
काठमाडौं। नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबी लामिछानेबिरुद्ध करिव आधा दर्जन सहकारीका हजारौं बचतकर्ताले ठगी गरेको दाबी सहित छानबिनका लागि प्रहरीलाई गुहारिरहेका छन्।
पीडितको आग्रह र गुनासोलाई संवोधन गर्न सम्वन्धित जिल्लाका प्रहरी कार्यालयहरुले अनुसन्धान गरी रबी लामिछानेको संलग्नता देखिएको बताई रहेका छन् । तर सरकार, गृहमन्त्री, गृह सचिव र प्रहरी प्रधान कार्यालयको दबाबलाई उनीहरुले थेग्न सकेका छैनन्।
तत्कालिन गोरखा मिडिया नेटवर्क प्रालिका प्रवन्ध संचालक रहेको रबी लामिछाने यतिवेला नेपाल सरकारको गृहमन्त्री छन्। उनले गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा र आफ्नै खातामा समेत विभिन्न सहकारीबाट ऋण लिएको देखिन्छ ।
आफू गोर्खा मिडिया नेटवर्कको प्रवन्ध संचालक भए पनि सबै हिसाव किताव, कारोबार भने अध्यक्ष गितेन्द्र बहादुर (जीवी) राईले गर्दै आएको दाबी गर्ने गरेका छन् । जवकी राई यतिवेला नेपाल छैनन्। सम्भवत उनी मलेसिया लुकेर बसेको बताईन्छ।
आफू गोर्खा मिडिया नेटवर्कको प्रवन्ध संचालक भए पनि आर्थिक कारोबार केही नभएको भन्दै पन्छिदै आएका छन् । प्रहरीले उनीमाथिको छानबिनबाट समेत हात झिकिसकेको छ। प्रहरी प्रमुखले कहिले प्रमाण पुगेन त कहिले अनसन्धान गर्दा ठगीको प्रमाण भेटिएन भन्दै आउका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त संसदको रोष्टममा उभिएर लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट लिएको ऋण चुक्ता गरिसकेको भनेर गतल सूचना सदनलाई दिए। उनले लामिछानेले कति ऋण लिएको र कति चुक्ता गरेर ऋण फस्र्यौट गरेका हुन भनी कुनै जानकारी दिएनन्।
पोखराको सूर्यदर्शन सहकारीबाट लामिछानेले ऋण लिएर नतिरेको विषयमा पीडितहरुले उजुरी दिएर छानबिनको लागि आग्रह गरिरहेको बेला वुटवलको सुप्रिम सहकारीबाट उनी प्रवन्ध संचालक भएको गोरखा मिडिया नेटवर्क प्रालिले १४ करोड रुपैयाँ ऋण लिएर नतिरेको देखिन्छ।
गृहमन्त्री लामिछानेले जीबी राई अध्यक्ष भएको गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिए खुलासा भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको देखिएको छ।
अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेको प्रमाणहरु उल्लेख गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रहरी महानिरिक्षक भने गृहमन्त्री लामिछाने जोगाउन मरिहत्ते गरिरहेका छन्।
लामिछानेलाई जोगाउन प्रधानमन्त्रीदेखि प्रहरीको नेतृत्वले उनलाई अभियुक्त नबनाउन मातहतको प्रहरी र सरकारी वकिलको कार्यालयलाई धम्क्याई रहेका छन् ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछाने संचालक रहेको गोर्खा नेटवर्क मिडिया प्रालिले पेश्की लगानी भएको पाँच करोड १५ लाख रुपैयाँसहित विभिन्न व्यक्तिको नाममा कर्जा स्वीकृत पाँच करेड ८४ लाख ३६ हजार रुपैयाँ लिएको देखिन्। लामिछानेले १० करोड ९९ लाख ३६ हजार रुपैयाा ऋण लिएर नतिरेको देखिएको छ।
