“रङ्ग पाएको महिला दिवसः विभेद बढाउन होइन घटाउन तिर लागौं” – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

“रङ्ग पाएको महिला दिवसः विभेद बढाउन होइन घटाउन तिर लागौं”

मार्च ८, अर्थात् अन्तराष्ट्रिय महिला दिवस, आज हामी ११४औं अन्तराष्ट्रिय महिला दिवस विश्वभर विभिन्न प्रकारले मनाइराखेका छौं।

इतिहास हेर्ने हो भने विश्वका विभिन्न देशहरुमा महिलाको समानताको लागि, उनीहरुको अधिकार, योगदान र आत्मसम्मानको निम्ति विभिन्न कालखण्डमा महिलाहरूद्वारा गरिएका विरोध, प्रदर्शन, क्रान्ति र लडाईको परिणाम हो–मार्च ८ ।

पुरुष सरह पारिश्रमिक र वर्किङ्ग आवर्सको माग राख्दै प्रदर्शनमा उत्रिएका महिलाहरूको साहसबाट शुरुवात भएको क्रान्तिले महिलाहरुलाई भोटिङ राइट्स’ समेत दिलायो।

त्यसैको फलस्वरुप आज हामीले विश्वका विभिन्न देशहरूको कार्यकारी भूमिकामा महिलाको उपस्थिति देख्न पाएका हौं।

न्यूयोर्क, जर्मनी, फ्रान्स, रशिया लगायतका देशहरुबाट उठेको बिरोधको ज्वालाको रापले अन्तत १९७५ मा संयुक्त राष्ट्रसंघलाई समेत पगाल्न सफल भयो र इतिहासमा पहिलो पटक संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय महिला दिवसलाई मान्यता दियो भने १९७७ मा मार्च ८ का दिन विश्वभरका महिलाहरुको योगदानको सम्मान गर्दै अधिकारिक रुपमा राष्ट्रसंघमा त्यस दिन बिदा दिने निर्णय समेत गर्यो।

त्यसैले, आजको दिनलाई धुमधामसँग मनाउन हाम्रो देश पनि पछि परेको छैन। मार्च ८लाई स्मरण गर्दा हरेक महिलाको परिवार, समाज र राज्यमा उसको योगदानको कदर गरिन्छ।

चाहे त्यो महिला शहरको होस् या गाँउको, धनी होस् या गरिब, साक्षर होस् या निरक्षर, बाहुन होस् या गैरबाहुन, अपाङ्गता भएको होस् या सपाङ्गता किनकी महिला केबल महिला हो।

उसको जात, भौगोलिकता, आर्थिक अवस्था र शारीरिक अवस्था त्यसपछि जोडिएको भाग हो।

यति भनिरहँदा नेपालको ‘अन्तराष्ट्रिय महिला दिवस’ को रङ्गको कुरा गर्न मन लाग्यो। केही दिन अघिको कुरा हो– महिला दिवसलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको, ती कार्यक्रमहरूको पोष्टर सामाजिक सञ्जालदेखि भाइवर, ह्वाट्सएपमा थुप्रै देखिराखेको थिएँ।

त्यही क्रममा एउटा कार्यक्रमबारे जानकारी पाएँ। आफू अपाङ्गता भएका महिलाहरूको बारेमा अनुसन्धान गरिराखेको भएर त्यो कार्यक्रमबारे थप जानकारी लिन मन लागेर बुझ्ने क्रममा जवाफ पाएँ कि त्यस कार्यक्रम अपाङ्गता भएका कुनै एउटा लक्षित जातका÷समूहका महिलाको लागि मात्र आयोजना गरिएको रहेछ।

त्यसैले म अनुसन्धानकर्ता भएता पनि त्यस विशेष समूहको बारेमा मेरो रिसर्च नभएकाले म ‘आउटसाइडर’ हुन पुगेँ।

त्यो कुरा मेरो लागि–एउटा अनुसन्धानकर्ताको हिसाबले आश्चर्य लाग्यो। किनभने अपाङ्गता भएका महिलाहरुको अधिकारको लागि स्थापित संस्था भएता पनि अनुसन्धान प्रतिको दृष्टिकोण र अपाङ्गताको बिषयले पाएको जातीय रंगप्रति पनि म चकित भएँ।

यद्धपि, मैले डाटा संकलन सुरु गरेदेखि यो पहिलो पटक भने थिएन–अपाङ्गताकोे बिषयले थरि थरि रंग पाएको।

अपाङ्गताको विषयमा अध्ययन गरिराख्दा मेरो महत्वपूर्ण बुझाई भनेको अपाङ्गता भएकै कारण समग्रले भोग्नुपरेको पीडा र समस्यालाई सम्बोधन गर्नु पर्ने कुरा गौण हुन्छ।

