्टेन गन, एउटा ब्रेन गन, एक हजार राउण्ड गोली, दुई बोरा डाईनामाईट, २ वटा पेस्तोल र एउटा निकै शक्तिशाली वायरलेस सेट थियो।
२००७ को मध्य वर्षा श्रावणको दोश्रो हप्तामा गणेशमान सिंह र सुन्दरराज चालिसेको त्यो टोलीले भारतको सोनवर्षा हुँदै सकुसल नेपालको मलंगवामा प्रवेश गर्यो।
सशस्त्र रुपमा अत्यन्त साहसका साथ यसरी देशभित्र पस्ने यो नेपाली कांग्रेसको पहिलो टोली थियो। मलंगवाबाट त्यो टोलीले काठमाडौं पुग्ने अति कठिन र अति जोखिमपूर्ण यात्रा प्रारम्भ गर्यो।
मलंगवाबाट सिन्धुलीको लखन्ती र मरिण खोलाको किनारै किनार, अनकण्टार जंगलको बाटोमा अनेकपटक हिंश्रक जगली जनावरहरुसिताको खतरापूर्ण जम्काभेट र उर्लंदो बाढीमा मडारिईरहेका प्रत्येक खोल्सा र खोलाहरु पार गर्दा त्यको बेगले हुत्याई दिने जोखिमलाई अनेकपल्ट झेल्दै लगातार ५ दिनको हिँडाईपछि त्यो टोली महादेवटार हुँदै दाप्चा आईपुग्यो।
जंगलवबाट गाउँमा निस्किएपछि त्यो टोलीका सामु अझ अरु खतराहरु थिए। त्यसैले दाप्चाबाट अत्यन्त सजगताका साथ अर्को दिन त्यो टोली बनेपा आईपुग्यो।
बनेपाका राजदास श्रेष्ठ निकै पहिलेदेखि नेपाली राष्ट्रिय कांग्रेसको स्थापना कालदेखि नै यससित सम्वद्ध थिए। बनेवामा त्यो टोलीलाई गाृेप्य तवरले बस्ने र त्यहाँबाट काठमाडौंसम्म पुग्ने सबै व्यवस्था राजदाशले नै मिलाई दिए।
एक दिन त्यहाँ बसेपछि जनै पूर्णियाको दिन साँझपख इन्द्रमान जोशी र ड्राईभर पञ्चनारायण महर्जले आ–आफ्नो गाडीबाट त्यो टोलीलाई सँगै ल्याइएका हतियार र गोलीगठ्ठासहित काठमाडौंमा उतारिदिए।
काठमाडौंमा गणेशमान सिंह आफ्ना काका शहीद भोगेन्द्रमानका पिता सुब्बा गोविन्दमानको घर, रक्तकालीमा बसे। सुन्दरराज चालिसे पनि सिंहसित बसे। दिलमानसिंह थापा र त्यस टोलीका अरु कसैलाई काठमाडौंमा चिन्ने कोही थिएन।
सिंह र चालिसेको जस्तो कठोर भूमिगतरुपमा रहन उनीहरुलाई आवश्यक थिएन। ज्ञानेश्वरमा डेरा लिएर उनीहरुलाई राखिएको थियो। हतियारहरु, डाईनामाईट र वायरलेस सेट पहिले राजदास श्रेष्ठको नरदेवीको घरमा र पछि ज्ञानेश्वरकै प्रतापविक्रम शाहको घरमा गोप्य तवरले राखिएको थियो।
काठमाडौं आएको केही दिनपछि एक दिन साँझ गोप्त तवरले ताहाचलको नजिक छाउनीमा राजा त्रिभुवनका सचिव दयाराम भक्त माथेमासाग गणेशमान सिंहको भेट भयो। अर्कासचिव कृष्णलालसँग पनि भेट भयो।
त्रिभुवन केही समयदेखि बाथले अस्वस्थ रहेकाले पैदल हिँडेर काठमाडौंबाट अन्यत्र कतै जान उनी असमर्थ भएको खबर केही दिनपछि माथेमाले सिंहलाई दिए। हेलिकोप्टरको प्रवन्ध हुन सके जुनसुकै स्थानमा जहिले पनि जान तयार छु भन्ने त्रिभुवनको सन्देशको जानकारी पनि माथेमाले सिंहलाई दिए।
राजा त्रिभुवन राजदरबार त्याग गर्न तयार भएमा उनलाई कहाँ लग्ने, कुन ठाउँ उपयुक्त र सुरक्षीत हुन्छ? पाल्पा लान सकिन्छ कि सकिदैन? त्यसको यकिन गर्ने र त्यसका निमित्त त्रिभुवन तयार भए नभएको समाचार सिंहले बीपी र सुवर्णलाई दिने योजना थियो।
राजा त्रिभुवन बाथरोगका कारण धेरै हिँडडुल गर्न नसक्ने भएपछि उनलाई नारायणहिटि राजदरबारबाट पाल्पा लैजनो योजनामा केही दिनसम्म बीपी र सुवर्णले हेलिकोप्टरको व्यवस्था मिलाउन निकै प्रयास गरे। तर सम्भव भएन।
त्यसपछि राजा त्रिभुवनलाई पाल्पा भगाउने कांग्रेसको योजना असफल भएको थियो।
