
काठमडौं । परराष्ट्रमन्त्री एन.पी. साउदको निमन्त्रणामा विदेशमन्त्री डा. एस. जयशंकर हिजो बिहिबार नेपालको औपचारिक भ्रमणमा आएका छन् ।
विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा गर्दै दुई मन्त्रीको सहअध्यक्षतामा हिजो भारत–नेपाल संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ ।
सन् २०२१ को जनवरीमा सम्पन्न भारत–नेपाल संयुक्त आयोगका छैठौं बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरुको संयुक्त आयोगले प्रशंसा गर्यो । संयुक्त आयोगको बैठक पश्चात, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच सहमतिपत्ररसमझदारीपत्रको आदान प्रदान भयो ।
नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच सहमति कायम भएको छ । नयाँ सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि बजेटको सीमा ५ करोडबाट बढाएर २० करोड पुर्याइएको छ ।
दीर्घकालीन ऊर्जा व्यापारका लागि भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अन्तर्गत दश वर्षको अवधिमा नेपालबाट भारततर्फ हुने विद्युत निर्यातको परिमाण १०,००० मेगावाटसम्म पुर्याउने र यसका लागि नेपालको जलविद्युत उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभदायी लगानीलाई प्रोत्साहन गर्न सबै उपायहरु अपनाउने कुरामा दुवै पक्ष सहमत भएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा निर्मित मुनाल स्याटेलाइटका लागि न्युस्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच प्रक्षेपण सेवा सम्झौता भएको छ । नेपाली विद्यार्थीले बनाएको यो स्याटेलाइट बिना शुल्क भारतीय प्रक्षेपण रकेटबाट प्रक्षेपण गरिने छ ।
एनटीपीसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहकार्यका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपत्रले एनटीपीसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जामा सहकार्यका लागि खाका तयार पार्नेछ ।
भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले रक्सौल–परवानीपुर लाइनको दोस्रो सर्किट, कटैया–कुशाहा लाइनको दोस्रो सर्किट र नयाँ नौतनवा–मैनहिया लाइन गरी भारत र नेपालबीच रहेको तीनवटा १३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरे ।
त्यस्तै दुवै मन्त्रीको उपस्थितिमा जाजरकोटका भूकम्प पीडितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौं चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरियो ।
उक्त राहत सामग्रीमा भूकम्पबाट प्रभावित मानिसहरुका लागि २०० वटा प्रिफ्याब घरहरु, १२०० वटा ब्ल्याङ्केट, १५० वटा त्रिपाल र २००० वटा स्लीपिङ् ब्याग रहेका छन् । २०० वटा प्रिफ्याब घरहरु मध्ये २० वटा घरहरु आज हस्तान्तरण गरियो भने बाँकी घरहरु आउँदो केही साताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिने छन् ।
साथै, जाजरकोटमा हालै गएको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न भारत सरकारले करिब १००० करोड आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा गरे । जसको ठूलो हिस्सा अनुदान सहायता अन्तर्गत रहने छ ।
भारतीय विदेशमन्त्रीले नेपालका सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल र नेपालका सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरे । यी भेटघाटमा पारस्परिक हितका द्विपक्षीय विषयमा कुराकानी भएको थियो ।
भारतीय विदेशमन्त्रीले नेपालका अन्य वरिष्ठ राजनीतिक नेताहरुसँग पनि भेटघाट गरेका छन् । नेपालका परराष्ट्रमन्त्रीले विदेशमन्त्रीको सम्मानमा रात्रि भोजको पनि आयोजना गरेका थिए ।
भारतीय विदेशमन्त्रीले आज भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवन सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा भूकम्पपछिका ५९ वटा पुनर्निर्माण परियोजनाको उद्घाटन गर्नेछन् ।
‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत छिमेकीबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको हो । भारतीय विदेशमन्त्री आज नै भारत फर्कने कार्यक्रम रहेको छ ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...
काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...