यस मितिमा यती रकम लिए रबी र गोर्खा मिडियाले
तत्कालिन गोरखा मिडिया नेटवर्क प्रालिका प्रवन्ध संचालक रबी लामिछाने भएको बेला कम्पनीको खातामा २०७७ असोज ११ गते एक करोड रुपैयाँ खाता नम्वर ००११५९७८०९७ रहेको सिद्दार्थ वैंकको भौचर मार्फत जम्मा भएको देखिएको छ।
यस्तै २०७७ माघ २८ गते दुई करोड ५० लाख, छविलाल जोशीको नाममा, खाता नंमगर ०४०१०१०००५७७ ग्लोवल आईएमई बैंको खाता नम्वरमा सोही सहकारीबाट ऋण लिएको देखिएको छ।
२०७७ चैत १८ गते ऋण स्वीकृत भएको दुई करोडमध्ये ४ लाख रुपैयाँ सेवा शुल्कवापत कट्टा गरी रबी लामिछानेको नाममा दुई करोड रुपैयाँ व्यापार कर्जा स्वीकृत भई १ करोड ९६ लाख रुपैयाँ जम्मा भएको देखिन्छ।
गोर्खा मेडिया नेटवर्क प्रालिको खाता नं. ०४०१०१००००५७७ मा ग्लोबल आईएमई बैङ्कको भौचर मार्फत रबी लामिछानेले जम्मा गरेका थिए।
संस्थाको बचत सदस्य लामिछानेको नाममा प्रक्रिया पुरा नगरी ऋण लगानी गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानले भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गरिदिने रोसनी गुरुङ भएको पनि देखिएको छ।
यस्तै, २०७८ वैशाख ५ गते एक करोड रुपैयाँ गोरखा मेडिया नेटवर्क प्रालिको नाममा पेश्की निकासा भई प्रालिको नाममा ग्लोवल आईएमई बैंकमा खोलिएको खाता नं. ००११५९७८०९७ मा भौचर मार्फत जम्मा भएको कारोबार देखिन आएको छ।
आवश्यक प्रक्रिया र कागजात पुरा नगरी गोरखा मेडिया नेटवर्कमा पेश्की लगानी गरेको देखिन्छ । जुन रकम निकासाका लागि भौचर तयार गर्ने सागर केसी र रकम जम्मा गर्ने रबी लामिछाने र रोसनी गुरुङ भएको देखिएको छ।
अनुसन्धानबाट २०७८ वैशाख ९ गते सोही खातामा ३० लाख रुपैयाँ प्रालिको नाममा जम्मा भएको देखिएको छ। २०७८ असार ४ गते गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा एक करोड पेश्की निकासा भएको देखिन्छ ।
सो रकम गोर्खा मेडिया नेटवर्क प्रालिको नाममा रहेको ग्लोबल आइएमई वैंकको खाता नं. ०४०१०१००००५७७ मा भौचरमार्फत रकम जम्मा भएको देखिएको छ। सो रकम निकासाको भौचर सदर गर्ने सागर केसी र जम्मा गर्ने सुनिता पुन भएको पुष्टि भएको छ।
२०७८ असार ३१ गते तीन करोड ३० लाख रुपैयाा भुपेन्द्रबाबु राईको नाममा कर्जा लगानी भएको देखिन्छ । संस्थाको बचत सदस्य भुपेन्द्रबाबु राईको नाममा कुनै प्रक्रिया पुरा नगरी ऋण लगानी भएको देखिएको छ।
यस्तै, २०७८ असोज १३ गते ५० लाख रुपैयाँ, गोर्खा मेडिया नेटवर्क प्रालिको नाममा निकासा भई सो रकम ग्लोबल आईएईमा प्रालिको नाममा खोलिएको खातामा जम्मा गरेको देखिएको छ।
