रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म लम्बिने – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म लम्बिने

काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार बिहानदेखि सुरु हुनुपर्ने बन्दसत्र ढिलो गरी आज दिउँसो २ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको हो ।

यसअघि रास्वपाले महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । प्रारम्भमा ४ हजार २ सयभन्दा बढी प्रतिनिधि रहेकोमा उजुरीमाथिको छानबिनपछि अन्ततः ३ हजार ८ सय ४९ प्रतिनिधि कायम गरिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो ।

बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन तथा महामन्त्री मुकुल बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव पेश गर्नेछन् भने उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ । पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्दै आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

बन्दसत्र ढिलो गरी सुरु भएकाले महाधिवेशनको कार्यतालिका समेत प्रभावित हुने देखिएको छ । आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भए पनि निर्वाचन बुधबार हुने सम्भावना रहेको छ ।

महाधिवेशनबाट रास्वपाले १ सय ५८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ संरचनामा १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक सभापति, एक वरिष्ठ नेता, कम्तीमा एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, कम्तीमा एक महिला सहित पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता तथा तीन सहप्रवक्ता रहनेछन् ।

नयाँ विधानअनुसार सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ । साथै ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जना सभापतिबाट मनोनीत गरिनेछ ।

पहिलो चरणमा सभापतिसहित ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । त्यसपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।

यसैबीच वरिष्ठ नेतामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई निर्विरोध चयन गर्ने तयारी गरिएको र उक्त पदमा निर्वाचन नहुने जनाइएको छ ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०८३ असार ९, १५: ४६

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०८३ असार ९, १५: ४६

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०८३ असार ९, १५: ४६

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...