तर सबै अपाङ्गता भएका व्यक्तिको अनुभव फरक हुन्छ। एउटा अपाङ्ग पुरुष र अपाङ्ग महिलाको भोगाइमा थुप्रै अन्तर हुन्छ। तर, उनीहरुको लैंङ्गिक परिचयलाई एकैछिन साइडमा राखेर केबल अपाङ्गतालाई मात्र हेर्ने हो भने एउटै समाजमा रहेका तिनको आर्थिक, राजनैतिक र सामाजिक अनुभव उस्तै हुन सक्छ।

किनकी अपाङ्गता भएका व्यक्तिहरूको लागि बनेको कानुनले ती दुबैलाई गाइड गर्छ । तर त्यस्ता कानुन देख्दा समान लागे पनि समता भने ल्याउने खालका हुदैनन्।

एउटा अपाङ्ग महिला र अपाङ्ग पुरुषको अनुभव पक्कै पनि फरक हुन्छ। हो –अनुभवमा विविधता आउँछ जब त्यहाँ भूगोल, आर्थिक स्थिति, जात, साक्षरता र पहुँच जोडिन्छ। त्यसैले त हामीले अपाङ्गताको विषयलाई एकांङ्गी रुपमा हेर्न मिल्दैन।

यति भनिरहदा अपाङ्गताको विषयलाई विभिन्न रङ्ग दिएर फाइदाको विषय बनाउन भने मिल्दैन।

अपाङ्गता एउटा “विषय”हो यसलाई व्यक्तिकरण गर्दा सबै अपाङ्गता भएका व्यक्तिले समान अधिकार पाउन सक्दैनन्।

यसो गर्दा विभेद घट्ने होइन, झन् बढ्छ। कुनै एउटा लक्षित जात अथवा लिङ्गको आधारमा अपाङ्गता सेवा, सुविधा र अधिकार पाउने हो त्यहाँ कसरी समानता हुन्छ ?

नेपालमा मात्रै होइन, विश्वभर रहेका १६% अपाङ्गता भएका व्यक्ति विभेदपूर्ण जीवनयापन गर्न बाध्य छन्।

त्यही विभेदलाई हटाउन अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको अधिकार र सेवाको सुनिश्चितता गर्नुपर्छ भनेको छ।

त्यही क्रममा सबैको अनुभव फरक हुने भएकोले एकाङ्गी भएर होइन समग्र दृष्टिकोणले हेर्नुपर्छ। तर, हामीकहाँ बुझाई र व्याख्यामा विभेद देखिन्छ।

अपाङ्गताको विषय निकै संवेदनशील विषय हो। त्यसैले यो विषयलाई कुनै एक रङ्ग दिएर हिँड्दा सबै अपाङ्गता भएका व्यक्ति समान अधिकार पाउनबाट वञ्चित हुन्छन्।

जिम्मेवार सरोकारवालाहरूले नै अपाङ्गता भएका व्यक्तिहरूबीच नै पक्ष–विपक्ष, यो जात–त्यो जात, यो क्षेत्र–त्यो क्षेत्र, यो धर्म–त्यो धर्म भन्दै ट्याग लगाउने हो भने अपाङ्गता भएका व्यक्तिहरूको जीवन भोगाइमा न कुनै सुधार आउन सक्छ न त उनीहरुको सामाजिक न्यायको सबालले जवाफ पाउन सक्छ।

उनीहरुको सवाललाई काठमाडौंको तारे होटलका कोठामा होइन गाउँघरको चौतारा चोक, गल्ली, घर आँगनमा छलफलको विषय बनाउन सक्नुपर्छ।

दातृ निकाय लक्षित एजेण्डा र योजना बनाउने होइन, समाजमा मनोवृत्ति परिवर्तन गराउनेतिर हुनुपर्दछ।

बजेट खर्च गर्न मार्च ८ र डिसेम्बर ३ को दिन र सेरोफेरोमा मात्र तामझाम गर्ने होइन, वर्षभरि उनीहरुको सवाल, त्यसको उठान र सम्बोधनका लागि कार्यक्रम र योजना बनाउने हो।

अपाङ्गता भएर आधारभूत वर्गमा रहेर जीवनयापन गरिराखेको पहिचान, स्रोतमा पहुँच र राजनैतिक प्रतिनिधित्वको लागि साँच्चिकै अग्रसर हुन आवश्यक छ।

तब मात्र देखिने खालको परिवर्तन सम्भव छ। कुनै एउटा रङ्ग दिएर अपाङ्गताको सवालले न त प्रतिनिधित्व पाउँछ न त सम्बोधन नै हुन्छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २५, १६: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन २५, १६: १६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० फाल्गुन २५, १६: १६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...