२०७८ असार २२ गते कुमार रम्तेलको बचत खाताबाट एक करोड तीन लाख ३६ हजार रुपैयाँ घटई ग्लोबल वैंककै खातामा जम्मा भएको र २०७८ असोज २४ गते २५ लाख रुपैयाँ, प्रालिको नाममा स्वीकृत भई निकासा भएको देखिन्छ ।
प्रालिको सोही खातामा भौचर जम्मा भएको र सोही मितिमा २५ लाख रुपैयाँ पुष्पाराज गिरीको नाममा पेश्की बनाई गोरखा मिडिया नेटवर्कको नामको पेश्की पर्छौट गरेको कारोबार देखिएको छ।
२०७८ पुस १२ गते बिपीनकुमार आचार्यको नाममा एक करेड ५६ लाख १५ हजार रुपैयाँ सहकारीबाट निकासा भई प्रालिको नाममा ग्लोबल आईएमई वैंकमा खोलिएको खातामा जम्मा गरेको पाइएको छ।
रबिको स्पष्टिकरणमै कैफियत
उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेले केही मिडियाहरुले उनको सहकारी ठगी सम्वन्धी समाचार प्रवाह गरेको प्रति जिम्मेवार बन्नुको सट्टा हँसी मजाकमा उडाउने गरेका छन्।
उनले मंगलबार साँझ यस्तै खिसिट्युरी शैलीमा मिडियाका सन्देशप्रति कटाक्ष गर्दै लेखे, ‘आज फरक तरकारी पस्केछन्। “आलु काउली“ खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज “काउली आलु“ आएछ। फरक त्यत्ति हो।’
गृहमन्त्री भएको शक्ति अवसरणमा उनले यत्ति लेखेका छन कि ‘रवि लामिछानेको नामम फेक धितो धितो ऋण खाता सृजना गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो ब्यतिगत खातामा सहकारीको पैसा आएको, लिएको, गएको केही होइन,छैन।’
तर उनले आफू तत्कालिन समयमा गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध संचालक भएको विर्सिए । अनि गृहमन्त्री भएर लाजै पचाएर भन्ने गरेका छन्, ‘झुटो, गलत खाता सृजना गरियो ।’
कुनै अमुक व्यक्तिले कसैको नाममा विना मन्जुरी खाता खोल्न मिल्छ? त्यस्तो कीर्ते कसले गरेछ? गृहमन्त्रीले छानबिन गर्नु पर्छ कि पर्दैन । यो मुलुकमा उनीवाहेक सर्बसाधरणको नाममा कसैले खाता खोल्ने गरेका छन्?
व्यक्तिको मन्जुरीबिना खाता खोल्ने बैंक कर्मचारीमाथि उनी किन प्रश्न गर्न सक्दैनन? किनकी गृहमन्त्रीको दाबी नै झुटो छ।
उनले ‘सामाजिक सञ्जालमा अनुसन्धानले देखाएअनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन’ भनेका छन्।
त्यसो हो भने ग्लोबल बैंकले किन किर्ते काम गरिरहेको छ। के कुनै नागरिकको मञ्जुरी बिना बैंकमा खाता खोल्न मिल्छ? दोषी को हो? गृहमन्त्रीले खोल्नु पर्दैन? उनले आफूले ऋण नलिएको दाबी दोहोर्याउँदै आएका छन्।
देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा वसेको विर्सिएर लामिछाने फेरि जंगिएर लेख्छन्, ‘के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो?’
उनलाई कसैले जीवी राईको ठेक्का लिनुस भनेका छैनन् । तर हजारौ नेपाली नागरिकको करोडौं बचत अपचलन गर्ने सहकारीका ठग संचालक खोजी गर्नु के गृहमन्त्रीको जिम्मेवारी भित्र पर्दैन?
