
काठमाडौं । नेपालको सबैभन्दा पुरानो र संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा नेतृत्वको टकरावले सँधै बहस, असहमति, विवाद र छलफलका विषय सार्वजनिक हुने गर्छन् । पार्टीको १४ औं महाधिवेशनमा समेत नेतृत्व चयनका लागि दुई पक्षबीच प्यानल बनाएर नै नेतृत्वको लागि प्रतिष्पर्धा भयो ।
यहीबीचमा दुई वर्षअघि राजधानीमा भएको महाधिवेशनबाट पार्टीमा देखिएको संस्थापन पक्ष र इतर पक्षबीचको बिवादले गत वर्ष भएको स्थानीय तह, संघीय र प्रदेश तहको निर्वाचनपछि कुन समूहले कति उम्मेदवार उठाएको र कतिले जित्न सफल भएको विवरणलाई जोड घटाउ गरी बलियो र कमजोर भएको आङ्कलन गर्ने गरिएको छ ।
यही मेसोमा आगामी फागुन २० गतेदेखि ६ वर्षे पदावधि समाप्त गरी विदाइ हुन लागेका राष्ट्रिय सभाका २० मध्ये १९ सिटमा गत विहीबार निर्वाचन सम्पन्न भएको छ ।
राष्ट्रिय सभाको यो निर्वाचनमा भने नेपाली कांग्रेसलाई आशातित सफलता मिलेको छ । संघीय संसदको माथिल्लो सदन ५९ सदस्यीय राष्ट्रिय सभामा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेसको हाल १० जना मात्र सदस्य छन् । तर सत्ता गठबन्धनसँगको सहमतिपछि गत विहीबार भएको निर्वाचनमा काग्रेसले रिक्त १९ सिटमध्ये १० सिटमा आफ्ना उम्मेदवार उठाउन सफल भयो र सबै उम्मेदवारहरुले विजय हासिल गरिसकेका छन् ।
१९ सिटमा कांग्रेसले गठबन्धन दलसँगको सहमतिमा १० सिटमा आफ्ना उम्मेदवार उठाउन पाउनु र ती सबै सिटमा विजय हासिल गर्न पाउनु उपलब्धी थियो ।
यो निर्वाचनले कांग्रेसबाट उम्मेदवार हुनेले विजय हासिल गरी सफलता पाउने मात्र होइन, कांग्रेसको आन्तरिक राजनीतिमा पनि सकारात्मक प्रभाव पारेको छ । पार्टीको महाधिवेशन, संघीय संसद र स्थानीय तहको निर्वाचन हुँदै संसदीय दलको निर्वाचन र कोशी प्रदेश सरकार परिवर्तन र नेतृत्व लिने विषयलाई लिएर कांग्रेसका शीर्ष नेताबीच नै विवाद चुलिँदै गएको थियो ।
मुलुकको राजनीति र कांग्रेस भित्रको राजनीतिमा समेत विशेष प्रभाव राख्ने प्रभावशाली नेताका कारण संगठनमा आफ्नो पल्ला भारी गराउनका लागि खेलिने खेलले गर्दा पार्टी भित्र बिबाद चुलिँदै आएको हो ।
कांग्रेसको राजनीतिमा संस्थापन पक्ष र इत्तर पक्षभन्दा आफूलाई पृथकधारको नेताको रुपमा स्थापित गर्न क्रियाशिल पार्टीका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने र जिताउन गरिने प्रयासमा पार्टी नेताहरुबीच अभूतपूर्व उत्साह र एकता देखिएको छ ।
सिटौलाले तेश्रो धारको नेतृत्व गर्दै पार्टी संस्थापनबिरुद्ध विद्रोह गर्दा उनलाई साथ दिएका पार्टी महामन्त्री गगनकुमार थापा, कोशी प्रदेश राजधानी रहेको मोरङ जिल्ला र विराटनगरबाट राजनीतिमा क्रियाशिल तथा गत महाधिवेशनमा सभापति शेरबहादुर देउवाका प्रत्यासी डा.शेखर कोइराला र झापाबाटै राजनीति गर्दै आएका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा जस्ता नेताले सिटौलालाई चुनावमा जिताउन निकै क्रियाशिलता देखाएका थिए ।
राष्ट्रिय सभामा उम्मेदवारी दिएपछि सिटौलाको पक्षमा देखाएको सहयोगले पार्टीका फरक धारका नेतामा एकताको सन्देश प्रभाव गरेको हो ।
कहिले पार्टीको मूल नेतृत्वको सारथी बनेर राजनीतिक परिवर्तनलाई संस्थागत गर्न लागिपर्ने त कहिले विचार समूहको नेतृत्व गर्दै पार्टी नेतृत्वलाई विधानअनुसार पार्टी कार्यकर्ताको हितमा कार्यक्रम ल्याउन दबाब दिने कांग्रेसको राजनीतिबाट राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति पुनः देखाएका सिटौला एक पटक राष्ट्रिय राजनीतिको चर्चामा आएका छन् ।
