संवैधानिक मर्यादाको उल्लंघन हुँदैन र ? – Naya Bikalpa
April 28, 2026, Tuesday      Epaper
पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुन राजनीतिमा सक्रिय हुँदा !

संवैधानिक मर्यादाको उल्लंघन हुँदैन र ?

काठमाडौं । कुनै पनि देशको राष्ट्रप्रमुख भएर राजनीतिक जीवनबाट बाहिरएका नेताहरु पुनः राजनीतिमा फर्कन चाहदैनन् । राष्ट्रकै उच्च पदमा पुगेर अभिभावकीय भूमिका निर्वाह गरेका व्यक्ति पुनः राजनीतिमा फर्कदा कुनै दल बिशेषको मात्र नेता हुन्छन् । जबकि राष्ट्रप्रमुख वा उपराष्ट्रपति प्रमुख निर्वाचित भएपछि पार्टीको साधारण सदस्यता समेत त्यागेर उनीहरुले देशकै सम्मानित व्यक्तिका रुपमा आफूलाई चिनाएका हुन्छन् । त्यस्ता व्यक्तिहरु राष्ट्रिय सम्मान र साझा व्यक्तिका रुपमा रहने विश्वका कतिपय पूर्वराष्ट्राध्यक्षहरुको परम्परा रहि आएको छ । २०६२÷६३ को राजनीतिक परिवर्तनका कारण नेपालमा २४० वर्ष पुरानो राजसंस्था ढल्न पुगेपछि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिको नयाँ अभ्यास शुरु भएको हो ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. रामवरण यादवले प्रथम राष्ट्रपतिका रुपमा निर्वाचित भएर दुई पटकसम्म राष्ट्राध्यक्षको जिम्मेवारी संहालेका थिए । नेपालको सन्दर्भमा नौलो अभ्यासका रुपमा रहेको राष्ट्रपति संस्थालाई उनै डा. यादवले एउटा पद्धति बसाल्ने काम गरेका हुन् । यतिमात्र होइन, उनको कार्यकालमा कुनै किसिमको विवादास्पद काम पनि भएन । जसले गर्दा आजपर्यन्त मानिसहरु नेपालको सन्दर्भमा राष्ट्रपतिको प्रसंग उठ्नसाथ उनै रामवरणलाई सम्झने गर्दछन् । शीतल निवासबाट बाहिरिएपछि प्रथम राष्ट्रपति डा. यादवले आजपर्यन्त राजनीतिमा फर्कने कुरा गरेका छैनन् । अर्थात् राजनीतिमा फर्कनुभन्दा प्रथम राष्ट्रपतिको रुपमा सम्मानित रहिरहन चाहेको कुरा बेलाबेलामा उनैले बताउने
गरेका छन् ।

तर यो कुरालाई बिर्सेर डा. यादवपछिका राष्ट्रपति विद्या भण्डारीले पूर्बराष्ट्रपतिका रुपमा सम्मानित भई बस्न नचाहेर एमालेको सक्रिय राजनीतिमा आउन चाहेको कुरा व्यक्त गरेकी छन् । हुन त दोस्रो कार्यकाल पूरा गरी शीतल निवासबाट फर्केलगत्तै उनले खासगरी एमालेका नेताकार्यकर्तासंग भेटघाटलाई तीव्रता दिएर सक्रिय राजनीतिमा फर्कने संकेत दिइसकेकी थिइन् । त्यसो त एमालेकै एउटा वृत्तभित्र भण्डारीलाई ओलीको उत्तराधिकारीका रुपमा अघि सार्दामात्र नेतृत्व हस्तान्तरणमा सहज हुने बुझाई छ । त्यसैले भण्डारीले एमालेको सदस्यता नविकरण गरेकी हुन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पार्टीको सदस्यता त्याग्न बाध्य भएकी भण्डारीले हिजोका दिनमा एमाले पार्टीमा उपाध्यक्षको जिम्मेवारी संहालेकी थिइन् । उनै भण्डारी झण्डै ९ वर्षपछि पुरानै घर एमालेमा फर्किएर पार्टी राजनीतिमा सक्रिय बन्न लागेकी हुन् ।

२०७१ साल असार १९ देखि २५ गतेसम्म काठमार्डौमा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट पार्टीका ५ उपाध्यक्षमध्ये तेस्रो स्थानमा निर्वाचित भण्डारीलाई तत्कालिन पार्टी नेतृत्वले २०७२ असोजमा नयाँ संविधान जारी भएलगत्तै देशको राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको थियो । डा. रामवरण यादवले राष्ट्राध्यक्षको रुपमा दोस्रो पटक जिम्मेवारी पूरा गरेलगत्तै नयाँ संविधानको व्यवस्था अनुसार, भण्डारी देशको दोस्रो राष्ट्रपति बनेकी थिइन् । भण्डारी ०७४ को संघीय संसद तथा प्रदेश सभा सदस्यको निर्वाचन लगत्तै दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

दोस्रो कार्यकाल पूरा गरेकी भण्डारी ०७९ फागुन अन्तिम सातासम्म देशको राष्ट्रप्रमुखका रुपमा रहेकी थिइन् । त्यसबीचमा उनले देशको राष्ट्रप्रमुखभन्दा एमालेको पूर्व उपाध्यक्षका रुपमा ज्यादा भूमिका निर्वाह गरेका कारण उनी विवादित बनेकी पनि थिइन् । कतिसम्म भने संघीय संसदको पहिलो निर्वाचन लगत्तै संविधानको प्रावधान बमोजिम सांसद पदको पद तथा गोपनीयताको सपथ नै नलिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ०७४ फागुन २ गते नै प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । यतिमात्र होइन, ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक निर्णयसहितको सिफारिसलाई कानुनी रायसल्लाह बिना तत्कालै प्रमाणिकरण गर्दै आएकी थिइन् । उनले ०७७ पुस र ०७८ जेठमा दुई पटकसम्म ओली सरकारले गरेको संसद विघटनको सिफारिसलाई सदर मात्र गरिनन्, संविधान र कानून विपरित संवैधानिक परिषदको नाममा विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीलाई तत्काल नियुक्त गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीमात्र सक्रिय राजनीतिमा फर्कन खोजेको होइन, उनकै उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्केका छन् । पुन माओवादी केन्द्रमा फर्कन लागेको चर्चा निकै लामो समयदेखि भएको भएता पनि पूर्व उपराष्ट्रपति पुनलाई हालै सम्पन्न माओवादीको बैठकले पाार्टीको आर्थिक उत्पादन संयन्त्र इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।

प्रथम राष्ट्रपति डा. यादवले राजनीतिमा फर्कने इच्छा कहिल्यै पनि गरेनन् । नेपालमा शुरु राष्ट्रपतिको नौलो अभ्यास शुरु भएको र भोलिका दिनमा राष्ट्रपति संस्थामा एउटा पद्धति बसाल्नका लागि यादवले त्यस्तो इच्छा व्यक्त नगरेका हुन् । तर डा. यादवले बसाल्न खोजेको पद्धतिलाई उनका उत्तराधिकारीहरुले भत्काउने काम गरेका छन् । उनीपछिका राष्ट्रपति न विद्या भण्डारीले त्यसको मर्म बुझ्न सकिन् न त उनकै उपराष्ट्रपति नन्दबहादुर पुनले पद्धति बसाल्ने पक्षमा काम गरे । अर्थात् यसबाट प्रष्ट हुन्छ कि प्रजातन्त्रवादीहरु पद्धति बसाल्न चाहन्छन् भने कम्युनिष्टहरु पद्धति भत्काएर सिंगो संस्थालाई बिबादमा ल्याउन चाहन्छन् । यसबाट संवैधानिक मर्यादाको समेत उल्लंघन हुने कतिपयको बिश्लेषण छ ।

पुनः आगमनले निम्त्याउने खतरा !
नेपाली जनता यतिखेर ठूला पार्टीहरुप्रति निकै आक्रोशित हुँदै गएको र संघीय गणतन्त्र स्थापनार्थ कुनै भूमिका नभएका विदेशी भूमिलाई कर्मथलो बनाएकाहरुले नेपाली जनतालाई झुक्याएर पटक पटक सत्ताको मोहबाट आफ्नो कर्तुत लुकाउन पल्केकाहरुले नकारात्मक प्रचार गरिरहेका कारण जनतामा नैरास्यता बढ्दो छ । वर्तमान संविधानसमेत पूर्णरुपमा कार्यान्वयन नभइसकेको अवस्थामा संवैधानिक अंगमा पदीय दायित्व निभाइसकेका र विवादित छवी भएका यस्ता पात्रहरु पुनः राजनीतिमा सक्रिय भएर के फेरि निर्वाचित हुने ? पुन मन्त्री पद हत्याउने रणनीति हो भने राजनीति भनेको ठूलो व्यापारनै हो रैछ भन्ने प्रमाणित हुनेछ तसर्थ नेपाली जनताले यसको जवाफ ठूला दलहरुसँग मागिरहेका छन् । राजनीतिमा लाग्ने मान्छे पदबिना बस्न सक्दैन भन्ने नेपाली राजनीतिले प्रमाणित गर्नेछ । सबै नेपालका पार्टीहरुले पुस्तान्तरणका कुरा नेपाली राजनीतिको शब्दकोषबाट तत्काल फालिदे हुन्छ ।

यतिखेर कांग्रेस, एमाले र माओवादीमा नयाँ युवाहरुको आगमण झण्डै झण्डै शुन्य जस्तै भइरहेको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र नै धरमराउन सक्छ । वर्तमान नेतृत्वकर्ताहरुले थामेर नथामिने अवस्थामा पुग्न सक्छ । त्यसकारण पनि यस्ता गैरसंवैधानिक कार्य तत्काल रोक्नुपर्दछ । अन्य मुलुकका अगाडि लोकतान्त्रिक मुलुक भनेर चिनाउन पनि लाज मान्नु पर्ने अवस्थाको अन्त हुनुपर्दछ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०८१ फाल्गुन ५, १३: ४७

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
  • २०८१ फाल्गुन ५, १३: ४७

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
  • २०८१ फाल्गुन ५, १३: ४७

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज...