बुद्ध एयरको चरम लापर्वाही – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

बुद्ध एयरको चरम लापर्वाही

गत बिहिबार जनकपुरबाट काठमाडौं उडेको बुद्ध एयरको एटीआर ७२ जहाज एउटा पांग्राबिना विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । ९एन–एएनएच उक्त जहाजमा ६२ जना यात्रु सवार थिए । उड्ने क्रममा जहाजको पांग्रा जनकपुर बिमानस्थलको रनवेको टर्निङ प्याडमै खसेको भए पनि काठमाडौंमा सकुशल अवतरण भएपछि संभावित दुर्घटनाको खतरा टरेको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार पांग्रा खसेकोबारे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पत्ता लागेको थियो । नियमित प्राविधिक निरीक्षणका क्रममा नोज ल्याण्डिङ गियर (अगाडिको पांग्रा) हराएको थाहा भएको थियो । जहाजमा पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूले काठमाडौंमा ल्याण्ड हुने बेला मात्र पत्तो पाएका थिए ।

कुनै पनि जहाजमा प्राविधिक समस्या आउन सक्छ । जसलाई स्वभाबिक रुपमा लिनुपर्छ । हवाई सुरक्षा नीति अनुसार जमिनमा हुँदा जहाजमा कुनै प्राविधिक समस्या भएमा उडानअघि नै प्राविधिकहरुले आवश्यक परीक्षण गरी त्यसको समाधान खोज्नुपर्छ । तर बिहिबारको घटनामा प्राविधिकहरुको गम्भीर लापरवाही देखिन्छ । जहाज उड्नुअघि राम्रोसंग प्राविधिक परीक्षण गरिएको थियो भने पांग्रा नभएको प्रष्ट देख्न सकिन्थ्यो नै । किनभने हवाई सुरक्षा नीति अनुसार कुनै पनि जहाज ल्याण्ड हुने बित्तिकै प्राविधिकहरुबाट आवश्यक परीक्षण गरिन्छ । यसो गर्नु पछाडिको मुख्य कारण जहाजमा कुनै किसिमको प्राविधिक समस्या आउन नपाओस् भन्ने नै हो । अर्थात् जोखिमपूर्ण अवस्था छ भने जहाज उडान गराउनका लागि प्राविधिकहरुले सिफारिस गर्र्दैनन् । जुन बिमानस्थलका प्राविधिकहरुको नियमित काम हो ।

यो घटनापछि कुनै पनि जहाज पांग्राबिना उड्न नमिल्ने एकथरी पाइलटले तर्क गरेका छन् भने अर्काथरी पाइलटले रनवेमा टर्निङ गर्दा कहिलेकाहीँ त्यस्तो हुने तर्क अघि सारेका छन् । ल्याण्डिङ गियरको इन्डिकेसन ककपिटमा नदेखिने भएकाले पाइलटलाई उडानकै क्रममा यसबारे जानकारी नहुने कतिपयको भनाई छ । जहाजका पाइलट तथा उडान दललाई उडानकै क्रममा पांग्रा खसेको कुनै जानकारी थिएन । र उडानका क्रममा पाइलट वा उडान दलले कुनै असामान्य गतिविधि नै महसुस गर्नु नपरेको भनाई रहेको छ । उनीहरुको भनाईमा कहिलेकाहीँ रनवेमा टर्निङ गर्दा एउटा पांग्रामा समस्या आए पनि त्यसपछिको अवतरण सुरक्षित हुन्छ ।

जसले जस्तोसुकै तर्क गरेता पनि हवाई उडानको क्षेत्रमा बिहिबार भएको घटनाले नेपालका हवाई कम्पनीहरु यात्रुको सुरक्षाप्रति कति गम्भीर छन् भन्ने प्रष्ट हुन्छ । घटना भइसकेपछि अब त्यसलाई कसैले रोक्न सक्दैन । तर मानवीय कमजोरीका कारण भएका यस्ता घटना भोलिका दिनमा दोहोरिन नदिनका लागि अधिकारीहरुलाई कसरी बढी भन्दा बढी जिम्मेवार बनाउने भन्नेतिर एयरलायन्स कम्पनीहरु बढी चनाखो हुनुपर्छ । यसका साथै घटना कसको कमजोरीका कारण भएको हो, त्यसको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनु पर्छ । हुन त घटना लगत्तै नागरिक उड्डयन प्राधिकरणले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको बताएको छ । त्यसका लागि प्राधिकरणले जहाज ग्राउन्डेड गरेर छानबिन सुरू गरिसकेको छ । अर्कातिर घटनाको छानबिनका लागि एटिआर कम्पनीको टोली नेपाल आउँदैछ । यसरी बिभिन्न निकायबाट घटनाका सम्बन्धमा छानवीन गरी दोषीमाथि कार्बाही गर्नुपर्छ । जसले गर्दा भोलिका दिनमा यस्ता घटना हुन नपाओस् । जसले नेपालको हवाई क्षेत्र सुरक्षित छ भन्ने सन्देश जनस्तरमा जान सकोस् । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०८१ फाल्गुन २६, १६: २९

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०८१ फाल्गुन २६, १६: २९

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०८१ फाल्गुन २६, १६: २९

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...