काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार संविधानको कुन व्यवस्थाअनुसार आह्वान गर्ने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने बताएका छन्।
माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले आफूले संसद्मा विश्वासको मत लिने र त्यसपछि संविधानको कुन व्यवस्थाअनुसार सरकार गठन हुने भन्नेमा विवाद रहेको बताए।
‘संविधानको धारा ७६ को उपधारा (३) अनुसार सरकार बन्ने कि संविधानको धारा ७६ को उपधारा (२) अनुसार बन्ने भन्नेमा बहस छ, मत विभाजित छन्, ’दाहालले भनेका थिए, ‘अन्ततः राष्ट्रपतिको विवेकमा भर पर्छ।’
संविधानको धारा ७६ को उपधारा (२) मा संसद्मा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने व्यवस्था छ भने धारा ७६ को उपधारा (३) मा संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ।
काँग्रेस संसदको सबैभन्दा ठूलो दल हो तर, संसदीय दलका नेता शेरबहादुर देउवा संविधानको धारा ७६ को उपधारा (३) अनुसारको प्रधानमन्त्री बन्न तयार नरहेको पनि दाहालले बताए।
‘संविधानको धारा ७६ को उपधारा (३) अनुसार जो प्रधानमन्त्री हुनुपर्ने हो उनी लिन तयार छैनन्, ’दाहालले भनेका थिए।
उनले एमाले र कांग्रेसबीच सरकार गठन गर्नका लागि उद्योगी तथा सांसद विनोद चौधरीको घरमा तयारी भएको र उद्यमी रामेश्वर थापाको घरमा सम्झौता भएको पनि बताएका थिए।
काँग्रेस र एमालेबीच सत्ता गठबन्धन बनाउनका लागि छलफल भइरहेका सूचना आफूकहाँ आएको पनि उनको भनाइ थियो।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...