गत वर्ष भएको राष्ट्रपतिको निर्वाचनमा उनको नाम नआएको होइन । सो विषयमा उनले कति लविङ गरे वा गरेनन् भनेर कहीँ कतै विवाद भएन तर उनी राष्ट्रपतिका लागि दौडीरहेका छन् भन्ने हल्ला भने निकै फैलियो ।
कोशी प्रदेशमा नेपाली काग्रेसभित्र बलियो पकड जमाउन सफल सिटौलाले पार्टीको प्रदेश महाधिवेशनबाट प्रदेश अध्यक्ष र प्रदेश संसदीय दलको नेतृत्व समेत आफ्नो समूहलाई दिलाउन सफल भए । प्रदेश अधिवेशन र संसदीय दलको चुनावमा सिटौला पक्षधर झापा जिल्लाको पार्टी पूर्वसभापति उद्धव थापाले विजय हासिल गरे ।
सिटौला निकट थापाले प्रदेश अध्यक्षमा कोइराला निकट नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरेलाई र संसदीय दलको निर्वाचनमा पनि कोइराला निकट प्रदेश सभा सदस्य केदार कार्की (हाल मुख्यमन्त्री) लाई पराजित गरे । त्यसपछि कोशीमा कोइराला र सिटौलाबीच संगठनमा प्रभाव जमाउन प्रतिष्पर्धा चल्दै आएको थियो ।
त्यसो त संसदीय दलका नेता भएका थापालाई अकस्मात वाईपास गरेर पार्टी नेतृत्वलाई समेत जानकारी नदिएर कोइराला निकटका कार्की प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रस्ताव र समर्थनमा प्रदेश मुख्यमन्त्री भएपछि कोइराला र सिटौलापक्षबीच कोशीमा टकराव थियो ।
यो टकराव वार कि पारको स्थितिमा नगएको होइन । सिटौला र कोइरालाबीचका राजनीतिकमा देखाएको उच्चस्तरको चरित्रले गर्दा थापाले प्रदेश संसदीय दलको नेताबाट दिएको राजिनामा फिर्ता भयो भने कार्कीको मुख्यमन्त्री पदले निरन्तरता पायो ।
यता सिटौला निकटका उनै उद्धव थापासँग झापा जिल्ला सभापतिको लागि पार्टीभित्र प्रतिष्पर्धा गरेपछि सिटौलासँग तत्कालदेखि टाढिएका काग्रेसका हालका महामन्त्री विश्वप्रकाश शर्माको सम्वन्ध पनि तिक्ततापूर्ण थियो । यहाँसम्म कि एक वर्षअघिको स्थानीय तहको निर्वाचनमा झापामा महामन्त्री शर्मा निकटका एकजनाले मात्र झापाको स्थानीय तहमा प्रमुखको टिकट पाएर चित्त बुझाउनु प¥यो तथापी उनी पराजित भए ।
कोशी प्रदेश संसदीय दलको नेताको चाहना राखेका पूर्वसांसद तथा संविधानसभा सदस्य अमृत अर्याल पनि सिटौला समूहका कारण आफू अवसरबाट बञ्चित भएको महसुस गरिरहेका थिए । तर सिटौला राष्ट्रिय सभाको अध्यक्ष बनेर शान्तिप्रकृयाका वाँकी काम फत्ते गर्न र संवैधानिक परिषद्मा सदस्यको हैसियतले सरकारलाई सहज बनाउन भूमिका खेल्ने गरी कोशी प्रदेशबाटै राष्ट्रिय सभा सदस्य बनाउने निर्णयसँग सिटौलासँग प्रतिष्पर्धा गरेका र असन्तुष्ट कोशी प्रदेशका नेताहरु उनको पक्षमा खुलेको देखिन्छ ।
सिटौलालाई संघीय संसदको एउटा सदनको नेतृत्वमा पुर्याउन सकिन्छ कि भन्ने विश्वास वा उनी सक्रिय राजनीतिबाट संवैधानिक भूमिका व्यस्त भए आफूहरुको राजनीतिक कित्ता क्लियर हुनछ भन्ने जुनसुकै उद्देश्य लिए पनि कोशीबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने कांग्रेसका सारा नेताहरु सिटौलालाई विजयी गराउन लागेको देखिन्छ ।
गुट, उपगुट, धोखा, र अवसरको लागि भएका अस्वस्थ प्रतिष्पर्धाबाट कमजोर भएको कोशीको कांग्रेसलाई सिटौलाको उम्मेदवारी एकताको सन्देश दिने कारण बन्न पुग्यो ।
सिटौलाको उम्मेदवारीलाई सघाउन आफ्नो राजनीतिक क्षेत्र बागमति प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनमा उपस्थित नभइ महामन्त्री गगन थापाको चुनावको अघिल्लो दिनदेखिको क्रियाशिलता, साथ र समर्थनले पार्टीका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई मात्र होइन, कोइरालाप्रति रुझान राख्ने कोशी प्रदेशका कार्यकर्तासँग पनि गगनको विश्वासयोग्य छलफल, भेटघाट हुन पुग्यो ।
