
काठमाडौं। इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको समाचार एजेन्सीहरुले जनाएका छन्।
२६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको हो।
नर्वेको मानवअधिकार संगठनअनुसार फाँसी दिइएकामध्ये दुई अफगान नागरिक थिए। उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सी र सेन्टर फर ह्युमन राइट्स इन इरानले पनि गेजलहसार जेलमा कम्तीमा दुई दर्जन व्यक्तिलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ।
इरानले जनतामा डर पैदा गर्न २०२२ को विरोध प्रदर्शनमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिएको बारम्बार आरोप लगाइएको छ।
इरानसँग सम्बन्धित मानवअधिकार संगठन आईएचआरका निर्देशक महमूद अमिरी मोगद्दमले अन्तर्राष्ट्रिय समुदायले यसतर्फ खासै ध्यान नदिएको बताए। जसका कारण इरान सरकारले आगामी महिना सयौंलाई फाँसी दिन सक्ने उनको दाबी छ।
उनले सन् २००९ पछि यति ठूलो संख्यामा मानिसलाई फाँसी दिएको यो पहिलो पटक भएको बताए।
यसअघि मंगलबार मानवअधिकार समूहहरूले इरानमा एक व्यक्तिलाई फाँसी दिएकोमा आलोचना गरेका थिए। उक्त व्यक्तिलाई रिभोलुसनरी गार्डको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।
उनलाई यातना दिएर स्वीकार गर्न बाध्य पारिएको बताइन्छ। मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिको नाम गेलामरेजा रसाई हो। उनी फाँसी दिइएका महसा अमिनीको मृत्युपछि इरानमा सुरु भएको विरोध प्रदर्शनमा संलग्न दशौं व्यक्ति हुन्।
कुर्द समुदायकी २२ वर्षीया महसा अमिनीलाई तेहरानमा १३ सेप्टेम्बर २०२२ मा पक्राउ गरिएको थियो। हिजाब लगाएको भन्दै उनलाई पक्राउ गरिएको थियो भने उनको गिरफ्तारीको ३ दिनपछि अर्थात सेप्टेम्बर १६ मा उनको मृत्यु भयो। यसपछि यो विषय चर्चामा आयो।
एम्नेस्टी इन्टरनेसनलअनुसार सन् २०२३ मा चीन, इरान, साउदी अरेबिया, सोमालिया र अमेरिकामा सबैभन्दा बढी मानिसलाई मृत्युदण्ड दिइएको थियो। जसमध्ये सबैभन्दा बढी इरानमा ८५३ जना र साउदी अरबमा १७२ जनालाई मृत्युदण्ड दिइएको छ।
बीबीसीको रिपोर्ट अनुसार सन् १९९१ मा ४८ देशमा मृत्युदण्डको व्यवस्था थिएन। यो संख्या २०२३ मा आइपुग्दा ११२ पुगेको छ।
विश्वमा ९ देश यस्ता छन्, जहाँ गम्भीर अपराधका लागि मात्रै मृत्युदण्ड दिइन्छ। मृत्युदण्डको व्यवस्था भए पनि पछिल्लो दशकमा कसैलाई पनि मृत्युदण्ड नदिइएका २३ देश रहेका छन्।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...