शैक्षिक अभियन्ता धुर्व माडसाब रहनुभएन – Naya Bikalpa
February 21, 2024, Wednesday

शैक्षिक अभियन्ता धुर्व माडसाब रहनुभएन

ध्रुव माडसाबको जन्म नैकापको तीनथानामा विसं २००१ सालमा भएको हो । उहाँका पिताजी टंकनाथ र माता इन्द्रकुमारी आचार्यका गर्भबाट तीन दिदीबहिनी र एउटै छोरो धुर्व माडसाब जन्मिनुभएको थियो ।

म २०२३ सालमा थानकोट इमाखेलको मङ्गलोदय स्कुलमा सात कक्षामा पढ्थेँ । त्यो स्कुलमा आठ कक्षासम्म पढाइहुन्थ्यो । अब छिट्टै यसले हाई स्कुलको स्वीकृति पाउँदैछ भन्ने चर्चा सुन्थ्यौँ । हामी विद्यार्थीलाई एसएलसी परीक्षा दिन टाढा जान नपर्ने भयो भन्ने खुसी थियो ।

मङ्गलोदयले हाई स्कुलको स्वीकृति पाए लगत्तै नयाँ शिक्षकहरूको अनुहार देखिन थाल्यो । नयाँ शिक्षककै स्थानमा धुर्व माडसाब पनि पढाउन आउनुभयो । अरू शिक्षकहरूबाट चर्चा सुन्थ्यौँ, धुर्व माडसाबले त उपत्यका पश्चिमका धेरै विद्यालय सञ्चालन गर्नुभएको रे ! कालीमाटीको जनप्रभात स्कुल, सीताराम स्कुल पनि उहाँले नै सञ्चालन गराएको रे ।

उहाँ हाई स्कुलका पठ्यक्रममा भएका सबै विषय पढाउन सक्नुहुन्छ रे ! उहाँले बिएससी पास गर्नुभएको छ रे ! हाम्रो कक्षामा उहाँ विज्ञान विषय पढाउने गुरु भएर आउनु भएको थियो ।

स्कुलमा पढाउने गुरुको असाध्यै अभावको समय थियो । एसएलसीभन्दा माथि पढाउने योग्यता भएका मानिस कालिमाटीदेखि थानकोटसम्म नै हातका औँलामा गन्न सक्ने स्थिति थियो । यस्तो वेलामा बिएससी पास गरेको गुरु भनेपछि उहाँप्रति हाम्रो बेग्लै आदरभाव हुन्थ्यो ।

माथिल्ला पट्टिका दाँत हल्का अगाडि आएका, केही श्यामल वर्ण, अग्लो र पातलो काया, कालो कपाल, अत्यन्तै हसमुख स्वभाव उहाँको थियो । कक्षामा प्रवेश गरेपछि नै ठट्टा, विनोद गरेर विद्यार्थीलाई दङ्गै पार्नुहुन्थ्यो ।

उहाँको सबैभन्दा प्रभावकारी विशेषता के भने कक्षामा एक पटक पढाइदिएपछि त्यो पाठ नबुझिने वा दोहो¥याएर किताब पल्टाउने जरुरत नै पर्दैनथ्यो ।

त्यो जमानामा काठमाडौँबाट थानकोटसम्म बस चल्दैनथे । आजभोलिको जस्तो बस सुविधाको कल्पना गर्ने युग त्यो थिएन । हाम्रो स्कुल बिहान छ बजेदेखि साढे नौ बजेसम्म मात्र चालु हुने ।

धुर्व माडसाब त कमिज, लुँगी र चप्पलको भरमा साइकल चढेर छ नै बजे स्कुल पुगिसक्ने । धुर्व माडसाबको क्लास भ्याउन विद्यार्थीहरूलाई हस्याङफस्याङ र दगुरादगुर नै गर्नुपर्नेहुन्थ्यो ।

मङ्गलोदयले हाई स्कुलको स्वीकृति पाएपछि अन्य विषयका शिक्षकहरू पनि थप हुँदै थिए । अङ्ग्रेजी शिक्षकमा उदयराज श्रेष्ठ, राजनीतिक शास्त्रमा राजु पण्डे, अभिनारायण घिमिरे, मञ्जु गिरी, हरिबहादुर गिरी, हरिचरण सुवेदी, विष्णुबहादुर लामा, यशोदा लामा, सूर्यबहादुर नकर्मी आदि ।

