
काठमाडौं । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ताको माग गर्दै बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत आईतबार ज्ञापन पत्र बुझाए । गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकिय राजधानी घोषणा गर्ने औपचारिका कार्यक्रममा भाग लिन पोखरा आएका बेला संघर्ष समितिका संयोजक श्रेष्ठले बुझाएको ज्ञापन पत्र सहर्ष बुझ्दै पीडितले न्याया पाउनु पर्छ भन्ने पक्षमा आफू र सरकार रहेको बताएका थिए ।
पीडितहरुले सहकारीको रकम गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री रबी लामिछानेसहितका पीडिकलाई कानुनी कारबाही गर्न र आफूहरुको रकम फिर्ता पाउनु पर्ने माग गरेका थिए । पीडितको माग संवोधन गर्ने आश्वासन दिएका प्रधानमन्त्री दाहालले राजधानी फर्किएपछि संसदमा उल्टापाल्टा जवाफ दिए । आफूले सूर्यदर्शन सहकारीबाट रहम नै नलिएको स्वयम् गृहमन्त्री लामिछानेले दाबी गरिरहेका बेला प्रधानमन्त्री दाहालले गृहमन्त्रीको बचाउ गर्दै सहकारीबाट लिइएको रकम सबै फस्र्यौट गरिसकिएको जानकारी दिए ।
प्रतिनिधिसभाको चैत ६ गते सोमबारको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भने, गृहमन्त्री रबी लामाछानेले सूर्यदर्शन सहकारीबाट लिएको भनिएको रकमको विषयमा नेपाल प्रहरीले छानबिन गरी बुझ्दा सबै रकम फस्यौट भइसकेको भेटिएको भनी दाबी गरे । प्रधानमन्त्रीको यो दाबी पुष्टि हुने कुनै आधार भने देखिउको छ । पोखरा महानगरपालिकाले गरेको छानबिनमा तत्कालिन गोरखा मिडियामा आबद्ध हालका गृहमन्त्री रबी लामिछानेले समेत रकम हिनामिना गरेको प्रतिवेदन तयार गरेको थियो । तर प्रधानमन्त्री दाहालले प्रहरीको टाउकोमा दोष थोपरेर आफ्ना गृहमन्त्रीको बचाउ गरे ।
सूर्यदर्शनको रकम फस्यौट भएको भए, कुन मितिमा कति रकम चुक्ता गरेर फस्र्यौट भयो भन्ने सूचना भने प्रधानमन्त्रीले सदनलाई दिएनन् । उता गृहमन्त्री लामिछानेले भने आफूले सूर्यदर्शन सहकारीबाट रकम नै नलिएको दाबी सार्वजनिक रुपमा गर्दै आएका छन् । उनले सहकारीबाट गोरखा मिडियामा लगानी गर्नेदेखि सवारी खरिदमा समेत खर्चिएको प्रमाणहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आएका छन् । त्यसैले प्रधानमन्त्री दाहालको चैत ६ गते प्रतिनिधिसभाको बैठकमा रोष्टमा उभिएर दिएको जवाफ झुटो देखिन्छ ।
प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेको बचाउ गर्दै आफू सत्तामा हुँदा सहकारी ठगीमा लामिछानेमाथि कुनै प्रश्न नउठाएको कांग्रेस विपक्षमा पुग्नासाथ गृहमन्त्री भएका लामिछानेको राजिनामा मागेको भनी संसदमा दलिल पेश गरे । तर, प्रधानमन्त्री दाहालको यो दलिलमा कुनै सत्यता थिएन । किनकी नेपाली कांग्रेस सत्ताको साझेदार हुँदै गर्दा सो पार्टीका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले सहकारी ठगी र सुन तस्करी प्रकरणमा यो पार्टी वा त्यो पार्टी, सत्ता पक्ष वा विपक्ष, जुनसुकै पार्टीको जतिसुकै शक्तिशाली भए पनि अनुसन्धान गरी दोषीलाई कारबाही गनु पर्ने पक्षमा नेपाली कांग्रेस रहेको भनी बताएका थिए ।
तर, प्रधानमन्त्री दाहालले लामिछाने गृहमन्त्री भएपछि मात्र कांग्रेसले सहकारी ठगीको विषय झिकेर लामिछानेको बिरोध गरेकोभनी संसदमा बोले । सो सहकारीले १८ हजार सात सय बचतकर्ताको करिव एक अर्व ४० करोड रुपैयाँ
निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने संघर्ष समितिले माग गरेको छ । विगत दुई वर्षयता कसैले पनि बचत फिर्ता पाउन नसकेको भन्दै पीडितहरुले कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालकगितेन्द्रबाबु (जीबी) राई पक्राउ नपरेको गुनासो गरेका छन् ।
