पर्यटकीय क्षेत्र झुलेनीमा थपिँदै पूर्वाधार – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

पर्यटकीय क्षेत्र झुलेनीमा थपिँदै पूर्वाधार

ढोरपाटन (बागलुङ) । काठेखोला गाउँपालिका–४ झुलेनीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ । समुद्री सतहबाट दुई हजार पाँच सय ५० मिटरको उचाइमा रहेको झुलेनी, देउराली क्षेत्रमा काठेखोला गाउँपालिका र गण्डकी प्रदेशले संयुक्तरूपमा लगानी गरी संरचना निर्माण सुरु गरेका छन् ।

उच्च पहाडी हावापानी, शान्त वातावरण, चराचुरुङ्गीको चिरबिर आवाज र यहाँबाट देखिने दर्जनौँ हिमशृङ्खालाले आगन्तुकलाई पर्खिरहे पनि आवश्यक पूर्वाधार नबन्दा झुलेनी क्षेत्रमा कमै पर्यटक पुग्छन् । यस अगाडि काठेखोला गाउँपालिकाले वनभोज स्थललगायतका संरचना निर्माण गरेको छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनयोजन भएको पाँच लाखले यहाँ पदमार्ग र पार्क निर्माण गरिने छ । पर्यटनका हिसाबले सम्भावना बोकेको भए पनि प्रचारप्रसार र पूर्वाधार निर्माण हुन नसक्दा अहिलेसम्म ओझेलमा रहेको झुलेनीलाई पर्यटक आकर्षण केन्द्रका रूपमा विकास गरिन लागिएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि अहिलेसम्म लगानी हुन नसक्दा पछाडि परेको भन्दै अब पर्यटकलाई झुलेनीसम्म पुर्याउनका लागि प्रचारप्रसार र संरचना निर्माण गरिने उनको भनाइ छ ।

‘काठेखोलामा धेरै पर्यटकीय क्षेत्र छन्, सबै गन्तव्यलाई व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि हामी लागेका छौँ’, अध्यक्ष थापाले भने, ‘पर्यटकलाई यहाँसम्म ल्याउन विभिन्न ठाउँबाट पदमार्गले जोड्ने, ठाउँठाउँमा खाजा, खाना र बस्नका लागि घरबास (होमस्टे) सञ्चालन गर्ने र स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि योजना बनाएर काम गरिरहेका छौँ ।’ यस वर्ष प्रदेश सरकारले पनि राम्रो सहयोग गरेको पालिकाले पनि हरेक वर्ष बजेटको व्यवस्थान गरिरहेको उनको भनाइ छ ।

झुलेनी क्षेत्र ‘क्याम्प फायर’, भवनभोज र पदयात्राका लागि उपयुक्त क्षेत्र रहेको अध्यक्ष थापाको भनाइ छ । उच्च पहाड भएको हुँदा यहाँबाट बागलुङको अधिकांश ठाउँ, धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत पूर्वबाट पश्चिमसम्म दर्जनौँ हिमाल आँखै अगाडि देख्न सकिने उनले बताए ।

झुलेनीसँगै जोडिएको देउराली पनि निकै रमणीय रहेको भन्दै त्यस नजिकै ध्यान केन्द्रसमेत रहेको थापाको भनाइ छ । प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय बागलुङले यस वर्षदेखि यहाँ काम गर्ने भएको थापाले बताए ।

डिभिजन वन कार्यालय बागलुङका प्रमुख शरण अधिकारीले यसभन्दा अगाडि पनि प्रदेशबाट विनियोजन भएको रकमले झुलेनी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि काम गरेको भन्दै यस वर्ष पनि नयाँ काम सुरु गर्ने बताए । ओझेलमा रहेका पर्यटक क्षेत्रको उजागर गरी प्रचारप्रसारका साथै पूर्वाधार निर्माण गर्ने कार्यक्रमअन्तर्गत झुलेनीमा यस वर्ष काम गर्न थालेको उनको भनाइ छ । यहाँको स्थलगत अनुगमन गरिसकेको भन्दै झुलेनी गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य बन्न सक्ने प्रमुख अधिकारीले बताए ।

‘फापरखेत–झुलेनी वनबाटिका भनेर बजेट विनियोजन भएको छ, स्थानीय र गाउँपालिकासँग सहकार्य गरेर काम गर्न थालेका छौँ, उपभोक्ता समितिमार्फत गर्ने तयारी छ, गाउँपालिकाले पार्क, पदमार्ग निर्माण गर्ने प्रस्ताव गरेको छ’, उनले भने, ‘छलफल गरेर कुन संरचना बनाउँदा उपयुक्त हुन्छ सोहीअनुसार काम अगाडि बढाउँछौँ ।’

दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य एकाइ

निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । जिल्लाको निकै दुर्गम मानिने लेबाङमा स्थानीयले स्वास्थ्य सेवा दिनका लागि निसीखोला गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको हो । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्थे ।

गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताए । गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्य चौकीमा ल्याएर उपचार गराउने गरेको भन्दै अब त्यो समस्या समाधान भएको पुनको भनाइ छ । गाउँपालिकाले ढिलै भए पनि विकट गाउँका जनताको समस्या समाधान गरिदिएको उनी बताउँछन् ।

‘अस्पताल नजिक थिएनन, गाउँमा कोही बिरामी पर्यो भने बोकेर देवीस्थान पुग्नुपथ्र्यो, देवीस्थान र बुर्तिबाङ पुर्याउनुको विकल्प थिएन’, उनले भने, ‘यहाँ ठूलो रोगको उपचार त हुँदैन तर सानातिना रोग लागे, घाउचोट लागे नजिकै उपचार गर्न पाइने भयो, ज्वरो आयो, टाउको दुख्यो भने औषधि पनि गाउँघरमै पाइने सुविधा आयो ।’

लेबाङमा करिब छ सय घरधुरीका छन् । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले हाल एक अहेव र एक कार्यालय सहयोगीको व्यवस्था गरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको भन्दै थप स्वास्थ्यकर्मीसहित जनशक्ति विस्तारै बढाउँदै जाने बताए । एकाइ सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरेको अध्यक्ष घर्तीमगरले जानकारी दिए ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० पुष १९, १५: ०२

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० पुष १९, १५: ०२

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष १९, १५: ०२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...