नारायणगढ-मुग्लिन सडक तीन साता बन्द हुँदै – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

नारायणगढ-मुग्लिन सडक तीन साता बन्द हुँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए ।

उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ । सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई/तीन घण्टा राम्रो गरी काम भएको छ ।’ यथाशीघ्र छिटो काम सक्न भनिएको उनले बताए । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ ।

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकरी दिए । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो ।

आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताए । गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उनले जानकारी दिए । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ ।

राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् ।

सम्बन्धित समाचार

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०८० पुष २५, १३: ५३

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०८० पुष २५, १३: ५३

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
  • २०८० पुष २५, १३: ५३

लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ ।यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा...