
काठमाडौं। मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले यस्तो जानकारी दिएको हो।
केन्द्रअनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ। बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रूपमा क्षति पुगेको छ । ११ घरमा आंशिक क्षति भएको छ ।
पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराले ४३ घर पूर्ण रूपमा क्षति भएको छ । २४ घरमा आंशिक क्षति पुगेको छ । १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् । ११ घर पूर्ण रूपमा र छ घर आंशिक रूपमा क्षतिग्रस्त छन् ।
बाढी र पहिराले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङ्बाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।
‘बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटनाबाट यस वर्ष १८ लाख मानिस प्रभावित हुने आँकलन प्राधिकरणले गरेको छ। यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्मा पर्ने आँकलन गरिएको छ।
गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक सातामा मुलुकको एक सय १० स्थानमा पहिरो गएको छ।
२७ सडकखण्ड अवरुद्ध
ललितपुरस्थित बागमती गाउँपालिकामा गएको पहिराले कान्ति लोकपथ पूर्ण रूपमा अवरोध भएको छ । सङ्खुवासभास्थित मकालु गाउँपालिकामा गएको बाढीले दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सङ्खुवासभाकै भोटखोला गाउँपालिकामा बाढीले कोशी रोजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । सुनसरी वराहक्षेत्र नगरपालिका–१ मा गएको पहिराले चतरा–वराहक्षेत्रको भित्री सडक अवरुद्ध छ ।
रसुवास्थित आमाछोदिङ्गो गाउँपालिका–५ मा गएको पहिराले स्याफ्रुबेसी–थाम्बुचेत सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । चितवनस्थित इच्छाकामना गाउँपालिका–३ मा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–४ मा गएको पहिरोले भीमफेदी–काठमाडौँ–हेटौँडा राजमार्ग एकतर्फी सञ्चालन छ । सोही गाउँपालिका–८ को पहिराले कान्ती लोकपथ एकतर्फी सञ्चालन छ । काभ्रेको रोशी गाउँपालिकामा गएको पहिराले बिपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।
मनाङको चामे गाउँपालिकामा गएको बाढीले चामे–बेंसीसहर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी बेनी नगरपालिका–४ मा गएको पहिराले बेनी–दरबाङ सडक अवरुद्ध छ भने कुश्मा नगरपालिकामा गएको पहिराले बेनी–जोमसोम सडक अवरुद्ध छ ।
पर्वतको मुलढुङ्गा बेनी सडक र सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा सञ्चालन छ । तनहुँको म्याम्दे गाउँपालिकामा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । नवलपरासीपूर्वको कालीगण्डकी करिडोर र बागलुङको मध्यपहाडी लोकमार्ग पहिरोकै कारण पूर्ण रूपमा अवरुद्ध छ ।
प्यूठानको स्याउलीवा बाग्दुला र भालुवाङ दाङ प्यूठान सडकखण्ड बाढी, पहिराका कारण अवरुद्ध छ । यसै गरी पाल्पाको सिद्धार्थ राजमार्ग, तम्घास–बुटवल सडक, कालीगण्डकी करिडोर एकतर्फी सञ्चालन भएको छ । गुल्मीको रिडी–बाग्लुङ सडकखण्ड, कालीगण्डकी करिडोर सडक, मदन भण्डारी राजमार्ग र अर्घाखाँचीस्थित गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड, पाल्पा अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ । रोल्पाको सहिद राजमार्ग अवरुद्ध छ । दाङको घोराही–तुल्सीपुर सडकखण्ड एकतर्फी भएको छ ।
कालीकोटको कर्णाली राजमार्ग अवरुद्ध छ । अछामको साँफे–मार्तडी, बैतडीको जयपृथ्वी राजमार्ग र डडेल्धुराको भिमदत्त राजमार्ग पूर्ण रूपमा अवरोध पुगेको छ । बैतडीको बझाङ–खोड्पे बैतडी सडकखण्ड र बाजुराको साँफे मार्तडी सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालन रहेको नेपाल प्रहरीले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...