प्रधानअध्यापक पदका लागि स्नातक पास गरेकै शिक्षक आवश्यक पर्ने हुनाले राजनीतिक शास्त्रमा एमए पढ्दै गरेका तोकबहादुर लामालाई नियुक्त गरिएको थियो । यो सङ्गठन लामो समयसम्म चल्न सकेन । प्रधान अध्यापक र व्यवस्थापन पक्ष बीच आपसी द्वन्द्व र वैमनस्यता ह्वात्तै बढ्यो । यो विवादले अभिभावक, विद्यार्थी र शिक्षक दुई भागमा विभाजित हुन पुगे ।

फलतःथानकोटकै चेकपोस्टमा सञ्चालन भइरहेको प्रभात मिडिल स्कुललाई हाई स्कुलको रूपमा विकास गरी चलाउन थालियो । मङ्गलोदयतर्फका धेरै शिक्षक र विद्यार्थीहरू यतै स्थानान्तरण गरी आए । सुरुमा यसको प्रधानअध्यापक तोकबहादुर लामा नै रहनुभयो । दुई वर्षपछि स्कुलको नेतृत्व धुर्व माडसाबले गर्ने जिम्मेवारी दिइयो ।

त्यो बेला योग्यताभन्दा पनि पढाउने ल्याकत र गुणलाई प्राथमिकता दिइन्थ्यो । म स्कुलमा राम्रो पढ्ने विद्यार्थीकै स्थानमा थिएँ । मैले २०२५ सालमा एसएलसीे दिनेबित्तिकै प्रभात स्कुलले मलाई पनि शिक्षक पदमा नियुक्ति दियो ।

धुर्व माडसाबसँगै पढाउन पाएँ भनेर म फुले थिएँ । प्रभात स्कुलका कक्षा पनि बिहान छ बजेदेखि साढे नौ बजेसम्म नै चलाइएको थियो । विद्यार्थीको चापका अनुपातमा शिक्षकहरू थपिँदै थिए ।

रामेश्वर गिरी, शिवहरि बस्नेत, तोपबहादुर कार्की, पुण्यबहादुर कार्की, गुणराज भट्ट, कृष्णबहादुर कार्की, हरिशरण भण्डारी आदि शिक्षक पढाउन आउनुहुन्थ्यो । सरकारी कोटाको दरबन्दी थिएन । निजी स्रोतबाट शिक्षकलाई तलब दिन समस्या नै हुन्थ्यो।

सबै शिक्षकको मासिक तलब एक सय दिने निर्णय भएपनि खास रकम भने दामासायी हिसाबमा मिल्थ्यो । खानाको रकम कटाई कुनै महिना साठी रुपियाँसम्म मिल्थ्यो ।

२०२५ सालदेखि शहीदगेट–थानकोट दुई वटा बस चल्न थालेका थिए । सो बसका मालिक गुर्जुधाराका ज्यापू साहु थिए । उनीसँग अनुनयविनय गरेर प्रभात स्कुलमा पढाउन आउने शिक्षकसँग आउजाउ भाडा नलिने प्रबन्ध मिलाइएको थियो ।

कुनै शिक्षक जागिरे थिए । कुनै क्याम्पस पढ्दै थिए । स्कुल छुटेर घरमा गई खान खान नभ्याइने देखेर धु्रव माडसाबले स्कुलसँगैको पाटीमा शिक्षकहरूलाई खाना खुवाउने व्यवस्था मिलाउनु भएको थियो ।  स्कुल छुटेपछि हामी सबै शिक्षक पाटीमा बसेर खाना खान्थ्यौँ ।

प्रभात मिडिल स्कुललाई हाई स्कुलमा स्तरोन्नति गरी चलाउनुमा शिक्षकहरूकै स्वाभिमान प्रमुख कारण हो । विद्यार्थीहरूलाई न्यूनतम कक्षा शुल्क तोकिएको भएपनि त्यसबाट स्कुलको खर्च व्यवस्थापन गर्न निकै कठिन थियो । त्यो वेला तराई, मदेसदेखि राँगा, भैँसी, खसी, बोकालाई चन्द्रागिरिकै पैदल बाटो हिँडाएर प्रभात स्कुलकै अगाडिबाट काठमाडौंसम्म ल्याइन्थ्यो । यसरी ल्याइने पशुहरूको कर लिने निर्णय गरियो ।

कर शुल्क तोकिएको थियो, खसी, बोकाप्रति गोटा रु.२५ पैसा र राँगा, भैँसीको प्रतिगोटा रु.५० पैसा लिनकोलागि गा.वि.स.सँग स्वीकृति लिइयो । व्यापारीले तीपशुहरू रातको समयमा बढी ल्याउँथे ।