प्रहरीलाई दबाब दिएर अभियोगपत्र दर्ता गर्न नदिने गृहमन्त्री लामिछानेले के अभियोग पत्रमामा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ? भनी प्रश्न गरेका छन्।
आफै उत्तर दिने ठाउँमा रहेको व्यक्तिको यस्तो गैरजिम्मेवारपनले सहकारी पीडितलाई राहत होइन पीडा थप्ने काम गृहमन्त्रीबाट भएको छ।
उनले ‘अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेकोवाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै केही छ?’ भनी प्रश्न गरेका छन् । तर प्रहरीले उनले समेत ऋण लिएको अनुसन्धानबाट खुलेको जनाइ सकेको छ।
उनले जीबी राईले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि? भनी प्रश्न गरेका छन् । तर साझेदार भएँ भन्दैमा अबैध सम्पतिको प्रयोगकर्ताको विषयमा अनभिज्ञता प्रकट गर्न पाइँदैन भन्ने कुरा भुलेका छन् ।
लामिछानेले कुन, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए? भनेर प्रश्न गरेका छन् । तर उनले गोरखा मिडिया नेटकवर्कको आफू प्रवन्ध संचालक भए पनि ऋण मागकर्ता संस्थाको आधिकारिक संचालक हुँ भन्ने कुरालाई नजरअन्दाज गरेका छन्।
‘म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ?’ भन्ने प्रश्न गरेका लामिछानेले हैसियतको मापन अनुहारमा होईन व्यवहारमा हुन्छ भन्ने कुरा भुलेको पाइन्छ।
उनले आफू सहकारी ठगी कार्यमा कहि कतैवाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टी हुदाहुदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न भन्दै चेतावनी समेत दिन भ्याएका छन्। मिडिया संचालक हुँदा कुन सहकारीबाट कतिलाई ठगे?
चार वर्षअघि गोर्खा मिडिया नेटवर्क प्रालिको प्रवन्ध संचालक हुँदा रबी लामिछानेले प्रालिका अध्यक्ष जीवी राईसँग मिलेर सहकारीबाट लिएको ऋण नतिर्दा पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय, चितवनको सहारका आठ हजार, बुटवलको सुप्रिम सहकारीका १० हजार, काठमाडौंको स्वर्णलक्ष्मीका १३ हजारसहित करिब ४९ हजार बचतकर्ता आज घर न घाटको भएका छन्।
करिव ४९ हजार सहकारीको वचतकर्ताको ५० करोडभन्दा बढी ऋण लिएर गोर्खा मिडियामा लगानी भएको देखिन्छ। सूर्यदर्शन सहकारीबाट त ३० करोड सारिएको भनेर दुई पक्षबीच तमसुक गरिएको छ । सत्ताको आडमा सहकारीको ऋण नतिर्ने र ५० हजार पीडितलाई बिल्लीबाठ गराउने हो भने देशमा सबै सहकारीका संचालकहरु वचतकर्ताको रकम लिएर भाग्ने अवस्था देखिन्छ।
गृहमन्त्रीले सहकारीको ऋण लिएपछि तिर्ने वेलामा प्रमाण पुगेन भन्दै सर्बसाधरणलाई दिएको दुःख र पीडाको आक्रोस सहजै सेलाउने कल्पना गर्न सकिँदैन। अहिले नेपालमा ३१ हजार ३ सय ७३ सहकारीमा ७३ लाख ८१ हजार २ सय १८ सर्वसाधारण बचतकर्ता छन्।
ती सबै सहकारीबाट ४ खर्ब ७८ अर्ब बचत र ४ खर्ब २६ अर्ब ऋण परिचालन भएको छ । सर्वसाधारणको बचत सुरक्षण गर्न भन्दा अपचलनलाई नै मन्त्रीले प्रोत्साहन गर्ने हो भने देशमा अराकता मौलाउने निश्चित छ।
एक पार्टीका अध्यक्ष वा गृहमन्त्रीलाई जोगाउने नाममा लाखौं पीडितका बिरुद्ध सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र सत्ता साझेदार दलहरु उभिने हो भने त्यसको मुल्य सोचेभन्दा महङ्गो हुने देखिन्छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...