पीडितहरुले किटानी जाहेरी दिइएका मध्ये जीवराईसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छैन । जीवी राई ग्यालेक्सी टेलिभिजन संचालन गर्दा हालका गृहमन्त्री लामिछाने साझेदार थिए । त्यसैले राईलाई प्रक्राउ पर्नबाट बचाउन लामिछाने र उनको पार्टी लागेको पीडितहरुको गुनासो छ । सो सहकारीको ३० करोड रुपैयाँ गोर्खा मिडिया कम्पनीअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा लगानी गरिएको देखिएकोपीडितहरुले प्रमाण पेश गरेका छन् । पीडितहरुले १९ जनविरुद्ध किटानी जाहेरी दिइए पनि १४ जना मात्र पक्राउ परेका छन् ।
गत माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवम् गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी दिइएको थियो । तर, प्रहरीले लामिछानेमाथि छानबिन त टाढाको कुरा सुधपुछ गर्ने आँट समेत गरेको छैन । सूर्यदर्शन सहकारीमा लामिछानेको खाता नं. १०३९०००६६७५७ रहेको बचतपीडित संघर्ष समितिले जनाएको छ ।
लामिछानेलाई बचाउन प्रधानमन्त्री दाहाल र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै व्यक्तिविरुद्ध उजुरी पर्ना साथ राजिनामा दिँदै हिँड्ने हो भने तपाईँ हामी कोही पनि वाँकी नरहने भन्दै सदनमा दाबी गरे ।प्रधानमन्त्री दाहालले ठाडो उजुरीको भरमा पद छाड्दै जाने हो भने के त्यो सम्भव होला भनेर लामिछानेको बचाउ गरे । तर दुवै नेताले यो हेक्का राखेनन् कि रबी विरुद्ध ठाडो उजुरी मात्र होइन, प्रमाण सहित छानबिन गर्न प्रहरीलाई आग्रह गरिएको छ । तर प्रहरीले अनेकौं बहाना गरेर उजुरी नै लिन नमानेपछि छानबिन सम्भव नै हुँदैन । लामिछानेमाथि कुनै अभियोग नै नलागेको र निवेदन नै नदिएको दाबी गर्छन ।
काश्की र अन्य जिल्लाका करिव १८ हजार सहकारीका बचतकर्ता पीडितको रकम फिर्ता गर्ने र दोषीलाई कारबाही गर्ने पक्षमा सत्ता साझेदार दलहरु देखिएका छैनन् । दुवै दलका प्रमुख सचेतकहरु विपक्षी दल नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई फुटाउन गृहमन्त्री लामिछानेको राजिनामा मागिरहेको भन्दै उल्टै लामिछानेलाई चोख्याउनमा व्यस्त छन्। प्रधानमन्त्री दाहालले त गृहमन्त्री लामिछाने निर्दोष रहेको भनेर संसदको रोष्टमबाट घोषणा गरे । लामिछानेमाथि कुनै अनुसन्धान र छानबिन नै नगरी उनी निर्दोष हुन भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति न्यायिक सर्वोच्चतामाथिको प्रहार हो ।
कुनै पनि न्यायलयले घोषणा वा निर्णय नसुनाएको विषयमा प्रधानमन्त्री दाहालको दाबी अनुचित देखिन्छ । सत्ता साझेदार एमालेका सांसदहरुले समेत सहकारी पीडितको पक्षमा अभिव्यक्ति दिनुको सट्टामा लामिछानेले सूर्यदर्शन सहकारीबाट रकम नै नलिएको दाबी गर्दै आएका छन् । उनीहरुलाई न्याय दिन गृहमन्त्रीका तत्कालिन साझेदार जीवी राईलाई पक्राउ गर्न एमाले, माओबादी र रास्वपाका सांसदहरुले माग गरेका छैनन् । एमाले अध्यक्ष ओलीले त कांग्रेसले सत्ताबाट हट्नु पर्दाको आक्रोस स्वरुप लामिछानेको राजिनामा मागेको झुटो दाबी गरे ।
सहकारी पीडित कतिपय नेकपा एमाले र माओबादी केन्द्रसँग निकट रहेकाहरु दुवै पार्टीको बिरुद्धमा उत्रिने तयारी गरिरहेकोले लामिछानेलाई बचाउन नहुने जिल्ला स्तरका नेताहरुको गुनासो छ । सूर्यदर्शन सहकारीका पीडिकलाई बचाएर पीडितलाई राहत नदिने पक्षमा एमाले र माओबादी खुला रुपमा प्रस्तुत भए पनि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजबादी)ले भने खुलेर सहकारी पीडितको पक्ष वा विपक्षमा भनेर स्पष्ट धारणा राख्न सकेको छैन । जनता समाजबादी पार्टी, नेपालका तकतिपय नेताहरु नै लघुवित्त, सहकारीका पीडक र मिटरव्याजमा संलग्नभएकाले दलित दृष्टिकोण राख्न सकेको छैन ।
(नयाँ विकल्प साप्ताहिक बाट)
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...