कोरोना भाइरसबाट मुक्ति पाउन आज संसार एक जुट र एकाग्र भएर लाग्न परेको छ र देशहरु आफ्नो श्रोत, साधन र स्वास्थ्य संस्था एवं जनशक्तिलाई कोरोनाको रोकथाम र यसबाट हुन गइरहेको मानविय क्षति न्यून गर्न निकै कोशिस गरिरहेका छन् । कोरोनाको महामारीसंग जुध्न विश्वका एक से एक विकसित देशहरुमा पनि साधन, श्रोत र स्वास्थ्य उपकरणहरुको अभाव टड्कारो देखिएको अवस्थामा हामीसँग साधन श्रोत र उपकरणहरुको कमी हुनु कुनै अनौठो विषय रहेन । तर फरक के हो भने संजोग बस हालसम्मको संक्रमणको तथ्यांकलाई हेर्दा हामीले कोरोनाको महामारीले अन्त ल्याएको जस्तो मानवीय क्षति भोग्नु परेको छैन । आशा गरौँ त्यस्तो नपरोस पनि । हालैका दिनमा जसरी पकेट क्षेत्रहरु बनेर (उदयपुर, जनकपुर, वीरगंज) संक्रमण देखिन थाले, यिनले निम्त्याउने त्रासदीसंग लड्न हामी सक्षम छैनौं। त्यसैले यो महामारीबाट उम्कने एकमात्र उपाय भनेको लकडाउन मार्फत भएपनि कोरोना संक्रमणको पूर्णतया नियन्त्रण र सिमित मात्रामा रहेका कोरोना उपचारका साधन र श्रोत माथप भार पर्न नदिनु नै हो । यस कार्यमा आम नेपाली जनसमूदायले विभिन्न कुराहरु भोगेर भए पनि सहयोग गरिरहनु भएको छ । तर आउंदा दिनमा संक्रमण घट्दै गयो भने अहिलेको अवस्थालाई खुकुलो बनाउने तर संक्रमण बढ्न नदिने कुरा चाहि वर्षोदेखि हामीले अपनाएका स्वास्थ नीति, योजना र कार्यक्रमहरु अनि तिनीहरुले सिर्जना गरेका पूर्वाधार, दक्ष जनशक्ति, श्रोत साधनसँग यिनीहरुको यथोचित वितरण तथा उपयोग गर्ने परिपाटीमा नै भर पर्ने छ ।
स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन देशले अगिंकार गरेका राष्ट्रिय स्वास्थ्य नीति १९९१, राष्ट्रिय स्वास्थ नीति २०१४ र यसको परिमार्जित रुप ‘राष्ट्रिय स्वास्थ्य नीति २०१९ ले नीतिगत रुपमा राम्रा प्रावधानहरु राखेर, नीजि क्षेत्र तथा गैरसरकारी क्षेत्रलाई पनि समेटेर स्वास्थ सेवा प्रदान गर्ने अभ्यास गरेकै छ । स्वास्थ्यसँग सम्बन्धित जनशक्ति विकास गर्ने काममा नीजि क्षेत्र निकै उत्साहका साथ लागे पनि मुनाफा मुखी एवं शहर केन्द्रित प्रवृत्तिले गर्दा ग्रामीण जनता एवं शहरकै पनि असहाय एवं निम्न आयभएका जनताहरुको स्वास्थ्य सेवाको पहुँच, सुलभ र प्रभावकारी पहिले देखि नै छैन । अझ कोरोना जस्तै सरुवा रोग को सन्दर्भमा त हाम्रा नीतिहरु व्यवहारमा काठमाडौंको घेरा बाहिर निस्कन नसकेको यथार्तता छ । जसले गर्दा कोरोनाको संक्रमण रोक्न स्थानीय तहमा गर्नु पर्ने कामहरु गर्न सकिने अवस्था छैन र काठमाडौं कै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको मात्रै मुख ताक्नु पर्ने अवस्था छ । हालैका वर्षहरुमा कोरोना जस्तै सरुवा रोग को प्रकोप बढ्दो छ, जस्तो कि २००३ को सार्स ले निम्त्याएको संकट र २००९ को स्वाँइन फ्लु (H1N1) लाई लिन सकिन्छ । जसले गर्दा हामो स्वास्थ्य सेवा र पुर्वाधारहरुले यस्तारोगहरुलाई भविष्यमा रोकथाम गर्न संकट व्यवस्थापन भन्दा पनि प्रतिरोधात्मक पद्धतिबाट काम गर्नु अति आवश्यक छ । भलै नीति, नियम र कार्यक्रमहरुमा यस्ता कुराहरु उल्लेख गरिए पनि व्यवहारिक पक्ष सदैव कमजोर रहने हुनाले हामी संधै संकट व्यवस्थापन कै प्रक्रियामा अल्मलिएका छौं जसको अन्त्य आजको टड्कारो आवश्यकता हो ।
कोरोना भाइरसको महामारीले हाम्रो स्वास्थ्य क्षेत्रमा खासगरी सरुवा रोग रोकथामका लागि केही सिकाईहरु छाड्ने नै छ । जस्तो किः–
१. स्वास्थ्य सम्बन्धि संकट व्यवस्थापनमा पूर्व तयारी एवं पारदर्शी एवं चुस्त व्यवस्थापकिय परिपाटीको आवश्यकता ।
२. सरुवारोगको रोकथाम एवं आधारभूत अनुसन्धानका लागि विकेन्द्रिकृत पूर्वाधार एवं जन शक्तिको विकास एवं परिचालन ।
३. यथार्थतापरक दृष्टिकोण, जनमानसमा विश्वास दिलाउन सक्ने सरकारी व्यवहार र विषयगत ज्ञान र क्षमताको अधिकतम प्रयोग ।
“त्यसैले एउटा नौलो आशा गरौ । कोरोना संगै सत्तासिन एवं शक्ति केन्द्रहरुको जुनै पनि वेला प्रयोगमा रहने ठेकेदारी प्रवृतिबाट नेपाली समाजले मुक्ति पाओस् । एकैसाथ नेपाली समाजले दुइवटा महामारीलाई जितोस । आखिर आशा गर्ने कुरामा किन कन्जुसाई गर्नु ।“
कोरोनाको कहरले सरुवा रोगहरुको रोकथाम एवंम नियन्त्रणमा देशले ठोस कदमहरु चाल्ला र संविधान प्रदत नागरिकको हक एवं हाल ल्याएको राष्ट्रिय स्वास्थ्य नीति २०१९ अनुसार जनस्वास्थ्यका कामहरु प्रभावकारी रुपमा अगाडी बढेको देख्नु बाहेकको अर्को गतिलो विकल्प छैन । अर्को अर्थ मा नीति नियम र सरकारी कानुनका पानाहरुमा होइन, सर्वसाधारण नेपालीले व्यवहारत थाहा पाउने कार्यक्रमको आशा गर्नु बाहेक विकल्प छैन । किनकी आशाले मनोबल बढाउंछ भन्छन् र त्यस्तै मनोवलले कतिपय रोगहरुसंग लड्न सघाउँछ । सायद कोरोनाको कहरलाई न्यून गर्न हाम्रो मनोबलनै सब भन्दा भरपर्दो आधार रहेको यथार्थतालाई नकार्न मिल्दैन ।
कोरोनाको प्रसङ्गमा कुरा गर्दा ताइवानको सफलतालाई बुझेर पाठ सिक्नु आवश्यक छ । हालसम्म कोरोनाले ताइवानमा ४२८ व्यक्तिलाई संक्रमित गरेको छ । जस मध्ये ३४३ जनामा रहेको संक्रमण बाहिरबाट आउदा ल्याएको हो भने संक्रमितमध्ये ६ जनाले ज्यान गुमाएको अवस्था छ । चीन (जहाँ कोरोनाको पहिलो प्रभाव देखियो) बाट खासै टाढा नरहे पनि ताइवानले पाएको सपलता पछाडि केही रोचक प्रसङ्ग छन् जुन हाम्रा लागि पनि भविष्यमा उत्तिकै फलदायी सावित हुन सक्छन् ।
पहिलो कुरा त ताइवानले २००३ को सार्स संकट र २००९ को (H1N1) बाट सिकेर यस्ता रोगसँग लड्नको लागि तयार गरेको व्यवहारिक योजना र त्यसको चुस्त व्यवस्थापन एवं प्रयोग नै हो । दोस्रो यथार्थता अझ रोचक मानिएको छ त्यो हो त्यहाँको नेतृत्वले अपनाएको विषयगत ज्ञानको प्रयोग । ताइवनका उपराष्ट्रपति चेन चीन-जेन स्वयं महामारी विज्ञान एवं मानव अनुवंसिकी मा जोन हप्किन्स विश्वविद्यालयबाट १९८२ मा विद्यावारिधी गरेका विशेषज्ञ हुन् । उनको यो विषयगत ज्ञान र व्यवहारिक कार्यकौशलताले पनि आज संसारका धेरै देशले ताइवानले प्राप्त गरेको सफलताका आधारहरु जान्न बुझ्न खोजिरहेका छन् . यसको सिधा अर्थ हुन्छ कि विषयवस्तुका विज्ञहरुको सल्लाह र योजनालाई राजनैतिक नेतृवले स्वीकार्ने हो भने हरेक क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्छ भन्ने कुरामा विश्वास लिन सकिन्छ । के हाम्रो राजनीतिक नेतृत्वले आगामी दिनमा यस्तो कदम चाल्ला, यस्तो व्यवहार देखाउला, आशा मात्र गर्न सकिन्छ तर भर पर्न सकिन्न ।
भर पनि कसरी पर्नु र ? देश कोरोनाको कहरले पिडित भएका बेला एउटा मेडिकल डाक्टर जो केहि समय सम्म स्वास्थ्य राज्यमंत्री थिए, उनको हालको काठमाडौँ यात्राको समाचार सुन्दा त्यस्तो यात्रा उनको प्रभाव क्षेत्रतिर (जनकपुर) बढ्दो संक्रमण नियन्त्रणको सरसल्लाहका लागि भएको भए साँच्चै कोरोनाको रोकथाममा सरकार तल्लिन छ भन्ने सन्देश जान्थ्यो । तर सन्देश फरक आइरहेको छ . राजनितिक नेतृत्व एवं सत्तासिनहरुको बिगत र वर्तमान व्यवहारहरुमा फगत कोरोनले पनि फरक ल्याउन सकेन । नेपालीमा अन्तिम स्वाश भइन्जेल आश मार्न हुदैन भन्छन् । त्यसैले एउटा नौलो आशा गरौ । कोरोना संगै सत्तासिन एवं शक्ति केन्द्रहरुको जुनै पनि वेला प्रयोगमा रहने ठेकेदारी प्रवृतिबाट नेपाली समाजले मुक्ति पाओस् । एकैसाथ नेपाली समाजले दुइवटा महामारीलाई जितोस । आखिर आशा गर्ने कुरामा किन कन्जुसाई गर्नु । बाँकी सबै त बिस्तारमा सुन्नु र देख्न पाइने नै छ ।
लेखक सांगे -तनहुँका निबासी हुन्। (हाल : पर्थ, अष्ट्रेलिया )
#राम पण्डित #दृष्टिकोण @ram2pandit
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...