
काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो तीन महिनायता देशका विभिन्न क्षेत्रमा बर्ड फ्लु देखिएकाले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ। विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्दै संक्रमण नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको जनाएको छ।
विभागका अनुसार २०८२ चैत ४ गते मोरङमा पहिलोपटक एच५एन१ प्रकारको बर्ड फ्लु पुष्टि भएको थियो। त्यसयता झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा संक्रमण फैलिएको छ।
संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको विभागले जनाएको छ। साथै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ।
कोशी प्रदेशमा संक्रमण फैलिन नदिन गृह मन्त्रालयसँगको समन्वयमा एक महिनासम्म पन्छी ओसारपसारमा रोक लगाइएको थियो। अहिले अवस्था नियन्त्रणमा आएसँगै उक्त व्यवस्था केही खुकुलो बनाइएको विभागले जनाएको छ। पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखी गस्ती परिचालन गरिएको र अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छीहरू नष्ट गरिएको पनि विभागले उल्लेख गरेको छ।
केन्द्रीय तथा क्षेत्रीय प्रयोगशालामार्फत रोग पहिचानको कामलाई प्रभावकारी बनाइएको विभागको भनाइ छ। संक्रमण पुष्टि हुनासाथ जोखिम मूल्याङ्कन टोली र द्रुत कार्यदल परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पन्छी तथा पन्छीजन्य सामग्री सुरक्षित रूपमा नष्ट गर्ने कार्य भइरहेको छ।
विभागका अनुसार कोशी प्रदेशमा संक्रमण अहिले नियन्त्रणमा आइसकेको छ। तर पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छीमा संक्रमण बढ्दै गएको छ।
यसैबीच, नेपालमा देखिएको बर्ड फ्लु भाइरसको स्वरूप परिवर्तन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको आनुवंशिक परीक्षण प्रक्रिया सुरु गरिएको छ।
विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन, अण्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न तथा ढुवानीका सवारीसाधन पूर्ण रूपमा निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन आग्रह गरेको छ।
त्यस्तै, कागलगायत जंगली पन्छीसँग घरपालुवा पन्छी तथा दाना सम्पर्कमा आउन नदिने गरी पन्छीपालन गर्न सुझाव दिइएको छ। पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था पालना गर्न पनि विभागले आग्रह गरेको छ।
विभागका अनुसार पछिल्लो समय बर्ड फ्लुसँगै कम घातक एभियन इन्फ्लुएन्जा, रानिखेत र इ. कोलाईजस्ता रोगको संक्रमण पनि बढ्दो अवस्थामा छ। यस्ता रोगका कारण पन्छीमा उच्च मृत्युदर हुन सक्ने भएकाले नियमित खोप लगाउन र संक्रमण पुष्टि भएमा मरेका पन्छीलाई गहिरो खाडलमा पुरी आवश्यक निसंक्रमण गर्न अनुरोध गरिएको छ।
कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्त नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।
काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै...
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...
काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...