काठमाडौं आईपुगेपछि सिंह र चालिसेले काठमाडौंस्थित भारतीय राजदूत सीपीएन सिंहसित भेट गरे। त्यसको पर्सिपल्ट राजदूत सिंहसँग प्रधानमन्त्री मोहन शम्शेर भेट गर्न गए । त्यसैबेला उनले गणेशमान सिंह र सुन्दरराज चालिसे काठमाडौंमा रहेको बताई दिए।
सेनाको उच्च ओहोदामा रहेका तोरण शम्शेर, प्रतापबिक्रम शाह, मोहनविक्रम शाह आदि अफिसरहरुसँग चालिसेले भेट गरे। उनीहरु राणातन्त्रको बिरोधमा लाग्ने र कांग्रेसको शसस्त्र क्रान्तिलाई सहयोग गर्न तयार भए ।
राणाका सेनाहरुले सिंह र चालिसेको व्यापक खोजी गरेपछि उनीहरु काठमाडौंमा भूमिगत रुपमा बसे। सिंह र चालिसे बस्ने गरेको गोविन्दमान सिंहको घरमा राणाहरुले निगरानी गर्न थाले।
त्यहाँबाट केही दिन बौद्धमा र त्यसपछि यट्खामा ड्राईभर इतुचाको घरमा बसे। त्यही दिन साँझ इतुचाको घरमा पुलिसले घेरा हाल्यो। सिंह र चालिसे त्यहाँबाट मुस्किलले उम्किएर मरुटोलमा हृदयचन्द्रसिंह प्रधानका्े घरमा सरे। चालिसे भने केही दिनपछि कालिमाटीको तमाखु पसले जनकलालको घरमा बसे।
जोखिम मोलेर काठमाडौंमा बसिरहेका सिंह र चालिसेले एक दिन राणाहरुलाई सिध्याउने योजना बनाए। इन्द्रजात्राको दिन राणा प्रधानमन्त्री अर्थात् श्री ३ महाराज र प्रमुख पदमा रहेका अन्य राणाहरुले कुमारी रथको वरिपरी परिक्रमा गर्ने चलन थियो।
रथ त्यस दिन भिमसेनस्थान र जैशी देवलको बीचमा पुग्थ्यो। सबै रोलवाला राणाहरु त्यहाँ पुगेर रथको परिक्रममा गरिरहेको बेला उनीहरुलाई स्टेनगनले हान्ने योजना सिंह र चालिसेले तयार गरे।
त्यसको निमित्त असोज ६ गते चिंकमुगलमा एउटा घर भाडामा लिइयो। त्यो घर ड्राईभर इन्द्रमान जोशी र उनको परिवारहरु बस्ने भनेर लिइएको थियो। त्यही घरको दुईवटा झ्यालबाट दुईवटा स्टेनगन फायरिङ गर्ने योजना तर्जुमा भयो।
दिलमानसिंह थापा र कुलमान लामालाई त्यहाँ ल्याएर सबै कुरा देखाइयो। उनीहरुले त्यसको निरिक्षण गरे। उनीहरुलाई त्यो योजना उपयुक्त लाग्यो।
इन्द्रजात्राको अघिल्लो दिन असोज ८ गते राति स्टेनगन, ग्रिनेड र अरु हतियार ल्याउने तथा दिलमान र कुलामानसमेत सशस्त्र दस्ताका सबैको राति नै त्यहाँ आउने कर्यक्रम तय भयो।
यही क्रममा चालिसेसँगै आएका एक जनालाई प्रहरीले ज्ञानेश्वरबाट पक्राउ गर्यो। उनले हतियार पनि बोेकेका थिए। उनी भोलीपल्ट अर्थात असोज ८ गते राणाहरुलाई गोली हान्ने योजनालाई कार्यान्वयन गर्ने समूहकै सदस्य थिए।
उनी पक्राउ परेपछि राणाहरुलाई गोली हान्ने सम्वन्धी योजनाको रहस्योद्घाटन भयो ।
अनि त्यही रात दिलमानसिंह थापा, कुलमान लामा, तोरण शम्शेर राणा, प्रतापविक्रम शाह, मोहनविक्रम शाह, नोदविक्रम शाह, कृष्णविक्रम शाह, चालिसेकी श्रीमती सुशिला चालिसे, राजदास श्रेष्ठ, हंशराज श्रेष्ठ, इन्द्रमान जोशी, पञ्चनारायाण महर्जन, हर्षलाल श्रेष्ठ मगरबहादुर नगरकोटी, भैरव श्रेष्ठ, पूर्ण खवासलाई पक्राउ गरियो।
त्यही रात प्रताप बिक्रम शाहको घरमा लुकाएर राखिएका हतियारहरु राणाहरुले बरामद गरे र एउटा ठूलो दुर्घटना वा घटना टर्न गयो । पक्राउ परेकालाई सैनिक गारदमा अत्यन्त क्रुर यातना दिइयो।
सुन्दरराज चालिसे, दिलमानसिंह थापा र कुलमान लामालाई फासीको सजाय दिन माग गरियो। यसरी गणेशमान सिंह र चालिसेले ठूलो जोखिम मोलेर बनाएको योजना अघिल्लो रात चकनाचुर भएको थियो ।
(पुरुषोत्तम बस्नेतको ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग १ बाट साभार)
काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...