नेपाल-भारत सीमा विवाद समाधानका लागि काम भइरहेको छ: मन्त्री साउद – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

नेपाल-भारत सीमा विवाद समाधानका लागि काम भइरहेको छ: मन्त्री साउद

डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको जानकारी दिए ।

“कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारततर्फ र भारततिरको नेपालमा आएको छ”, मन्त्री साउदले भने, “यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ ।”

नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेको मन्त्री साउदले बताए । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुङ्ग्याउने प्रयास भइरहेको उनो भनाइ थियो । मन्त्री साउदले भारतका विदेशमन्त्री डा एस जयशङ्करले हालै गरेको नेपाल भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे ।

“भारतलाई १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने, पञ्चेश्वर जलविद्युत् आयोजना सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई रु १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायत सम्झौता भएका छन्”, उनले भने, “दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण सार्थक रह्यो ।”

पञ्चेश्वर परियोजना ‘ब्रेक थ्रु’को विन्दुमा
मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरेका छन् । उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने बताए ।

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिङ्गो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो । पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्याउने मन्त्री साउदले विश्वास व्यक्त गरे । उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजना अगाडि बढाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या घट्ने बताए ।

‘विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ’
मन्त्री साउदले इजरायलमा बिद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारको तर्फबाट प्रयास भइरहेको बताए । “विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ”, उनले भने, “मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उनले दोस्रो युद्धविरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गरे ।

“कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ । दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ”, उनले भने, “पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ । विपिन सुरक्षित हुनुहुन्छ । उहाँ चाँडै रिहा हुनुहुनेछ ।”

मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरु नेपाल सरकारको अनुमति लिएर त्यहाँ भर्ती नभएको स्पष्ट पारे । उनले विद्यार्थी भिसा, भिजिट भिसालगायतमा रुस पुगेका त्यहाँको सेनामा भर्ती भएको बताए । रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ शव अहिले त्यहाँको शवगृहमा राखिएको मन्त्री साउदले जानकारी दिए ।

शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल भइरहेको मन्त्री साउदको भनाइ छ । उनले भने, “त्यसबाहेक एक सय ३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेको र जोखिममा परेका भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।”

सम्बन्धित समाचार

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०८० पुष २७, १३: २०

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
  • २०८० पुष २७, १३: २०

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०८० पुष २७, १३: २०

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...