भारी वर्षापछिको पहिरो र चट्याङले १२ घण्टामा १२को मृत्यु ३ बेपत्ता – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
मनसुन भित्रिएको १२ दिनमै वितण्डा

भारी वर्षापछिको पहिरो र चट्याङले १२ घण्टामा १२को मृत्यु ३ बेपत्ता

काठमाडौं। १२ दिनअघि मात्रै भित्रिएको मनसुनले नेपालका विभिन्न भागमा जनधनको क्षति पुगेको छ।

अविरल वर्षासँगै आएको पहिरो र चट्याङका कारण पछिल्लो १२ घण्टामा देभरमा १२ जनाले ज्यान गुमाएका छन्। यस्तै पहिरोमा परेर ३ जना बेपत्ता भएका छन् भने चट्याङ लागेर ६ जना घाइते भएका छन्।

अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ।

गएराति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको थियो।

पहिरोमा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ।

लमजुङको क्व्होलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ। तीन जना अझै बेपत्ता छन्।

वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो। पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए।

लगातारको वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो। पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

ओखलढुङ्गामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन्।
प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

चट्याङ लागेर हालसम्म ७ जनाको ज्यान गएको छ। कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको बताए ।

उनका अनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जोशीपुरका डगौरालाई खेतमा आली बनाउने क्रममा चट्याङ लागेको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य ६ जना गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीमा तीन बालिका घाइते भएका छन् । घोडाघोडी–९ की ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठातलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

यस्तै जानकी गाउँपालिका–बेलपुर बस्ने २९ वर्षकी रिता कठरिया, सोही ठाउँकी २३ वर्षीया सुस्मा डगौरा र भजनी नगरपालिका– ६ बस्ने वर्ष ५५ का रामबहादुर चौधरी पनि घाइते भएका छन् ।

उता, चट्याङ लागेर कपिलवस्तुमा दुईजनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए ।

बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर दुवैको मृत्यु भएको हो ।

रोल्पामा पनि चट्याङले २ जनाको मृत्यु भएको छ । बिहान चट्याङ पर्दा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ का दुई महिलाको ज्यान गएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी–३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीले चट्याङ पर्दा एउटै घरभित्र सुतेका नन्द भाउजु नाता पर्ने दुई महिलाको मृत्यु भएको जनाएको छ ।

लमजुङमा पनि एकजनाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको वडाअध्यक्ष लक्षुमन गुरुङले जानकारी दिए ।

मंगलबार राति २ बजेतिर पिसाव फेर्न भनी बाहिर निस्केको बेलामा चट्याङले लागेर उनको मृत्यु भएको बुझिएको छ।

कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएकोछ। बुद्धभूमि नगरपालिबका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर दुवैको मृत्यु भएको हो ।

अविरल वर्षाले गर्दा पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीअनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो।

अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन्। सडक अहिले एकतर्फी खुलाइएको छ।

सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टेकुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ। उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको प्रहरीले जनाएको छ ।

यस्तै,बुधबार बिहानदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न ठाउँ जलमग्न भएका छन्। वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । पानी बग्ने सहज निकास नहुँदा यी ठाउँहरू जलमग्न भएको स्थानीयले बताएका छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १२, १४: ०८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार १२, १४: ०८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १२, १४: ०८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...