गत वर्ष भएको संसदीय दलको निर्वाचनमा पार्टी संस्थापन पक्षबाट उम्मेदवारी दिएका शेरबहादुर देउवाबिरुद्ध उम्मेदवारी दिन लागेका कोइरालालाई गगनको जोर बल र दबाबले पछि सारिएको थियो भने कोशीमा पार्टीको निर्णय विना नै एमालेको समर्थनमा मुख्यमन्त्री कांग्रेसबाट भएकोमा असन्तुष्ट जनाएका थिए ।
त्यसैले कोइरालासँगै गगनले पनि सिटौलाको पक्षमा लागेर गुन तिर्ने मौका पाएका थिए । त्यस्तै, पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, मीनबहादुर विश्वकर्मा जस्ता नेताको सहयोगले जुन सम्भव भयो ।
राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन माघ १० गते विहान पार्टीका प्रभावशाली नेता डा. कोइरालाले आफ्नो निजी निवास कोइराला निवासमा चियापान आयोगना गरेर कांग्रेसका सारा नेता र कार्यकर्ताहरु एक छन् भन्ने सन्देश उम्मेदवार भएका सिटौलासँगै बसेर दिएका थिए ।
त्यति मात्रै होइन्, पार्टीले १२ गतेदेखि शुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानको झापाको भद्रपुरमा सिटौला, शर्मा, अर्याल र केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले महामन्त्री गगन थापालाई झाण्डा हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।
राष्ट्रिय सभाको लागि रिक्त २० मध्ये कोशी प्रदेशमा रिक्त २ सिटमा सत्ता गठबन्धनका बिरुद्ध एमाले र राप्रापाको गठबन्धन भएको थियो । जहाँ गठबन्धनको सुविधायुक्त बहुमत थियो ।
जसले कांग्रेसमा देखिएको बिबादलाई धेरै हदसम्म समन गर्न सफल भयो भने कांग्रेस र एमालेका प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुलाई भने पराजित गरेका थिए ।
कोशी प्रदेशमा सत्ता गठबन्धनसँग प्रदेशसभा सदस्यहरु ४७ जना मतदाता र स्थानीय तहतर्फ १५९ जना प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता थिए । जहाँ सत्ता गठबन्धनतर्फ प्रदेश सभामा कांग्रेसका २९, माओबादी केनद्रका १३, नेकपा एसका ४ र जसपा नेपालका एक गरी ४७ जना मतदाता थिए ।
त्यस्तै, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष कांग्रेसका ११५,माओबादी केन्द्रका ३१, नेकपा एसका ७, र जसपा नेपालका दुई गरी १५९ मतदाता थिए ।
उता विपक्षी गठबन्धनतर्फ प्रदेश सभा सदस्यमा एमाले ४० र राप्रपा ६ जना तथा स्थानीय तहका अध्यक्ष उपाध्यक्ष प्रमुख उपप्रमुख एमाले ११०,राप्रपा ४ गरी ११४ जना थिए । धराना नगरपालिकाका मेयर हर्क साम्पाङ भने कुनै पनि उम्मेदवारलाई भोट दिएका थिएनन् ।
राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलमा राष्ट्रिय सभाका सदस्यको मतभार ५३ हुन्छ भने स्थानीय तहका प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्षको ४९ रहेको हुन्छ ।
यसरी गठबन्धनमा सिधै बहुमत देखिए पनि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले समेत माओबादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई भोट नहाली एमालेकी रुक्मिणी कोइरालालाई भोट हालेका थिए । यता विपक्षी गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई समेत नेकपा एमालेका एक प्रदेश सभा सदस्य र ४ स्थानीय तहका जनप्रतिनिधिले भोट हालेका थिएनन् ।
त्यसैले भन्न सकिन्छ कि कांग्रेसका मतदाताहरु जो जनप्रतिनिधि छन्,। उनीहरु माओबादीको पक्षमा भोट माग्न वा दिन तयार रहेनछन् भन्ने देखाएको छ । यसबाट स्थानीय स्तरमा नेकपा एमालेका कार्यकर्ताहरु राप्रपाप्रति र कांग्रेसका स्थानीय तहका जनप्रतिनिधिहरु माओबादीसँग असन्तुष्ट छ । (नयाँ विकल्प साप्ताहिकबाट साभार)
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...