
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका लागि दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको दाबी गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाबिरुद्ध मुद्धा दायर गरेको छ।
नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति तथा प्रदेशका पूर्वमुख्यमन्त्री शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई अख्तियारले प्रतिवादी बनाउँदै विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले वाइडबडी दुई वटा विमान खरिदमा एक अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ। अख्तियारले शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि प्रतिवादी बनाएको छ।
कंशाकार निगमका पूर्वमहाप्रवन्धक हुन् भने ढुंगाना अर्थ मन्त्रालयका पूर्वसचिव हुन्। ढुंगाना तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हुँदा वाइडबडी विमान खरिदमा समझदारीपत्रलाई स्वीकृत गर्न गठित समितिका संयोजक थिए।
बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका वहालवाला सहसचिव हुन्। अहिले पनि उनी पर्यटन मन्त्रालयका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्य छन्।
प्रतिवादीहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी निगमको तत्कालिन सञ्चालक समिति सदस्य हुन्। पहाडी निगमको इन्जिनियरिङ निर्देशकबाट अवकास अवकास भए पनि हाल प्राधिकरण सञ्चालक समिति सदस्य छन्।
सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला वाईडबडी खरिदका समयमा निगम सञ्चालक समितिका सदस्य थिए।
यसरी भयो भ्रष्टाचार
नेपाल वायुसेवा निगमले सेवा विस्तारको लागि भन्दै दुइवटा वाइडबडी विमान खरिद गर्ने निर्णय भए पछि निगमले अमेरिकाको एएआर इन्टरनेसनल कम्पनी छनोट गरेको थियो। एउटा कम्पनी छनोट भएकोमा पछि खरिद समझदारी (एमओयू) गर्ने क्रममा एएआरका साथै जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनीलाई समेत मिसाइयो।
तीनवटा कम्पनीले आयरल्यान्डमा हाइफ्लाई एक्स नामक कम्पनी स्थापना गरेपछि निगमले विमान खरिदका लागि उसैसँग सम्झौता गरेको थियो।
विमान तयार भएपछि रकम भुक्तानी गर्न जर्मनीकै नटर्न रोज फुलब्राइट नामक कम्पनीसँग सम्झौता भएको थियो। दुइटा पक्षले विश्वास गरेको तेस्रो पक्षको खाता, जसलाई एस्क्रो खाता भनिन्छ, मा रकम राखी सम्झौताअनुसार काम भएको भनी भुक्तानी गरिएको थियो।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट करिब २४ अर्ब रुपैयाँ ऋण लिएर दुइटा वाइडबडी विमान खरिद गरिएको थियो।
२०७३ साल फागुन १० गते स्थापित उक्त कम्पनीले युरोपको एयरबस कम्पनीबाट दुई वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा निगमलाई बेचेको थियो।
फागुन १८ गते बैना स्वरूप निगमले १० लाख अमेरिकी डलर भुक्तानी गरेको थियो भने । २०७४ असार ५ गते थप ७ करोड ९० लाख भुक्तानी दिएको थियो।
२०७५ असार १४ गते र साउन १० गते दुइटा वाइडबडी विमान नेपाल ल्याइएको थियो।
एउटा कम्पनीलाई टेन्डरमा छनोट गर्ने, थप दुई कम्पनी जोडिएको कन्सोर्टियमसँग समझदारीमार्फत अर्कै खातामा रकम भुक्तानी गरेपछि वाइडबडी विमान खरिद प्रक्रिया विवादमा परेको थियो। प्रश्न उठेपछि यसबारे अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उपसमिति नै गठन गरेको थियो।
सांसद राजन केसीको संयोजकत्वमा सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले २०७५ पुस तेस्रो साता बुझाएको प्रतिवेदनमा दुइटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो।
उपसमितिले एयरबस र नेपाल वायुसेवा निगमको बीचमा खडा गरिएको हाइफ्लाई एक्स नामक कम्पनीबीचको अपारदर्शी कारोबार भएकाले अनियमितताको अंक थप स्पष्ट हुने औंल्याएको थियो।
लेखा समितिले उडान भर्दाको अधिकतम तौल, मूल्यवृद्धिको अनुपात, गलत लागत अनुमान तयार गरिएको लगायत आधार देखाइ अनियमितता भएको दाबी गरेको थियो। सोझै उत्पादकसँग खरिद नभएको, आशयपत्रका सर्तहरू दुराशययुक्त रहेको औंल्याएको थियो।
विमानको क्षमता घटाइएको, बिचौलिया कम्पनी खडा गरिएको, शंकास्पद कारोबार भएको, उत्पादन नम्बर फेरिएको, खरिद कानुन उल्लंघन भएको अनि कबोल गरिएको मूल्यमा वृद्धि भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको थियो।
त्यतिबेला सार्वजनिक लेखा समितिले शीर्षक नै तोकेर अनियमितताको ग्राफ सार्वजनिक गरेको थियो। समितिको दाबी अनुसार तोकिएभन्दा कम तौल क्षमताको विमान खरिद गर्दा निगमलाई करिब ९२ करोड रुपैयाँ क्षति पुगेको थियो।
कम तौल लगायत कारण अस्ट्रेलियाको सिड्नी लगायत गन्तव्यमा सोझो उडान भर्न सम्भव नहुने भन्दै उपसमितिले त्यसले निगमलाई दीर्घकालीन नोक्सानी हुने ठम्याएको थियो।
उपसमितिले नागरिक उड्डयन मन्त्रीहरु जीवनबहादुर शाहीसहित, जितेन्द्र देव, रवीन्द्र अधिकारी (स्वर्गीय)माथि पनि छानबिन गर्नु पर्ने सुझाव दिएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...