नेता नै भ्रष्टाचारमा लागेको देखेर आत्मग्लानी भएको भन्दै माओबादी केन्द्रीय सदस्य शर्माद्वारा पार्टी परित्याग – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेता नै भ्रष्टाचारमा लागेको देखेर आत्मग्लानी भएको भन्दै माओबादी केन्द्रीय सदस्य शर्माद्वारा पार्टी परित्याग

काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वसभासद् रामकुमार शर्माले पार्टी परित्याग गरेका छन्।

माओबादीमा गुटगत राजनीति मौलाएको र कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले विहीबार विहान पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्।

पार्टी गुटहरूको महासंघजस्तो भएको र पार्टीका नेताहरूलाई आफू निकटलाई मात्रै जिम्मेवारी दिएर अरूलाई पाखा लगाउने प्रवृत्ति बढेपछि असन्तुष्ट भएका शर्माले विहीबार राजिनामा दिएका हुन्।

शर्माले जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आफूलाई आत्मग्लानी मात्रै नभएर १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको बताएका छन् ।

उनले प्रधानमन्त्रीद्वारा सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा जति गरे पनि माओवादीका प्रमुख पदाधिकारीहरू बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु, माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासङ्घको रूपमा रूपान्तरण भएको शर्माको दाबी छ।

पार्टी अध्यक्ष दाहाल र अन्य नेतासँग आफूले भेट गरेर आफ्ना गुनासोहरु राखे पनि सुनुवाई नभएपछि शर्मा राजिनामा दिन बाध्य भएको माओबादीका एक नेताले बताए।
शर्माले आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक कुरा भए पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

विगत १५ वर्षदेखि माओबादीमा सक्रिय रहेका शर्माल पछिल्लो समय जनतासँग जाँदा पार्टीका पदाधिकारी तहकै नेताहरूमाथि प्रश्न उठ्ने गरेको, तर आफूले उनीहरूलाई दिने जवाफ पनि नभएकाले पार्टी नैतिक हिसाबले पूर्णरूपमा संकटग्रस्त बनेको निष्कर्षमा आफू पुगेको बताए।

गत फागुन २१ गते मात्र सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै शर्माले ‘एमाले र नेकपा (माओवादी केन्द्र)बीच विगतको गम्भीर मतभेदको आत्मसमिक्षासहित समाजवादको दिशामा अगाडी बढ्न र एकताको लक्ष्यसहित नया गठबंधन बनेको छ भन्ने स्वागत योग्य छ।

अन्यथा सरकार बनाउन र गिराउनमै सिमित हुने हो भन्ने यसबाट सबैभन्दा ठुलो क्षत्ति माओवादीले बेहोर्नुपर्ने हुन्छ’ भनी असन्तुष्टि पोखेका थिए।

विहीबार शर्माले बुझाएको राजिनामा पत्र यस्तो छ–

शर्माको राजीनामा पत्र यस्तो छ–

आदरणीय अध्यक्ष क.प्रचण्ड
नेकपा (माओवादी केन्द्र)
विषय– राजीनामा

३ वर्षको भूमिगत जीवन र १५ वर्षको खुल्ला (संसदीय) राजनीतिमा आदरणीय अध्यक्ष क. प्रचण्डसँग केन्द्रीय समितिमा रही काम गर्ने अवसर प्राप्त भयो । यो अवधिमा वहाँ लगायतका नेताहरूसँग सहकार्य गर्दा अमूल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अवसर मिल्यो । यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यावाद दिन चाहन्छु ।

नेकपा माओवादी पार्टीको असल नीति र क्रान्तिकारी नेतृत्वकै कारण मैले सरकारी सेवाबाट विद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरें । जनयुद्धको दौरान आफू सौभाग्यवश पटक–पटक बाँच्न सफल भए पनि आफ्नो परिवारको सदस्यले शहादत प्राप्त गरे । म निर्वाचित संविधान सभा सदस्य पद माओवादीकै कारण राजीनामा नै दिएँ । म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमान्दारीपूर्वक देश र जनताको पक्षमा दुई दशकसम्म योगदान गर्ने अवसर प्राप्त गरेँ ।

माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश पातालको फरक पाएको अनुभूति हुन्छ । माओवादी पार्टीले लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचान सहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पूर्ण समानुपातिक समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, निःशुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको साथै रोजगारीको ग्यारेन्टी सहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन, महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन, १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु ।

सम्मानित प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिकजसो अभिव्यक्तिमा सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरू बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु, माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासङ्घको रूपमा रूपान्तरण हुनु । १० वर्षे जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत विदेशी शक्तिको आड भरोसामा सरकारमा रहनकै लागि पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अन्तत अँध्यारो दिशा तर्फ धकेलेको महसुस गरेको छु । यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन । तसर्थ आजकै मितिबाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ८, १४: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र ८, १४: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ८, १४: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...