त्यो रकम उठाउन शिक्षकहरूलाई सात–सातदिनको पालो तोकिएको थियो । यसरी यो शुल्क उठाएपछि स्कुल सञ्चालनमा निकै सहज भयो ।

यसरी पढाउने काम २०२८ सालसम्म चल्यो । यसै वर्षदेखि देशमा क्रमशःनयाँशिक्षा योजना क्रमशःलागुभयो । म आईएको परीक्षा दिएर फुर्सदमा थिएँ । ध्रुव माडसाबले भन्नुभो, ‘ए भुवनहरि, पाठ्यक्रम विकास केन्द्र सानोठिमीले व्यावसायिक तालिममा शिक्षकहरूले भागलिन अनिवार्य परिपत्र गरेको छ । जाऔँ तिमी र म तालिम लिन ।’

धुर्व माडसाब र मैले व्यावसायिक छ महिने कोर्स पास गरेको स्मरण छ । त्यही समयमा माडसाबले सोल्टी होटेलमा फलफूल आपूर्ति गर्ने ठेक्का पाउनुभएको थियो । उहाँले रणमुक्तेश्वरमा कोठा भाडामा लिएर फलफूल भण्डारन पनि गर्नुभएको थियो ।

माडसाबले लोकसेवा आयोगको शाखा अधिकृत पदकालागि परीक्षा दिनुभएको थियो । २०२९ सालमा उहाँ त्यसबाट उत्तीर्ण हुनुभयो । उहाँलाई हुलाक सेवा विभाग अन्तर्गत नियुक्ति मिल्यो । केही समयपछि गृह मन्त्रालयको नागरिकता वितरण टोलीमा सरुवा भई केही समय काम गर्नुभयो । गृहबाट पनि सरुवा लिएर उहाँ त्रिभुवन विमानस्थलको भन्सार अधिकृतमा पुग्नुभयो ।

धुर्व माडसाब अत्यन्त सक्रिय र टाठो व्यक्ति हुनुहुन्थ्यो । उहाँको कस्तो सूत्र थियो कुन्नि, भन्सारको बाटो तस्करले लुगाधुने मेसिन र फ्रिजको सतहमा जडान गरेर ल्याएका सुन धमाधम पक्रिन थाल्नुभयो । यसबाट सुनचरी बाजेका नामले उहाँ प्रख्यात हुनुभयो । यसरी उत्कृष्ट काम गरे बापत दोस्रो कार्यकालका लागिपनि त्यही भन्सारमा उहाँको पदस्थापन रह्यो ।

सुनिन्थ्यो, भन्सार अधिकृत माथि एक कार्यकालमै पनि अनेक आरोप लागेर कारवाहीमा पर्छन् । भन्सार अधिकृत पदमै रहँदा माडसाबले त गोरखा दक्षिण बाहु पदकसमेत प्राप्त गर्नुभयो ।

भन्सार पछि माडसाबको सरुवा शिक्षा मन्त्रालयमा भयो । उहाँको जन्मजात गुण शिक्षक नै थियो । सरकारी सेवाबाट निवृत्ति लिएर उहाँले आफ्नै घर तीनथानामा सुन्दर वन स्कुलको स्थापना र बाँकी सबै जीवन त्यसमा नै समर्पण गर्नुभयो ।

यस्ता कर्मठ र इमानदार माडसाब आज हामीमाझ रहनुभएन । उहाँलाई चीर शान्ति मिलोस् ! उहाँका परिवारजनलाई यस दुखद घडीमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् !

सम्बन्धित समाचार

कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव
कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव
  • २०८० माघ २५, १८: २१

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूणर्रुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन्। पार्टीभित्र प्रत्यक्ष निर्वाचन...

कामपाको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध
कामपाको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध
  • २०८० माघ २५, १८: २१

काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल...

कांग्रेसको भागमा आएको कोशीको मुख्यमन्त्री माओवादीलाई दिउँ भन्नेहरुलाई किन कारवाही नभएकोः उषा गुरुङ
कांग्रेसको भागमा आएको कोशीको मुख्यमन्त्री माओवादीलाई दिउँ भन्नेहरुलाई किन कारवाही नभएकोः उषा गुरुङ
  • २०८० माघ २५, १८: २१

गोदावरी। नेपाली कांग्रेस महासमिति सदस्य एवं सम्बिधान सभा सदस्य उषा गुरुङले कोशीमा कांग्रेसको भागमा आएको मुख्यमन्त्री कांग्रेसले लिँदा केन्द्रीय नेतृत्वलाई...